+
+

रामचन्द्र पौडेलले भने- आत्महत्या गरौं झै लाग्छ त्यसै भनेको होइन

अमृत सुवेदी अमृत सुवेदी
२०७५ वैशाख ५ गते २:००

४ बैशाख, पोखरा । कांग्रेस नेता रामचन्द्र पौडेलले २० फागुन २०७२ मा खुलामञ्चमा उभिएर भनेका थिए, साथीहरु कहिलेकाहीँ त मलाई आत्महत्या गरौं झै लाग्छ ।

कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटनका क्रममा पौडेलले राजनीति गर्नेहरु आलोचित भएको भन्दै आत्महत्या गरौं झै लागेको बताएका थिए । मंगलबार कास्की कांग्रेसको कार्यालयमा कार्यकर्ताको गुनासो सुनेपछि पौडेलले त्यो भाषण सम्झिए ।
पौडेलले भने, ‘त्यो भित्रैदेखि आएको अभिव्यक्ति हो ।’

पार्टी वेथितिले बिचल्लीमा पर्‍यौं

कास्की कांग्रेसका कार्यकर्ताले तीन वटै चुनावमा व्यहोरेको हारको समिक्षा गर्नुका साथै नेतृत्वसामू मनको बह पोख्न पाएका थिएनन् । मंगलबार पौडेललाई भेटेपछि दुखेको पोखे, ‘पार्टी नेताकै कारण चुनाव हार्‍यौं र पार्टीको बेथिकितकै कारण हाम्रो बिचल्ली भएको छ ।’

पार्टीभित्रैको गुट उपगुट र जनतासम्म लैजाने गतिलो एजेन्डा नहुँदा कांग्रेसले हार व्यहोरेको उनीहरुको गुनासो थियो ।

पार्टीले तीनै तहको चुनावमा हार व्यहोर्दा पनि पार्टी कुनै समीक्षा र नयाँ कार्यक्रम नल्याएकोप्रति कार्यकर्ताले आक्रोस पोखे । ‘जिल्ला आउँदा सिंगो पार्टीको नेता होइन, ब्यक्तिब्यक्तिको नेता आउँछन्,’ प्रदेश सभाका उम्मेदवारसमेत रहेका भोजबहादु गुरुङले भने, ‘हाम्रा नेता कुनै पार्टीका नेता भए सिंगो पार्टी र जनताको नेता हुन सकेनन् ।’

स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा वाम गठबन्धनको सरकार भएका बेला कांग्रेस कार्यकर्ता खुलेर बोल्न र कार्यक्रममा प्रस्तुत हुन अप्ठ्यारो परेको अर्का कार्यकर्ता खलिल मियाँले बताए । ‘पार्टीको रचनात्मक काम छैन । अरुले बोलाएका कार्यक्रममा गयो सम्मानजनक भूमिका नै पाउँदैनौं,’ मियाँले भने, ‘कार्यकर्ताको बिचल्ली भइरहेको छ ।’

शीर्ष नेता कांग्रेसको भावी योजना के हो ? अब हामी हिँड्ने बाटो कस्तो र कता हो भनेर जनतासम्म नपुग्ने हो भने कांग्रेसमाथिको विश्वास नरहने दुर्गाबहादुर सुनारले गुनासो गरे ।

‘अब हामीले कांग्रेस कसरी बनाउने हो ? भएका कार्यकर्ताको मन कसरी बुझाउने हो ? ‘परियारले भने, ‘गम्भीर भएर नसोच्दा भएका कार्यकर्ताको पनि मन बिरक्तिएको छ ।’

कांग्रेस नेता पौडेलसँग छिटोभन्दा छिटो पार्टीका गुट उपगुट मिलाएर भावी कार्ययोजना बनाएर कार्यकर्तालाई जोगाउन अनुरोध गरे । ‘अरु पार्टीलाई मात्र गाली गर्ने भयौं, कांग्रेस बनाउने र जोगाउने नयाँ काममा लागेनौं,’ पुराना नेता खेमराज पौडेलले भने, ‘कांग्रेसबारे जनतालाई के भनेर बुझाउने ? अब ढिला हुन लागिसक्यो ।’

‘त्यसै आत्महत्या गरौं झै लाग्छ भनेको होइन’

कार्यकर्ताको गुनासो सुनेपछि वरिष्ठ नेता पौडेलले जनताले सरापेको देख्दा आत्महत्या गर्न मन लाग्छ भनेर भनेको भन्दै निराशाजनक अभिव्यक्तिबाट सम्बोधन थाले ।

‘मलाई त कहिलेकाहीँ जनताले सरापेको देख्दा आत्महत्या गर्न मन लाग्छ भनेर भनेको थिएँ,’ नेता पौडेलले भने, ‘पछि यस्तो त शब्द त नभन्नु पर्ने भनेर पछि प्रचण्डहरुले मलाई भनेका थिए । त्यो मलाई स्वभाविक भित्रैदेखि आएको अभिव्यक्ति हो ।’

आदर्श र मूल्यमान्यताको राजनीति पाखा लागेको देख्दा आफूलाई पनि चिन्ता लागेको पौडेलले बताए ।

पार्टी कहाँबाट बिगि्रयो भन्ने खोज्दै जाने हो भने वीपीसम्मै पुग्ने पौडेलको भनाइ थियो । ‘पार्टीमा फुट र गुट खोज्दै जाने हो भने वीपी र डिल्लीरमण रेग्मीसम्म पनि पुगिन्छ,’ नेता पौडेलले भने ।

‘मलाई त कहिलेकाहीँ जनताले सरापेको देख्दा आत्महत्या गर्न मन लाग्छ भनेर भनेको थिएँ,’ नेता पौडेलले भने, ‘पछि यस्तो त शब्द त नभन्नु पर्ने भनेर पछि प्रचण्डहरुले मलाई भनेका थिए । त्यो मलाई स्वभाविक भित्रैदेखि आएको अभिव्यक्ति हो ।’

पार्टी सभापति शेरबहादुर देउवासँग आˆनो बोलचालै नभएको भने हल्लामात्रै भएको उनले बताए । ‘केही समय अगाडि शेरबहादुरजी र म एउटै मञ्चमा बसेका थियौं । पार्टी एक बनाएर लैनुस्, मूल्यांकनका आधारमा पार्टी चलाउँछु भन्नोस् मेरो पूर्ण समर्थन रहन्छ भनेको थिएँ,’ पौडेलले भने ।

न्याय, निस्पक्षता र पारदर्शी मूल्यांकन तीन कुराले पार्टी एकता हुने पौडेलले बताए ।

जनताको स्वार्थसँग आफूलाई नगाँसी कांग्रेसले चुनाव जित्न नसक्ने पौडेलको भनाइ थियो । ‘कांग्रेसले अब चुनाव जित्ने हो भने जनताको स्वार्थसँग आफूलाई नगाासी हुँदैन,’ पौडेलले भने, ‘फेरि तैंले किन जितिनस् भन्नुहोला, म संविधान बनाउनेतिर आफूलाई बढी गाँसे त्यो बेला ।’

नेपाली कांग्रेस जन्मिँदा जुन सिद्धान्त लिएर जन्मिएको थियो, त्यही सिद्धान्तको संविधान ल्याएको पौडेलले बताए । ‘मैले नै दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीलाई पहिलो बनाएँ । देशभरि प्रशिक्षण अभियान चलाएर हारेको कांग्रेसलाई पहिलो बनाएको मैले नै हो,’ पौडेलले भने ।

संविधान जारी हुँदासम्म कांग्रेसले सफलता नै सफलता प्राप्त गरेको बताउँदै नेता पौडेलले भने, ‘त्यसपछि पार्टी बिग्रँदै गयो ।’

‘त्यतिखेर दोस्रो पटक सुशीलजी नलडेर म लडेको भए मैले जित्थें । किनभने विजय गच्छदार पनि मलाई भोट दिन तयार थिए । कमल थापाले म भोट दिन्छु तर, मलाई उपप्रधानमन्त्री दिनुहोला भनेका थिए’ पौडेलले अघि भने, ‘पछि सुशीलजी र शेरबहादुरजी मिलेर मलाई बाहिर गरे । त्यसको परिणाम कांग्रेस हार्‍यो र अहिले हामी यहाँसम्म आयौं ।

‘आज आफ्नै राजधानीमा आएर नभने कहिले भन्ने भनेर भनें । आजसम्म भनेको थिइनँ आज वाध्य भएँ’ पौडेलले प्रदेश ४ को राजधानी पोखरामा भने ।

देउवाप्रति संकेत गर्दै पौडेलले पार्टी र सरकारले राम्रो काम गरेको भए आज यस्तो अवस्थामा नपुग्ने बताए । ‘उनीहरु मिलेर हामी हार्‍यौं भनेर भाग्न पाइँदैन, उनी मिल्दा पनि हामीले जित्नुपर्थ्यो’ पौडेलले भने, ‘किन जितेनौं भने हाम्रो सिद्धान्तअनुसार आचारण भएन । जवाफ दिन नसक्ने काम गरेकै हौं । त्यसैले अब करेक्सन गर्ने हो ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?