Comments Add Comment

यस्तो छ विद्यार्थी भर्ना अभियान : अगाडि मन्त्री, पछाडि पाइन्टमा भ्वाङ

५ वैशाख, सिन्धुपाल्चोक । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल बुधबार शानका साथ विद्यार्थी भर्ना अभियानका गृहजिल्ला सिन्धुपाल्चोक पुगे ।

चौतारा साँगाचोकगढी नगरपालिका ११ भीमटारको माझी बस्तीमा माला लगाएर केही विद्यार्थीको अभिभावकत्व ग्रहण गरिरहेका बेला माझी समुदायका एक बालक त्यहाँ देखापरे ।

ती बालक हुन् विनोद माझी । इन्द्रावती आधारभूत विद्यालयमा ४ कक्षा उतीर्ण गरेर ५ कक्षामा भर्ना भएका उनको अवस्थाले ग्रामीण भेगका सामुदायिक विद्यालय पढ्ने विद्यार्थीको वास्तविक अवस्था देखाएको थियो ।

भ्वाङ परेको पाइन्ट लगाएर मन्त्रीसँग भेट

आमाको चार वर्षअघि मृत्यु भयो, बाबुले छाडेर हिँडेपछि साहाराविहीन भएका विनोद मामाघरमा बस्दै आएका छन् । सरकारी घोषणाअनुसार एक जना विद्यार्थीको अभिभावक बन्ने अभियानमा विनोदले मन्त्री दुलाललाई नै अभिभावक भेटे । भर्ना अभियान उनैबाट सुरु भयो ।

कार्यक्रममा विनोदलाई मन्त्री बसेको मञ्चमा बोलाइयो तर उनी जान आनकानी गरे । हजुरआमाले उनलाई डोर्‍याएर मञ्चमा लैजाँदा उपस्थित विद्यार्थीहरु गलल हाँसे ।

पाइन्टमा पछाडि ठूलो भ्वाङ परेकाले विनोदलाई मञ्चमा जान अप्ठेरो लागेको थियो । विनोदले एउटा हातले हजुरआमालाई समातेका थिए भने अर्काे हातले पछाडिको भ्वाङ छेक्ने कोशिस गरेका थिए ।

मन्त्री दुलालले उनलाई पोशाक र झोला दिए । झोलाले उनको पाइन्टको भ्वाङ छोपिएपछि उनी त्यहीँ बसे ।

मञ्चबाट यो दृश्य देखिरहेका शिक्षा कार्यालयका अधिकृत अशोक पराजुलीले नयाँ पाइन्ट किन्नका लागि तत्कालै १ हजार रुपैयाँ दिए ।

साथीहरु भन्छन् : पछाडि चश्मा लगाएछ

अघिल्लो वर्षको विद्यार्थी भर्ना अभियानको क्रममा एउटा सहयोगी संस्थाले विनोदलाई एक सेट ड्रेस दिएको थियो । छ महिनापछि पाइन्टको पछाडि दुईवटा भ्वाङ परेपछि हजुरआमाले अर्को टालोले भ्वाङ छोपिदिइन् । केही महिनापछि टालेको पनि च्यातिएपछि भने उनी त्यत्तिकै विद्यालय आउने गरेको धेरै भयो ।

जब विनोद कक्षा कोठामा प्रवेश गर्छन् अनि कक्षाका साथीहरु हास्दै भन्छन् ‘पछाडि चश्मा लगाएको मान्छे आयो है !’ कक्षाका साथीहरु सबैले यसै गरी जिस्काउने गरेको विनोदले बताए ।

साथीहरुले खिसी गर्न थालेपछि आफूलाई स्कुुल आउनै मन नलागेको विनोद बताउँछन् । मन्त्री अभिभावक पाएपछि भने विनोद खुसी भएका छन् । ‘ड्रेस पनि छ, नयाँ झोला पनि छ, अब सधै स्कुल आउँछु’ खुसी हुदै विनोदले भने ।

भर्ना हुन्छन् तर पढ्नै आउँदैनन्

भीमटारको यो माझी बस्तीका अधिकाशंको दैनिकी इन्द्रावती नदीमा बालुवा चालेर र माछा मारेरै बित्ने गरेको छ ।

भर्ना अभियानका क्रममा उत्साहका साथ विद्यार्थी भर्ना भए पनि अर्काे वर्षसम्म भने १०० मा १५ जनाले विद्यालय छाडिसक्ने विद्यालयका प्रधानध्यापक रामकृष्ण तिमिल्सिनाले बताए । ‘खोलो र बगर त केही समय मात्रै हो,पढाउनु पर्छ भन्छु तर अभिभावकहरु मान्दैनन्’ प्रअ तिमिल्सिनाले भने ।

मन्त्रीले भने-सबैको अभिभावक बन्छु

मन्त्री युवराज दुलालले आफू विनोद माझीको मात्रै नभएर यस विद्यालयका सबै विद्यार्थीहरुको अभिभावक बन्ने बताए । माझी समुदायहरु शिक्षित हुनुपर्छ र खोलामा मात्रै होइन अब सबै बालबालिकाहरु स्कुलमा हुनुपर्छ भनेर भर्ना अभियान यहीँबाट सुरु गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment