Comments Add Comment

सुगौली सन्धीमा गुमेको नेपालको भूमि भारतबाट फिर्ता गराउन बेलायती प्रधानमन्त्रीलाई पत्र

६ वैशाख, काठमाडौं । बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बिहीबार दिउँसो बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनलाई उक्त पत्र बुझाएको हो ।

बेलायती प्रधानमन्त्रीलाई पठाइएको उक्त पत्रमा बेलायती उपनिवेशमा रहेको नेपाली भुभाग सन् १९४७ अगस्त १५ मा भारतसँगै स्वतन्त्र भएकोमा भारतले तत्काल उक्त भुभागमा पुन उपनिवेश कायम गरेको जनाइएको छ ।

सन् १९५० जुलाई ३१ को नेपाल-भारत सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरिसक्दा पनि भारतले उक्त भुभाग हालसम्म नेपाललाई फिर्ता नगरेको पत्रमा उल्लेख छ ।

भारतको यो विस्तारवादी व्यवहारमाथि अंकुश लगाउनुपर्ने जिकिर गर्दै उक्त पत्रमा मोदीको बेलायत भ्रमणका अवसरमा यस विषयलाई उठाउन तथा तार्किक निष्कर्षमा पुर्‍याउन बेलायती प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

उक्त पत्रमा अगाडि भनिएको छ, ‘यो विवाद नसुल्झाउने हो भने ग्रेटर नेपालको अवधारणाले निकट भविष्यमा जटिल मोड लिने र यसबाट बेलायत र भारतले महंगो मूल्य चुकाउनुपर्नेछ ।’

सन् १९४७ अगस्त १५ यता करिब ६०,००० वर्ग किमि नेपाली जमिन भारतको कब्जामा रहदै आएको ग्रेटर नेपालको भनाइ छ ।

उक्त पत्र बुझ्दै उपराजदूत ब्यारीले प्रधानमन्त्रीलाई लेखिएको पत्र तत्काल लन्डन पठाइदिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment