Comments Add Comment

लथालिङ्ग सडकः काठमाडौं भन्दा कम छैन विराटनगर

    ७ वैशाख, विराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगर पुरानो औद्योगिक सहर मध्ये एक हो । तर, सडक, ढल र खानेपानी लगायतका समस्याले आक्रान्त बनेको काठमाडौंलाई नै बिर्साउने सहरका रुपका विराटनगर परिचित बन्न थालेको छ ।

सहरी विकाससँगसँगै सुरु भएको ढल र सडक निर्माणका योजनाले विराटनगर  लथालिङ्ग बनेको छ । जताततै सडक खनिएको छ । तर, सडक विस्तारको नाममा मुख्य सडक भत्केका छन् । जताततै खाल्डा छन् । खानेपानीको पाइप बिच्छ्याउन कालोपत्रे गरिएका सडक पनि भत्काइएको छ । नयाँ महानगर अहिले कुरुप  छ । उही काठमाडाैंको झल्को दिने ।

वि.सं. १९७१ मा रंगेलीबाट तत्कालीन गोग्राह (हाल विराटनगर) मा सदरमुकाम सारिएको थियो ।

घना वस्ती र मिश्रित बसोवास रहेको विराटनगरका आधारभूत आवश्यकता स्कुल, कलेज, होटल, अस्पताल, सपिङ महललगायतमा निजी क्षेत्रबाटै उत्साहजनक प्रगति भएको छ । तर, सरकारी तवरबाट सहरी व्यवस्थापन  हुन नसक्दा अवस्था अस्तव्यत छ ।

मुलुककै पुरानो मध्येको सहर भएपनि पर्यटकको मन लोभ्याउन सकेको छैन । एयरपोर्ट र कोइराला निवास बाहेक विराटनगरमा मन लोभ्याउने ठाउँ छैन । विकासको गति धिमा हुँदा सहर कुरुप बन्दै गएको छ ।

अर्थविज्ञ डा. अर्जुन बराल भन्छन्,’विराटनगर मुलुककै पुरानो सहर मध्येको एक ठूलो सहर भएपनि विकासको गति हेरेर नगरवासी हौसिने अवस्था रहेन ।’

राजनीतिको आधार केन्द्र नेताहरले विराटनगरलाई बनाएपनि उनीहरु सत्ता र शक्तिमा पुग्दा विराटनगरको विकासका लागि ध्यान नदिएका कारण विराटनगर सरकारी तहबाट विकासमा पछि परेको डिग्री क्यापम्पस विराटनगरका सहप्राध्यापक समेत रहेका बराललको ठम्याईं छ । ‘यहीँका ठूला नेताहरूले विराटनगरलाई वास्ता गरेनन्न् सरकारी तहबाट विराटनगरको विकारको खाकै तयार हुन सकेन् ,’ उनले भने,’आजको विराटनगरको यो गति त्यसैको उपज हो ।’

औद्योगिक पहिचान बनाएको विराटनगरलाई विकासको गतिमा अघि बढाउन अब भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने डा. बरालको भनाइ छ ।

विराटनगरमा सडक विस्तार, ढल-नाला निर्माण, चक्रपथ (रिङरोड) सडक, आधुनिक एकीकृत जाँच बिन्दु (आइसीपी), रेल्वे, सडक निर्माण, जोगबनी-धरान ६ लेन सडकको काम भइरहेको छ ।

विराटनगरको स्वरूप फेर्ने भनिएका ०५४ सालदेखिका विकास निर्माणका कुनै पनि योजना हालसम्म पूरा भएका छैनन् ।
कनिका छरेझैं आउने बजेट, ठेकेदार कम्पनीको बदमासी, मुआब्जाको समस्याले विराटनगरका विकास आयोजना समयमै सम्पन्न हुन नसकेको सरकारी अधिकारीहरु नै दावी गर्छन ।

सरकारी योजनाको काम वर्षौदेखि लथालिङ्ग

एक सय ३० करोड भारतीय रुपैयाँमा बुधनगरमा आधुनिक एकीकृत जाँच बिन्दु (आइसीपी) निर्माणधीन अवस्थामा छ । तर, काम सुस्त गतिमा  ।

०५४ सालमा एकीकृत कार्यमूलक योजना (आइएपी) तयार गरी चक्रपथ बनाउने योजना ल्याइए पनि वर्षेनी छुट्ट्याइने ‘हात्तीको मुखमा जिरा’ जस्तै बजेट पर्याप्त छैन ।

एक अर्ब ३० करोड रुपैयाँ लागतमा निर्माण हुने ४२ किलोमिटर लामो चक्रपथको अवस्थापनि उस्तै छ ।

रिङरोडका लागि वर्षेनी आउने आउने बजेट पर्याप्त नहुँदा कामले गति लिन सकेको छैन ।

विराटनगर सहरको वरिपरिबाट ४२ किलोमिटर कालोपत्रे चक्रपथ (रिङरोड) सडक बनाउने ०५४ सालदेखिको योजना अझै अधुरै छ । हालसम्म ट्रयाक मात्र खुलेको छ ।

कटहरी-झोराहाट २ किलोमिटर सडकको काम अदालती निर्णयले रोकिएको छ । ‘बजेट पनि ढिलो आएको छ,’ सहरी विकास कार्यालयका डिभिजन प्रमुख श्यामकिशार सिंहले भने, ‘केही ठाउँमा मुआब्जाको विषयलाई लिएर स्थानीय अदालतसम्म पुगेका छन, त्यो भन्दापनि मुख्य कुरा रिङरोडका लागि प्रयाप्त बजेटको अभाव छ ।’

भित्री सहरमा भारी सवारी साधनको चाप हटाउन, व्यवस्थित सहरी क्षेत्र विस्तार गर्न र औद्योगिक विकास विस्तार, एकीकृत भन्सार पोस्ट एवं विशेष आर्थिक क्षेत्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले ०५४ सालमा विराटनगरमा चक्रपथ बनाउन सुरु गरिएको थियो । तर, यो योजनाले पनि पूर्णता पाएको छैन ।

यस्तै, विराटनगरको जोगबनीदेखि धरानसम्म ६ लेनको ब्यापारिक मार्ग निर्माणको कामपनि धिमा गतिमा भइरहेको छ ।

निर्माण सम्पन्न नहुदै  जिर्ण बन्छन् ठूला आयोजना

विराटनगर क्षेत्रमा विकासका पूर्वाधार निर्माणको काम भइरहेको छ । तरपनि धिमा गतिमा भइरहेको कामको सर्वत्र आलोचना छ ।

राष्ट्रिय गौरवको ६ लेनको सडकको काम गुणस्तरीय नहुँदा स्थानीय आजित छन् । विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म पहिलो चरणमा ६ लेनको सडक निर्माणको काम भइरहेको छ । तर, सोही सडकका नाला सम्पन्न भएको केही समयपछि नै भत्किएका छन् ।

विराटनगरको कंचनबारी क्षेत्रमा ६ लने सडकसँगै निर्माण गरिएको आरसीसी ढलानको नाला अहिले पुरै ढलेको छ ।

दुई महिनाअघि मात्र सो नाला निर्माण गरिएको थियो । निर्माण कम्पनीले नाला निर्माणमा कमशल सामग्री प्रयोग गरेकाले नाला भत्किएको स्थानीयको भनाइ छ ।

नाला निर्माण गरिएको धेरै स्थानमा कमसल सामग्री प्रयोग गरिएको भन्दै अघि नै आवाज उठेपनि सरोकारवाला निकायको ध्यान नजादा त्यसको परिणाम अहिले देखिन थालेको कंचनबारीका रमेश कार्कीले बताए ।

कंचनबारी उत्तर तर्फको ६ लनेको सडकको निकारमा निर्माण गरिएको नाला केही दिनअघि करिब ६० मिटर पुरै भत्किएको छ ।

विराटनगर ५ स्थित पृथ्वीचोक छेउमा बन्दै गरेको नाला पनि भत्किएको छ । एकीकृत मझौला सहर विकास परियोजना अन्तर्गत नाला निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो ।

त्यसैगरी ६ लेनको सडको दुवैतर्फ नाला निर्माणको अवस्था पनि उस्तै छ । विराटनगरको कंचनबारी उत्तरको नाला निर्माणामा कमसल सामग्री प्रयोग गरेकाले नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ । नाला कान्छाराम कन्स्ट्रसनले निर्माण गरेको हो ।

विकासका लागि पहल गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समग्र विकासका लागि आवस्य पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले विराटनगरमा भइरहेका सरकारी अवधारणमा अघि बढाइएका आयोजनाहरु र निर्माणको काममा देखिएको ढिलाइलाई तीव्र गतिमा बढाउन आवस्यक पहल गरिने उनको भनाइ छ ।

‘प्रदेश सरकार समृद्धि र विकासको यात्रामा छ । यदि विकास निर्माणलाई गति दिन बजेट लगायतका कुराले समस्या भएको हो भने अब केन्द्र सरकारसँग प्रदेश सरकारले पहल गर्नेछ,’ मुख्यमन्त्री राईले भने, ‘कुनैपनि बहानामा विकासको काम अब अवरुद्ध हुने अबस्था सिर्जना हुने छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment