Comments Add Comment

बालबालिकाको क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्न सरोकारवाला प्रतिवद्ध

७ वैशाख, वीरगञ्ज । सरोकारवालाहरुले बालबालिकाको क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने प्रतिवद्धता गरेका छन् ।

बालबालिकाको हितलाई ध्यानमा राख्न नसकेकै कारण मुलुक समृद्धिको दिशामा अघि बढ्न नसकेको भन्दै उनीहरुले बालबालिकाका विकासका लागि आवस्यक योजना, कानून तथा नीति ल्याउने बताए ।

बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ वीरगञ्जमा आयोजित निर्वाचित जनप्रतिनिधिहरुसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सभासद तथा अधिकारकर्मीहरुले बालबालिकाको सर्वोपरी हितलाई ध्यानमा राखेर अघि बढ्ने आश्वासन दिएका हुन् ।

प्लान इन्टरनेशनल, कन्र्सोटियम नेपालको सहयोगमा जनसेवा नेपाल रौतहटसँगको सहकार्यमा संरक्षण नेपाल बाराले वीरगञ्जमा शुक्रबार नेपालको प्रादेशिक संरचनामा बाल सहभागिता प्रवर्द्धन तथा बालबालिकामा लगानी विषयक अन्तरक्रियाको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको विकास र समृद्धिका लागि घरबाटै सकारात्मक प्रयासको थालनी आवश्यक रहेको बताए । उनीहरुले शिक्षालाई प्राथमिकता राखेर अघि बढ्न सके धेरै समस्याहरुको समाधान हुने दावी गरे ।

प्रदेश २ को अर्थ तथा योजना राज्यमन्त्री उषा यादवले बालबालिकाको हितको काम घरबाटै सुरु गर्नुपर्नेमा जोड दिइन् ।

बालबालिका काँचो माटो जस्तै भएको बताउँदै उनले बालबालिकालाई राम्रो वा नराम्रो बनाउने साँचो अभिभावकको हातमा भएको बताइन् । ‘बालबालिकाको पहिलो पाठशाला भनेको घर नै हो, त्यसपछि विद्यालय आउँछ । घरबाटै राम्रो शिक्षा र व्यवहार प्रदान गरिनुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि विद्यालयको वातावरण राम्रो हुनुपर्छ । विद्यालयमा बालबालिकाको हितमा काम हुनुपर्छ । तर हामीकहाँ सरकारी र निजी दुवै विद्यालयहरुले बालबालिका माथि धोका दिने काम मात्रै गरिरहेका छन् ।’

प्रदेशसभा सदस्य करिमा वेगमले बच्चा पाउने, हुर्काउने र पढाउने जिम्मेवारी महिलाकै काँधमा रहेकोले सबै महिलाहरु जिम्मेवार भएर आउनुपर्ने बताइन् । उनले छोरी शिक्षित हुँदा परिवार पुरै शिक्षित हुने भएकोले छोरीको शिक्षामा गम्भीर ढंगले लाग्नुपर्नेमा जोड दिइन् ।

प्रदेशसभा सदस्य ज्वाला साहले शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । उनले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर बालबालिकाको हितमा काम गर्नुपर्ने बताइन् ।

प्रदेशसभा सदस्य रागिनीदेवि वर्णवालले घर परिवारले जसरी छोरालाई अघि बढ्न प्रोत्साहन गर्ने गरिएको छ त्यसैगरी छोरीलाई पनि प्रोत्साहन र सहयोग गर्नुपर्ने बताइन् । शिक्षाले बालबालिकामाथि हुने विभेदको अन्त्य हुने र अधिकार प्राप्त गर्न सहज हुने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य भिमा यादवले बालबालिकाको हितमा कानून बनाउन आफूहरु प्रतिबद्ध रहेको बताइन् । अहिले जनप्रतिनिधिहरुले कानून निर्माण गर्ने तयारी गरिरहेको अवस्थामा बालबालिकाको हितमा कानून, नीति र नियमहरु बनाउन पैरवी गर्ने, बजेट विनियोजन गर्न दवाव दिने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको संरक्षण नेपाल बाराका अध्यक्ष वृजमोहन कुशवाहाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment