Comments Add Comment

मधेस चलचित्रको ठूलो स्टुडियो रहेछ !

१० वैशाख, काठमाडौं । यादव भट्टराईलाई सजिलै चिन्नुपर्दा उनी कृष्ण धरावासीको चर्चित कथा ‘झोला’का निर्देशक हुन् । तर, यतिमै सीमित गरियो भने उनीमाथि अन्याय हुन्छ । साहित्यको तेस्रो आयामबाट भन्नुपर्दा मान्छेलाई चिन्न एउटा पाटोमात्रै पर्याप्त छैन ।

अहिले यादवको महत्वपूर्ण आयाम चलचित्र निर्देशक नै हो । तर, निर्देशक हुनुअघि भट्टराई स्थानीय स्तरका नाटक खेलेर गाउँमा चर्चामा आए । झापाबाट काठमाडौं छिरेपछि ‘राजनीतिक पत्रकार’ भएर केही समय ठूला नेताहरुसँग उठबस गरे ।

अनि टेलिभिजन प्रस्तोता भएर लोकगीतलाई पहिलोपटक नेपाल टेलिभिजनमार्फत आम दर्शकमाझ पुर्‍याए । यसक्रममा उनले झण्डै ७ सयवटा म्युजिक भिडियोहरुको निर्देशन गरे ।

यति धेरै काम गरे पनि यादव भट्टराई सेलिब्रेटी हुन सकेका छैनन् । यसो हुनुमा उनको व्यक्तिगत स्वभावहरुले काम गरेको हुन सक्छ । उनी मानिससँग लोलोपोतो गरेर काम लिन जान्दैनन् । सिधा र स्पष्ट कुरा गर्ने भएकाले उनले धेरै साथी बनाउन सकेनन् । सानैदेखि झगडालु स्वभावका कारण उनलाई नजिकका मानिसहरु अराजक मान्छन् ।

केही अघिसम्म दिल खोलेर पिउने भएकाले कतिपयले पियक्कड मान्छन् । यद्यपि अचेल उनी सादगी भइसकेका छन् ।

उनले पिउन छाडेको पनि लामै समय भैसकेको छ । पिउनेहरु चलचित्र बजारमा धेरै छन्, तर उनी नपिएरै पनि पियक्कडको आरोप खेपिरहेका छन्, आफ्ना पुराना साथीभाइबाट ।

धराबासीको साहित्यिक कृतिमा चलचित्र बनाउने हिम्मत गरेका यी निर्देशकलाई व्यवसायिक चलचित्रकर्मीहहृरुले आफ्नो खेमाको मानिस नै मान्दैनन् । कलात्मक चलचित्र क्षेत्रकाले उनलाई कलात्मक मान्दैनन् । लामो समय पत्रकारिता गरे पनि उनी पत्रकारिताबाट धेरै टाढा पुगिसकेका छन् । टेलिभिजनमा काम गरे पनि उनी टेलिभिजनकर्मी होइनन् ।

उनी कुनै पार्टी, संघ, संस्था वा गुटविशेषमा नभएका कारण उनका कामका बारेमा बोलिदिने कोही छैनन् । ७ सय म्युजिक भिडियो बनाएका कारण संगीत क्षेत्रमै उनको नाम हुनुपर्ने हो, तर उनी त्यो क्षेत्रबाट पनि निकै टाढा पुगेका छन् ।

यस्ता अनौठा निर्देशक व्यक्तिसँग कुराकानी गर्न रमाइलो हुने ठानेर अनलाइनखबरकर्मी अश्विनी कोइरालाले यादवलाई भेटे र उनका पुराना कुरा खोतल्दै प्रश्न गर्न थाले । बाहिर अराजक भनेर हल्ला गरिएका यादव भट्टराई चुपचाप आफ्नो दोस्रो गम्भीर विषयमा बनेको चलचित्र ‘भोर’ को काम सकेर यही वैशाख २८ गतेदेखि हलमा लगाउने तयारी गरिरहेका रहेछन् । जनकपुरमा छायांकन गरिएको भोर चलचित्र मधेसको सामाजिक कथावस्तुमा आधारित छ ।

कुराकानीमा शालिन भएर प्रस्तुत भएका यादव दार्शनिक जस्तै बग्दै जान थाले ।

अन्तर्वार्ताका लागि यहाँ आउनुअघि नेपाली चलचित्र क्षेत्रका मानिससँग तपाईंका बारेमा सोधखोज गरेको थिएँ । उनीहरु तपाईंलाई निर्देशक नै मान्दा रहेनछन् । आफ्नै क्षेत्रका मानिसले पनि वास्ता नगर्नु अचम्मै होइन ?

खासमा म निर्देशक नै होइन, फिल्म मेकरमात्रै हुँ । उहाँहरुले आफ्नो नमान्नु स्वाभाविक नै हो । यसमा मेरो कुनै गुनासो छैन ।

तै पनि ‘झोला’ जस्तो गम्भीर चलचित्र बनाउनुभयो । नेपाली चलचित्र क्षेत्रका लागि यो ठूलो देन …?

(प्रश्न गर्दागर्दै बीचैमा रोकेर ) म नेपाली चलचित्रका लागि ठूलो काम गर्छु भनेर आएकै होइन । मलाई त कृष्ण धराबासीको कथाले यति रुवायो, मैले त्यो चलचित्र नबनाई रहन सकिनँ ।

मलाई शताब्दी पुरानो त्यो समाज र त्यसमा पिल्सिएका महिलाहरुको झल्झल्ती याद आयो । म बडो भावुक मानिस हुँ । कतिपटक रोएँ, त्यसको कुनै लेखाजोखा छैन । र, त्यसमा यति डुबेँ कि त्यो आँशुको सम्मान नगरी बस्न सकिनँ ।

मलाई लाग्यो, यो कथा सर्वसाधारणलाई भिजुअलमा बताउनैपर्छ । पत्रिकामा लेखेर लेखकले आफ्नो धर्म निभाउनुभयो, यसलाई मैले दृश्यमा प्रचार गर्नुपर्छ भन्ने मनमा आयो ।

न मैले निर्देशन पढेको हुँ, न यसअघि कुनै त्यस्ता चलचित्रमा काम नै गरेको थिएँ । न म पैसा भएको मान्छे हुँ । मेरा लागि लगानी गरिदिने मान्छे भएर पनि यो चलचित्र निर्माण-निर्देशन गरेको होइन । मलाई त्यसको प्रस्तुति र भावनाले यसरी छोयो कि त्यसको कुरै नगरम् ।

यो कति वर्षअघिको कुरा हो ?

०५९ साल माघको अन्तिमतिर हुनुपर्छ । कसैले मलाई समकालीन साहित्यमा दिमाग खराब गराउने एउटा कथा छापिएको छ भनेर सुनाए । एउटा कथाले कसैको दिमाग खराब गराउँछ भने किन नपढ्ने ? पुस्तक पसलमा गएँ, भेटिनँ ।

पढ्ने इच्छा भई त हाल्यो । प्रज्ञा प्रतिष्ठानको गन्हाउने स्टोरमा छिरेँ र पढ्न थालेँ । पढ्दै जाँदा आँशु थाम्नै सकिनँ । पढिसक्दा म पूरै परिवर्तन भैसकेको थिएँ । तर, मलाई झोला चलचित्र बनाउन पूरै १० वर्ष लाग्यो ।

म नेपाली चलचित्रका लागि ठूलो काम गर्छु भनेर आएकै होइन । मलाई त कृष्ण धराबासीको कथाले यति रुवायो, मैले त्यो चलचित्र नबनाई रहन सकिनँ ।

किन १० वर्ष नि ?

सुरुमा नेपाली चलचित्रका हस्तीहरुलाई यो विषयमा चलचित्र बनाउनुपर्‍यो भनेर कन्भिन्स गर्ने प्रयास गरेँ । कमर्सियल दुनियाँका निर्माता-निर्देशकहरुले यसमा चलचित्र बन्छ भन्ने विश्वास गर्नुभएन ।

त्यसपछि नीर शाहजस्ता आँट गर्ने निर्देशकलाई भेट्न गएँ । उहाँसँग नेपाल टेलिभिजनमा काम गर्दा परिचय पनि थियो र उहाँले यसअघि डाइमन्ड समशेरको उपन्यासमा ‘बसन्ती’ बनाइसक्नुभएको थियो । तर, यस्तो व्यक्तिले पनि झोला बनाउने आँट गर्नुभएन ।

दीपक ‘आलोक’लाई मैले पटकथा-संवाद लेखाइसकेको थिएँ । एक-दुई वर्ष बितिसक्दा पनि मेरो ‘झोला’ प्रेम सकिएन । हातमा स्क्रिप्ट बोकेर हिँड्दा हिँड्दा मलाई साथीहरुले यादव भन्न छाडेर ‘झोला’ भन्न थालेका थिए ।

लोकभाकाका कार्यक्रम चलाउँदा चलाउँदै यो क्षेत्रमा आउन खोजेको ठिटो, मेरो कुरा पत्याउने कुरै पनि थिएन ।

निर्देशकहरुबाट पार नलागेपछि अरुले नबानाए म आफै बनाउँछु भनेर लोकेसन खोज्न देशका सबैजसो सम्भावित ठाउँमा घुमेँ । सय वर्षअघिको कुरा देखाउन मिल्नेखालको समाज पहाडमा कतै थिएन । क्यामेराको आँखालाई छल्न नसक्ने गरी हरेक डाँडामा जस्ताका छाना भएका घरहरु टल्कन थालेका थिए । त्यससँगै लगानीको कुरा पनि आयो ।

लगानीकर्ता पनि भेटिएनन् । अन्ततः ४-५ जना साथीहरु मिलेर लगानी जुटायौं । तर, फेरि अर्को फसाद आइलाग्यो ।

कस्तो ?

जब सबै कुराहरुको तयारी भयो, कथाकार कृष्ण धराबासीले त्यो कथालाई नयाँ परिवेश जोडेर नयाँ कथा बनाउनुभएछ र निर्देशक रमेश बुढाथोकीलाई त्यसको अधिकार दिनुभएछ । म झोलाको कथा जस्ताको तस्तै आओस् भन्ने चाहन्थें । यो समस्यालाई पार लगाउन थप ६ महिना लाग्यो ।

यसरी अनेक परिस्थितिसँग जुध्दै कथा पढेको ठ्याक्कै १० वर्षपछि २०६९ माघमै सुटिङ गर्न निस्किएँ ।

समय बित्दै गएपछि पहिले अत्यधिक प्रभाव पारेको कुरा विस्तारै कम हुँदै जान्छ । यो मेरो मात्रै होइन, सबैका अनुभव हुन् । तर, तपाई १० वर्षसम्म लागिरहनुभयो, किन ?

त्यसैले त म यादव भट्टराई ! मेरो अनौठो बानी के छ भने मलाई एकपल्ट कुनै कुराको भोक जाग्यो भने त्यो नखाई चैन आउँदैन । आजदेखि होइन, सानैदेखि । अनि जब भोक मर्छ, त्यसमा जस्तासुकै प्रस्ताव आऊन्, म त्यसमा दोहोर्‍याएर पस्दिनँ ।

जस्तो ?

‘झोला’ चलचित्रले राम्रो प्रतिक्रिया पायो । माउथ पब्लिसिटीले फिल्म चल्यो । त्यसपछि ‘झोला-२’ बनाउन पैसा बोकेर निर्माताहरु आउन थाल्नुभयो । म व्यवसायिक निर्देशक हुन्थेँ भने ‘झोला-२’ बनाउँथे हुँला । तर, भोक मार्न बनाएको थिएँ, त्यो पूरा भयो ।

सतिप्रथा र त्यस वरपरका सबै कुरा, हाम्रा अनौठा इतिहास इतिहासका पुस्तक र इतिहासकारहरुबाट सबै थाहा पाइसकेको थिएँ । १० वर्षमा यो विषयमा यति डुबेँ, यति नै खोजेँ । र, ती कुनै पनि विषयमा फेरि पस्न मन लागेन ।

तर, अहिले फेरि नयाँ चलचित्र ‘भोर’ बनाउन थाल्नुभएको छ । तपाईंको स्वभावअनुसार त यो बेलासम्म चलचित्र क्षेत्रबाटै पलायन भैसक्नुपर्ने होइन र ?

भोर बनाउन थालेको होइन, बनाइसकेको छु । बैशाख २१ गतेदेखि सिनेमा हलमा लाग्दैछ । आजको प्रचार-प्रसारको जमानामा ठूलो होहल्ला नगरी दर्शकलाई थाहै हुँदैन । तर, मलाई विश्वास छ, एउटा प्रेस सोपछि सबैले थाहा पाउनुहुन्छ । सबैले यो चलचित्र हेर्न जान सिफारिस गर्नुहुन्छ । हिजो ‘झोला’ मा पनि यही भएको हो । अब भोरमा पनि यस्तै हुन्छ ।

‘भोर’ को विषय के हो ? आत्मविश्वासले मात्रै चलचित्र चल्छ ?

यहाँ आत्मविश्वासको मात्रै कुरा छैन, मेहनेतको कुरा छ । मेहनेत भन्दा भावनाको कुरा छ । म मधेस पसेको दुई वर्ष भयो । वास्तवमा जब मैले ‘झोला’ बनाएँ, बल्ल मलाई थाहा भयो, म चलचित्र बनाउन जन्मिएको रहेछु ।

म पनि श्रष्टा हुँ र आफ्नो कुरा भन्न सक्छु । तर, मैले आफ्नो कथा भन्ने माध्यम चलचित्र रहेछ । अनि जब मैले मधेसको कथा भन्नुपर्छ भन्ने लाग्यो, त्यसपछि मधेसतिर लागेँ ।

अहिले मधेस बिकाऊ म्याटर बनेको छ, त्यसैले ?

बिकाऊ होइन, गम्भीर विषय भएर । सतीप्रथा इतिहासको कुरा थियो, तर दाइजो वर्तमानमा घटिरहेको छ । हिजो सती हुनका लागि श्रीमान मर्नु पर्दथ्यो । आज गर्भमै महिला भएका कारण मृत्युवरण गर्नुपरेको छ ।

आज महिला जल्न श्रीमान मर्नुपर्दैन, श्रीमानहरुले नै शरीरमा आगो झोस्ने गरेका छन् । हाम्रै आँखाअघि, हाम्रो समयमा यी घटना घटिरहेका छन् । र, हामी यति संवेदनहीन भैसकेका छौं कि हाम्रा आँखा रसाउँदैनन् । मलाई लाग्यो, मधेसका विषयमा मैले बोल्नुपर्छ ।

फेरि पनि ‘भोर’को कथा कृष्ण धरावासीलाई लेखाउनु भएको छ । धरावासीले मधेस कति बुझ्नुभएको छ ?

कविले भावना लेख्ने हो । खोट लगाउने हो भने देख्दै नदेखेको सति प्रथामा उहाँले त्यति राम्रो कथा कसरी लेख्नुभयो ? खासमा जुन गहिराइमा पुगेर ‘भोर’ धरावासीलेे लेख्नु भएको छ, अरुबाट त्यो सम्भव थिएन ।

यसमा मैले मधेसमा बसेर पटकथा र संवाद हालेको हुँ । यसको प्राविधिक पक्षमा मनोज पण्डित र दीपक बज्राचार्यले काँधमै बोकेर सहयोग गर्नुभयो । आज जनकपुर गएर ‘भोर’ को विषयमा सोध्नुहोस्, हरेक चोकमा ‘भोर’को चर्चा चलिरहेको छ । चलचित्र प्रदर्शन नहुँदै मधेसमा यसको किन चर्चा भयो, बुझ्नुपर्ने कुरा हो । खासमा काठमाडौं बसेर यस्ता कुरा बुझिँदैन ।

चलचित्र बनाइसकेपछि मधेसका बारेमा तपाईंको धारणा कस्तो बनेको छ ?

मधेस सुनको टुक्रा हो, जसलाई हामीले चिन्नै सकेनौं । यसलाई संरक्षण र सम्मान गर्न जानेनौं । मधेसबाट समग्र देशले फाइदा पाउन सक्थ्यो र सक्छ । उनीहरु यति निर्दोष छन्, त्यसको फाइदा अरुले नै लिए, लिइरहेका छन् ।

अभिभावकले माया नगरेपछि छोराछोरी अरुतिर लहसिनु स्वभाविक नै हो । राजनीतिले भन्दा मधेसलाई आपराधिक तत्वले गाइड गरिरहेको रहेछ । म पनि हिजोसम्म सोच्थेँ, पहाडमा पनि समस्या छन्, धेरै नै समस्या छन् । तर, मधेस बसेपछि थाहा भयो, मधेसको समस्या फरक र गम्भीर छन् ।

त्यहाँ बर्खा आउँदा बाढीको समस्या छ । गर्मीमा अत्यधीक गर्मीको समस्या छ । जाडो हुँदा शीतलहरको समस्या छ । हुरी चल्दा आगलागीको समस्या छ । तस्कर, भ्रष्ट, सरकार, विदेशी सबैले मधेसलाई प्रयोग गरिरहेका छन् ।

त्यसमाथि राज्यको दृष्टिकोण पनि ठीक छैन । राज्य भन्नाले मैले प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गरेको होइन ।

राजनीतिले भन्दा मधेसलाई आपराधिक तत्वले गाइड गरिरहेको रहेछ । म पनि हिजोसम्म सोच्थेँ, पहाडमा पनि समस्या छन्, धेरै नै समस्या छन् । तर, मधेस बसेपछि थाहा भयो, मधेसको समस्या फरक र गम्भीर छन् ।

त्यहाँका प्रहरी, कर्मचारी, सरकारी संरचनाको कुरा गरेको हो । यस्तो अवस्थामा यो देश पहाडियाको हो भन्ने भावना छिराइदिएपछि समस्या आउने भैहाल्यो । त्यसमा सरकार दोषी हो । आफ्ना जनतालाई बुझाउन नसक्नु उसको गल्ती हो ।

सायद सरकार पनि पहाड र मधेसबीच ग्याप राख्न चाहन्छ र अरुलाई बीचमा खेल्न दिएर पछि त्यसको फाइदा उठाउन चाहन्छ ।

हामी आफू केही गर्दैनौं, सबै कुरामा सरकार र यसका संरचनालाई दोष दिन्छौं, किन होला ?

हो, हामीले पनि केही गर्नुपर्छ । यसपटक हेर्नुहोला, ‘भोर’ मा मधेस जस्ताको त्यस्तै सर्लक्क आएको छ । खासमा मधेस चलचित्रको यति ठूलो स्टुडियो रहेछ, अहिले चलचित्र हेर्दा म आफैं छक्क पर्छु । सबैले आफ्नो ठाउँमा काम गर्ने हो । निर्देशकले चलचित्र बनाउने, लेखकले लेख्ने हो । मैले दोष दिएको होइन, काम गरिसकेपछि बोलेको हुँ । गर्नुपर्ने काम धेरै छ ।

तपाईंले यसअघि १२ वटा पेसा परिवर्तन गरिसक्नुभएको बुझियो । अब चलचित्र क्षेत्र कहिले छाड्दै हुनुहुन्छ ?

(लामो हाँसो) अब छाड्दिनँ । मैले अघि नै भनेँ, म पनि सर्जक नै हुँ । तर, मेरो कथा भन्ने माध्यम चलचित्र रहेछ । त्यो कुरा बुझ्न मैले झोला नै बनाउनुपर्‍यो । आज जति मानिस असन्तुष्ट छन्, उनीहरुले आफ्नो क्षमता अनुसारको काम गर्न नपाएर नै हो ।

हेर्नुस्, सित्तैमा अक्सिजन पाइएको छ । सित्तैमा सूर्यले प्रकाश दिइरहेको छ । हिँड्ने धर्ती छ र पेट भर्न पाइएकै छ । तैपनि मानिस दुःखी छ । मानिसले आफूलाई चिन्न नसक्दा बडो दुःख पाउँदोरहेछ ।

मैले पनि धेरै पेसा परिवर्तन गरेँ । एक समयसम्म धेरै काम गथेर्ं, जब त्यसको टाकुरोमा पुग्यो, त्यहाँबाट हेर्दा केही देखिँदैन । पत्रकारितामा हेर्नुस्, टेलिभिजनमा, नाटकमा, पत्रिका पसलमा, सबै गरेर हेरेँ । मानिस दुःखी किन छ भनेर बल्ल पत्ता लगाएँ ।

के रहेछ, मानिस दुःखी हुने कारण ?

स्वतन्त्रताको अभाव नै मानिस दुःखी हुने कारण हो । मानिसलाई पूर्ण स्वतन्त्रतामा, उसको मर्जीमा बाँचेर काम गर्न दिनुपर्छ । उसको रुचिमा काम गर्‍यो भने उ आफू पनि खुसी हुन्छ, समाजका लागि पनि राम्रो योगदान दिन सक्छ ।

मलाई नै हेर्नुस् न, कस्तो झगडालु थिएँ, आज यस्तो भएको छु । यति धेरै रक्सी खाइयो कि आज छुन पनि मन लाग्दैन । सन्तुष्ट भएपछि मानिस यसरी परिवर्तन हुँदोरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment