+
+
Shares

पाँच वर्षपछि कांग्रेसको दुईतिहाइ !

शुभराम बस्नेत शुभराम बस्नेत
२०७५ वैशाख ११ गते १५:४८


नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक निकै दिनदेखि चलिरहेको छ । केन्द्रीय कार्य समितिको बैठक बस्ने जमर्को भएलगत्तैदेखि गुटका बैठकहरु पनि चलिरहेका छन्, कहिले एकल रुपमा त कहिले संयुक्त रुपमा । यस्ता बैठक राख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अग्रपंक्तिमा छन् ।

त्यसो त सभापति शेरबहादुर देउवा पक्ष चाहिँ चुपचाप छन् भन्ने हुँदै होइन । तर, फरक के भने पौडेल र सिटौलाले यति हतारोमा एकल र संयुक्तरुपमा गुटका बैठकहरु गरे, मानौं सभापति देउवाले नेतृत्व गरेको र उनीहरुले नेतृत्व गरेको कांग्रेस पार्टी नै अलग-अलग हो ।

स्थापना यताको इतिहासमै कांग्रेस यस घडीमा साँच्चिकै उर्जा निथि्रएको अवस्थामा छ । मंसिर १० र २१ गते भएको प्रदेश सभा र संघीय संसदको निर्वाचनमा कांग्रेसले के-के कारणले लज्जाजनक पराजय ब्यहोर्‍यो ? अहिलेसम्म सामुहिक रुपमा गरमागर्मी बहसका साथ वस्तुनिष्ठ समीक्षा भएकै छैन । बैठकले त्यो समिक्षा गर्ला/नगर्ला ? छाँट हेर्दा उत्साहित हुने ठाँउ देखिन्न ।

शीर्षनेताहरु दिनदिनै गुटका बैठक राख्न मात्र हतारिइरहेको देख्दा केन्द्रीय कार्य समिति बैठक ‘हाती आयो, हाती आयो फुस्सा’ हुने त होईन ? सवाल पेचिलो छ ।

कांग्रेसका नेताहरु यतिबेला पार्टी बलियो बनाउन होइन, गुट बलियो बनाउन लागि परेका छन् । गुट जतिसुकै बलशाली भए पनि त्यसले सामुहिक एकत्वका साथ कार्यक्रम ल्याउन र योजना कार्यान्वयन गर्न सकेन भने कुनै परिणाम दिन सक्तैन- जसरी एउटा मात्र हात जतिसुकै सुन्दर भए पनि ताली बज्न नसके जस्तै । तर, शीर्षनेताहरु भने बरु हातै किन चुडिओस्, एउटै हातले ताली बजाउने होडमा प्रतिस्पर्धा गरिरहेका छन् ।

गुटको मात्र बैठक गरेर कांग्रेसले नयाँपन लिन सक्तैन भनेर नेताहरुले किन बुझ पचाउँछन् ? यतिबेलाको गम्भिर सरोकार यही हो ।

३० वर्षे पञ्चायती कालरात्रीमा पनि कांग्रेस अहिलेजति कमजोर कहिल्यै भएको थिएन । सशस्त्र संघर्षको शंखनाद गरेर, राष्ट्रिय मेलमिलापको नीति लिएर, जनमत संग्रह गर्न बाध्य पारेर, सत्याग्रह -भद्र अवज्ञा) छेडेर भए पनि कांग्रेसले पञ्चायती मसानलाई थर्कमान बनाएकै थियो ।

पञ्चायतको अन्त्यपछि ०४८ सालमा भएको निर्वाचनमा २ सय ५ सिट मध्ये १ सय १४ स्थानमा बाजी मारेर कांग्रेसले सानदार बहुमत ल्यायो ।

०५१ को मध्यावधि निर्वाचनमा एक हदसम्म खुम्चिएको कांग्रेस ०५६ मा पुग्दा फेरि सानदार बहुमतमै आइपुग्यो । तर, यसबेला पनि कांग्रेसभित्र अन्र्तघात रोकिएन ।

पार्टीका तर्फबाट निर्वाचनको नेतृत्व गरेर बहुमत दिलाएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अपमानपुर्वक कुर्सीबाट झारियो । त्यसको केही समयपछि त संसदलाई नै ‘लेटर प्याड’ मा सजाएर दरवार पुर्‍याइयो । ०६४ को संविधानसभामा सकियो भने पनि दोस्रो बनेको कांग्रेस ०७४ सम्म आइपुग्दा साँचिकै पिलन्धरे बनेको छ ।

इतिहासमा राणातन्त्र फाल्न नेपाल प्रजा परिषदले चारजना सहिद जन्मायो । ति सहिद अहिलेका ‘शहीद’ भन्दा निकै उच्च कोटीका थिए । राणा शासन फाले वापत, दु ःख पाए वापत प्रजा परिषदले केही थान प्रधानमन्त्री, मन्त्री पनि पायो । तर, इतिहासको भार/माग बुझ्न नसक्दा १९९७ सालको दर्विलो प्रजा परिषद ०१५ सालको निर्वाचनसम्म पनि टिक्न सकेन ।

यो प्रसंग किन भने जुन विन्दुबाट कांग्रेसको उर्जा रित्तिन सुरु भयो, त्यही बिन्दुबाट नयाँ गन्तब्यको थालनी नबनाउने हो भने कांग्रेसलाई पुर्नजीवन दिन सजिलो छैन । यतिखेरको कांग्रेसको चुनौती भनेको उसले आफूलाई प्रजा परिषद हुनबाट जोगाउनु हो ।

गल्ती नै गल्ती

विज्ञानमा जुन नियम लागु हुन्छ, पार्टीहरुमा पनि ढिलो/चाँडो त्यही नियम लागु हुन्छ । भलै, विज्ञानमा नियम तत्काल लागु हुन्छ, पार्टीहरुमा अलि ढिलो लागुहोस् । गतिशीलताको यस नियमलाई पक्रन सकिएन भने जतिसुकै ठूला कुरा गरे, जतिवटा गुटका वा सामुहिक बैठक राखे पनि-कांग्रेसले नयाँ गति लिन सक्तैन ।

निकट विगतको मात्र समीक्षा गर्ने हो भने निर्वाचनमा होमिने मुखैमा भएको प्रहरी प्रमुख फेरबदलमा अनावश्यक ढिपी (एक प्रकारको आत्माघाती गोल), निश्कलंक प्रधानन्यायाधीस शुशिला कार्कीमाथि असमयमा लगाउन खोजिएको असान्र्दभिक महाभियोग, राजदुत नियुक्तिमा मनमौजी निर्णय, प्रचण्डपुत्रीलाई बुँई बोक्न दोहोर्‍याई-दोहोर्‍याई देखाएको हतारोजस्ता कारण कांग्रेसको हारका लागि कम जिम्मेवार छैनन् ।

चितवनको मात्र रमिता नियाल्ने हो भने पनि अघिल्लो पटक हसिँया हथौडामा भोट हाल्न बाध्य कांग्रेस पछिल्लो निर्वाचनमा हलोमा छाप लगाउन ‘लाईन’ लाग्नुपर्‍यो । नेतृत्वले हजार तर्क दिउन्, दुरदर्शी बन्ने बहानामा यसपटकको निर्वाचनमा कांग्रेसले अदुरदर्शीपन देखाएकै हो । त्यसैले इतिहासमै कांग्रेसले ‘विक्षिप्त’ हार ब्यहोर्नु परेको छ ।

भारतीय नाकाबन्दीभरको ‘चुँ’ ले पनि कांग्रेसको भागमा घाटा पर्‍यो । राष्ट्रियताको अडानमा जीवन सर्मपित गरेका कांग्रेसजनले यस निर्वाचनमा ‘राष्ट्रघाती’ को आरोप ब्यहोर्नुपर्‍यो । मौसमी राष्ट्रवादीहरुले लगाएको आरोपलाईर् हामीले कडा मुकाविला गर्नै सकेनौं । परिणाम, इन्द्रेणी राष्ट्रवादीहरु पो बडो देशप्रेमी देखिए/लेखिए ।

१३ औं महाधिवेशनले नेपाली कांग्रेसभित्र रहेको परिवारवादलाई सर्वसाधारणका हातमा पुर्‍याएको महसुस गराएको थियो । तर, साँघुरो परिधिमै रमाउने क्षेत्रीयतावाद, परिवारवाद, नातावाद, धनवाद, डनवादबाट नयाँ नेतृत्व पनि मुक्त हुन सकेन । कांग्रेसभित्रका केही स्वार्थी तत्वहरुले नेतृत्वलाई यसरी घेरे- भातृ संस्थालाई लामो संगठनात्मक सोच नभएका, सहकर्मी, कार्यकर्तालाई संगठनात्मक कार्यक्रम, योजना दिन नसक्ने, संगठन गर्ने भन्दा उपल्लो नेतृत्व रिझाउन मात्र गणेश परिक्रमा गर्नेहरुका हातमा थन्क्याइयो ।

स्थानीय तहमा मात्र होइन, प्रदेश सभा र संघीय संसदको टिकट वितरणमा समेत अनेकन अवाञ्छित खेलहरु भइरहे । नगद, गाडीका अघि लामो त्याग, सर्मपण, बलिदान गरेका कांग्रेसजनहरुले टिकट पाउन सकेनन् । कतिसम्म भने प्रदेश सभामा होस् वा संघीय संसदमै- कहाँ कसले टिकट पाउँदैछ भन्ने सूचना पार्टी सभापति स्वयंले पाउन सकेनन ।

विचौलियाहरुले पार्टी सभापतिलाई प्रभावमा पारेर आफुलाई नगद, घर/जग्गा, गाडी बुझाउनेहरुका हातमा टिकट थमाए । फलत : कांग्रेस रुन्चे हालतमा पुग्यो ।

कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै देहान्त भयो । पार्टी सभापति शेरबहादुर देउवाले खड्का जिवितै छँदा ‘विमलेन्द्र निधिलाई उपसभापति बनाउन भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख स्वयंले नै फोन गरेर दवाब दिए, त्यसैले तपाईलाई बनाउन सकिनँ’ भने भन्नुहुन्थ्यो ।

सार्वभौम मुलुकको स्वतन्त्र अस्तित्व बोकेको पार्टीभित्र एउटा पद हत्याउन विदेशी खुफिया एजेन्सी गुहार्ने पात्रहरुले आफ्नो स्वार्थ पूरा गर्न थप के कस्ता दुर्गन्धित हर्कत गरेका होलान् ? अनुमान गर्न कठिन छैन । दुर्भाग्य ! काँग्रेस नेतृत्व तिनै बिचौलियाहरुको घेरामा रुमल्लिइरहेको छ ।

समानुपातिक अवधारणा भनेको राज्यको मूल धारमा आउन नसकेका ब्यक्तिलाई एकपटक अवसर दिएर आम पक्तिसँग भिड्न योग्य बनाउन ल्याइएको हो । तर, सधैंभरि अवसरको दुरुपयोग गरेकाहरु फेरि पनि समानुपातिक सूचीबाटै संसदमा भित्रिए । कांग्रेस सच्चाजनका लागि यो भन्दा बिडम्वनाको पीडा केही हुनै सक्तैन ।

मधेसमा अरु नेता नछिरुन् भनेर विमलेन्द्र निधि एक्लो महिसा बन्न खोजिरहे । एक्लो नेता बन्ने उद्देश्यअनुरुप नै उनले विजय गच्छदारलाई समेत पार्टी प्रवेशमा रोक लगाउने अनेकन प्रयत्न गरेका थिए । गच्छदार बालबाल कांग्रेसमा र्फकन त सफल भए । तर, उनले पनि सामुन्नेमै आइसकेको अनिष्ट टार्न सक्ने कुरै थिएन ।

निधिको अडानकै परिणाम कांग्रेसले मधेसलाई समेट्न सकेन । रामचन्द्र पौडेल आफू हार्न उत्सुक भए, तर गोविन्दराज जोशीलाई अलिकति ‘स्पेस’ दिन लचक भएनन् ।

लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउने नियतको बाटोमा हिँड्न पूर्वमहामन्त्री कृष्ण सिटौलाले अनिच्छा देखाए । उनी पार्टी र आफू दुवैलाई हराउन तयार भए । तर, समानुपातिक सूचीमा बस्न राजी भएनन् । परिणामतः निधि, पौडेल, सिटौला आफूले त हारे नै, प्रदेश नम्बर १, २ र ४ मा कांग्रेसका १०/१२ वटा सिटहरु गुमे ।

नाकाबन्दीका बेला उपप्रधानमन्त्रीका हैसियतमा राष्ट्र संघको महासभामा भाग लिन पुगेका प्रकाशमान सिंहले राष्ट्रले भोगिरहेको विपत्तिबारे एक शब्द बोल्न आवश्यक ठानेनन् । उल्टो नाकाबन्दीवालाकै चाकरी बजाउन मस्त रहे । तर, अहिले तिनै प्रकाशमान फरक मत पेश गरिरहेका छन् ।

बालकृष्ण खाँड प्रत्यक्षमा चुनाव लडेर एउटा सिट भए पनि बढाउनतिर लागेनन्, बरु आफूसँगै श्रीमतीको समेत समानुपातिक सूचीमा नाम छिराए ।

यस्तै अदुरदर्शी नेताहरुका कारण पुराना, त्यागी र निष्ठावान नेता/कार्यकर्ता निर्वाचनका मुखमा भड्किन पुगे । सामुन्नेमै आइपुगेको विपतीलाई देख्न नसक्ने कांग्रेस नेतृत्वको यस्तो कदमले पार्टीलाई हराउन ठूलै ‘युरिया’ को काम गर्‍यो ।

अबको कांग्रेसको बाटो

कुनै उत्पात लोकप्रिय काम गरेर वाम गठबन्धनले निर्वाचन जितेको हुँदै होइन । यिनीहरुले मुलुकलाई समृद्ध बनाउने भन्दा रत्नपार्क, पुतलीसडकका रेलिङ भाँचेर, निहथ्या ब्यक्ति हत्या गरेर आफ्नो सामथ्र्य देखाइसकेका छन् ।

कांग्रेसभित्र रहेका अल्छे/लोसे कमजोरीमा खेलेर बाम गठबन्धन ठूलो शक्तिमा दरिन सफल भएको हो । ५ वर्ष मिहिनेत गर्ने हो भने अर्को निर्वाचनमा कांग्रेसको दुई तिहाई बहुमतलाई कसैले रोक्न सक्तैन । त्यसका लागि युवा, विद्यार्थीलाई संगठित गर्ने, हारको मानसिकता त्याग्ने, संसदमासक्षम र सवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी कांग्रेसले पूरा गर्न जरुरी भइसकेको छ ।

प्रतिपक्ष भनेको प्रतिक्षित सरकार हो । यस्तो प्रतिपक्षको कर्तव्य ‘यो सरकार हाम्रा कारणले होइन, आफ्नै द्वन्द्वले ढल्छ । सरकार ढल्ने संकेत देखिन थालिसक्यो’ भनेर मात्र पुरा हुन सक्तैन ।

कांग्रेसलाई ठूलो पार्टी बनाउने एकमात्र अचूक हतियार संगठन, संगठन फेरि पनि संगठन नै हो । कांग्रेस ‘मास पार्टी’ भए पनि बदलिँदो सन्दर्भमा संगठन नगरी धरै छैन ।

धमिलिँदै गएको कांग्रेसको मुहान सफा बनाउनतिर सबै लाग्नु यतिबेलाको दायित्व हो । कांग्रेसभित्र यतिबेला एक पटक कृष्णप्रसाद भट्टराईको खाँचो छ । त्यो को हुने ? आगामी दिनले नै निर्क्योल गर्ला । ०४८ को निर्वाचनमा भट्टराईले नेपाली कांग्रेसलाई ११४ सिट जिताएर सुविधाजनक बहुमत दिलाएका थिए । ०५६ सालको निर्वाचनमा उनै भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाँदा कांग्रेसले पुनः बहुमत प्राप्त गरेको जगजाहेरै छ ।

त्यसैले हामी सबै कांग्रेसलाई फेरि बहुमत दिलाउनतिर लागौं, न कि बाँदरले आफ्नो घाँउ आफैं कोट्याएर मर्छ भन्ने उखानको चरितार्थ गर्नतिर ।

(बस्नेत कांग्रेसका कार्यकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?