Comments Add Comment

नेपाली फिल्म र फिल्मकर्मीबारे खगेन्द्र संग्रौला : मैले हात मिलाएँ, राजेश हमाल गजक्क परे

पाँचथरको सिवाङ मेरो गाउँ । गाउँबाट नजिकको शहर की इलाम की धरान । २२ सालतिरको कुरा हो, मेरा काकाले ‘बाइस्कोप’ हेर्न जाऔं भन्नुभयो । त्यतिबेला सिनेमालाई बाइस्कोप भनिन्थ्यो ।

काका बिराटनगरमा बस्ने । उहाँलाई बाइस्कोपको रस थाहा थियो । मलाई भने यो बाइस्कोप भन्ने के जिनिस हो, केही मेलोमेसो थिएन । तैपनि म रौसिदै उहाँको पछि लागेर तमोर नदीको किनारै किनार धरान पुगें ।

धरानको सिनेमाघरमा ‘सावनकी रात’ भन्ने हिन्दी सिनेमा चलेको रहेछ । काकाले आठआना तिरेर दुई वटा टिकट काट्नुभयो । हामीले सेतो पर्दाको नजिकै सुकुलमा बसेर ठाडो मुन्टो लगाएर फिल्म हेर्‍यौं ।

मलाई हिन्दी फिटिक्कै आउँदैनथ्यो । फिल्म केही बुझेको भए मरिजाउँ । अर्कोतर्फ उखरमाउलो गर्मी ।

तैपनि रमाई-रमाई फिल्म हेरेँ । पर्दाभित्रको रंगीचंगी दृष्य नै मलाई मनोरञ्जन दिन काफी थिए । त्यसमाथि चिल्ला तिघ्रा भएका उन्मत्त सुन्दरीहरुको नाच । म १९ वर्षको ठिटोलाई कान्ड पुगिहाल्यो । गाउँमा चौबन्दी चोली लगाएका, त्यसमाथि पछ्यौरीले स्तन छोपेका, तल पनि कुरकुच्चासम्म साडीले ढाकेका स्त्रीहरु मात्रै देखेको मलाई यी चिल्ला पिँडुला र हिमालजस्ता वक्षस्थल भएका कन्याहरु बडो अद्भुत लागे । दिलखुस, मन चंगा भयो ।

त्यसको एक वर्षपछि २०२३ सालमा म क्याम्पस पढ्न काठमाडौं आएँ । फिल्मको रस पसेको थियो । एकदिन केही कुटुम्बहरुसँग रञ्जना हल पुगें । त्यहाँ चलेको थियो हिन्दी फिल्म ‘लभ इन टोकियो’ ।

यो फिल्मको पनि धेरै कुरा म सम्भिmन्नँ । तर, एउटा सिन थियो, जसमा हिरोलाई छोडेर जाने क्रममा हिरोइन हेलिकोप्टर चढ्छे । हेलिकोप्टरको झ्यालबाट ‘सायोनारा सायोनारा’ भन्दै गीत गाउँछे । भुस्तिघ्रे हिरो दगुर्दै आएर हेलिकोप्टरमा झुण्डिन्छ ।

‘धत्तेरी, अब यो मर्‍यो,’ मैले मनमनै भनें । फिल्म हेरिरहँदा त्यो तिघ्रे हिरो मलाई आफ्नै नजिकको मान्छे जस्तो लाग्न थालेको थियो । मेरो हंश नै तिघ्रेमा पसेको थियो । उ हेलिकोप्टरबाट खसेर मर्नेभो भनेर मेरो मन आत्तियो । कति निठुरी केटी रहिछ भनेर हिरोइनलाई मनमनै सरापें पनि । तर, कसोकसो तिघ्रे जमिनमा उत्रियो । मरेन । म खुसीले बुरुक्कै उफि्रएँ । फिल्म हलबाट बाहिर निस्कँदा मन प्रफुल्ल थियो ।

०००

यसरी लभ इन टोकियो हेरेपछि मैले लामो समय फिल्म हेरिनँ । म अध्ययनमा बढी लिप्त भएँ । गोजीमा पैसा पनि हुन्नथ्यो । फुर्सद भयो भने बरु बि्रटिश काउन्सील छिरेर किताबका ठेली पल्टाउँथें । पुस्तकको संगत गर्न थालेपछि फिल्मसँग मेरो मोह टुट्यो ।

आजका दिनसम्म आइपुग्दा मैले हलमा गएर अत्यन्त कम फिल्म हेरेको छु । बढीमा दुई दर्जन हेरें होला । जसमध्ये म यहाँ ५ वटा नेपाली फिल्मको चर्चा गर्न चाहन्छु ।

१. दर्पण छायाँ

मिडियामा उधुम हल्लाहल्ला सुनेर कति सालमा पो हो, ‘दर्पण छायाँ’ हेरें । फिल्मको रुपरंग, साजसज्जा, प्रविधि निकै मन पर्‍यो । तर, ‘जिन्दगानी दर्पणछायाँ’ भन्ने गीत मन परेन । मलाई यो वैराग्य उत्पन्न गर्ने गीत जस्तो लाग्यो ।

तर, फिल्मको कथावस्तुले मलाई बहुतै भावुक बनायो । म यसै पनि भावुक मान्छे, आँखाबाट आशु नै बग्यो । सिनेमाको नौटंकी हेरेर वित्थामा रोएको सम्झिदा अहिले हाँसो उठ्छ ।

२. बलिदान

बलिदानको पनि धेरै चर्चा सुनें । राजनीतिक विषयवस्तुमा आधारित फिल्म, त्यसमाथि तुलसी घिमिरेजस्ता दिग्गज निर्देशकले बनाएको भनेपछि म हलसम्म तानिएँ । तर, फिल्म मलाई बेतुकको लाग्यो । केही क्रान्तिकारी गीतहरुको बीच-बीचमा कथालाई कोचेर बनाइएको गीतिमाला जस्तो । बेकारमा हेरेछु । बरु हरिवंश आचार्य लगायत कलाकारहरुको अभिनयले चाहिँ केही प्रभावित तुल्यायो । फिल्म दर्शकहरुले किन मन पराए, चकित पर्छु ।

३. नुमाफुङ

मैले अहिलेसम्म हेरेका नेपाली फिल्ममध्ये नुमाफुङलाई उत्कृष्ट मान्छु । नबिन सुब्बाले निर्देशन गरेको यो एउटा जिवन्त फिल्म हो । अधिकांश नेपाली  फिल्महरु बलिउडका चुत्था फिल्महरुका पनि चुत्था कार्बनकपी हुन् । तिनीहरु जीबनको यथार्थभन्दा कोशौं टाढा छन् । तर, नुमाफुङ जीवनसँग नजिक छ । जातिविशेषको संस्कृतिमा आधारित यो यथार्थवादी सिनेमा हो ।

४. टलकजग भर्सेस टुल्के

मैले समय बर्बाद गरेको अर्को फिल्म हो टुल्के । आधुनिक युगका महान लेखक लुसुनले लेखेको आहा क्यूको वास्तविक जीवनमा आधारित फिल्मको नेपाली संस्करण भनेर हेर्न गएँ । धेरै बुद्धिजिवीहरुले पनि फिल्मको तारिफ गरेको सुनेको थिएँ । तर, उनीहरु सबै बेवकुफ रहेछन् । फिल्मले माओवादी जनयुद्धलाई होच्याउनेभन्दा बाहेक केही गरेको छैन । जनयुद्धको गर्विलो इतिहासलाई यसले सही तरिकाले उठान नै गर्न सकेको छैन । जनयुद्धलाई व्यक्तिहत्याको श्रृंखलाका रुपमा मात्रै देखाइएको छ । फिल्म पात रहेछ । यो म मुर्खको बुझाइ पनि हुन सक्छ ।

५. सेतो सूर्य

मैले हेरेको पछिल्लो फिल्म हो ‘सेतो सूर्य’ । यो फिल्मले मलाई केही प्रभाव पार्‍यो । फिल्म अत्यन्त प्रतिकात्मक भएकाले सर्वसाधारणले नबुझ्न सक्छन् । तर, यसले जनयुद्धलाई नेपथ्यमा राखेर नेपाली समाजको बनोटभित्र पुरुष र स्त्रीहरुको सम्वन्धलाई राम्रैसँग केलाएको छ ।

अहिले बनिरहेका नेपाली फिल्ममा एक्सन नामको गुण्डागर्दी, प्रेम नामको नखरा र अपराध तीन तत्व मिसिएका हुन्छन् । यी तत्वहरुबाट सिनेमा टाढा रहनुपर्छ भन्ने मेरो मान्यता छ । नुमाफुङ यी तत्वहरुबाट टाढा छ ।

फिल्म धेरै नहेरे पनि म कमेडी सिरियलहरु हेर्छु । जिरे खुर्सानीदेखि भद्रगोलसम्म केही छुटाउँदिन ।

पहिले घरमा एउटा पछाडि ठूलो चाक भएको टेलिभिजन थियो । त्यसमा हेर्थें । तर, गएको भूकम्पमा त्यो टिभी लडेर भुइँमा उत्तानो पर्‍यो । त्यसपछि बनाउने कष्ट गरिनँ । खासै आवश्यकता पनि महसुस गरेको छैन । आजकाल सिरियलहरु यूट्युबमा हेर्छु । कहिले ल्यापटपमा, कहिले मोबाइलमा ।

मलाई मन पर्ने हाँस्यकलाकार मनोज गजुरेल हुन् । उनलाई म अति प्रतिभावान मान्छु । खासगरी उनले ज्ञानेन्द्रको र प्रचण्डको अभिनय गरेको साह्रै मन पर्छ । उनको प्रहसनमा कोरा मजाक मात्रै हुँदैन, चोटिलो व्यंग्य पनि हुन्छ । दोस्रो, उनी अति मेहनति पनि छन् ।

मेरो मनोरञ्जनको सबैभन्दा ठूलो स्रोत भनेको संगीत हो । म संगीत खुब सुन्छु । नेपाली पुराना आधुनिक गीतहरु तथा हिन्दी गीतहरु सुन्छु । नेपाली गीतमा मलाई नारायण गोपाल, अम्बर गुरुङ अरुणा लामा, बच्चु कैलाश, रामेश-रायन मन पर्छन् । बुढो पनि भइयो । धेरै बेरसम्म किताब पढ्दा आँखा थाक्छ । यस्तोमा गीत सुनेर मन बहलाउँछु ।

०००

फिल्मी कलाकारसँग मेरो उठबस खासै छैन । तर एकाधलाई चिन्छु । जसमध्ये एक हुन् रेखा थापा । माओवादी शान्ति प्रक्रियामा आएपछि चोरदेखि ठगसम्म, व्यापारीदेखि कलाकारसम्म माओवादीमा प्रवेश गर्ने लहर चल्यो । यही हुलमा मिसिएर रेखा थापा पनि प्रवेश गरिन् ।

म पनि माओवादी आन्दोलनप्रति सहानुभूति राख्ने मान्छे । माओवादीको चुनावी अभियानका क्रममा विभिन्न कार्यक्रममा मलाई बोलाइरहन्थे । त्यहाँ रेखा थापा पनि पुग्थिन् । जम्काभेट हुन्थ्यो । सामान्य बोलचाल हुन्थ्यो । अहिले कम भएको छ ।

मैले चिनेको अर्की नायिका हुन् करिश्मा मानन्धर । उनीसँग पनि राजनीतिक कारणले नै चिनजान भएको हो । नयाँ शक्तिमा उनी आएपछि विभिन्न कार्यक्रममा भेट भयो र गफगाफ भयो ।

मेरो चिनजान भएका कलाकारको कुरा गर्दा मह जोडी पनि आउँछन् । उनीहरुसँग मेरो राम्रै सम्वन्ध छ । उनीहरुले पञ्चायतकालमा हाँस्यव्यंग्यकर्मीको रुपमा निर्वाह गरेको भूमिकाको म सम्मान गर्छु । तर, पछिल्लो समयको कुरा गर्ने हो भने त्यति सम्मान दिनु आवश्यक देख्दिनँ । अहिले उनीहरुको कलाकारिता बिकाउ भएको छ । व्यापारिक भएको छ । आफूले आजसम्ममा आर्जन गरेका छविलाई व्यापारमा बदलेका छन् ।

अँ, राजेश हमालको पनि कुरा गर्छु । उनीसँग एकचोटि प्लेनमा जम्काभेट भएको छ । हामी एउटै सिटमा परेका थियौं । मैले मुसुक्क हाँसेर उनीसँग हात मिलाएँ । उनी गजक्क परेर बसिरहे । बोलचालै गरेनन् । उनको बानी नै यस्तो हो कि मसँग रिसाएका थिए कुन्नी ।

राजेश हमालले मेरो एउटा अन्तरवार्ता सुनेर मसँग रिसाएको पनि हुन सक्छ । एउटा एफएमलाई दिएको अन्तरवार्तामा मैले राजेश हमालले नेपाली फिल्मलाई बर्बाद पारे भनेको थिएँ । मैले यो पनि भनेको थिएँ कि ‘फिल्ममा एक्सन नामको गुण्डागर्दी नै गर्नुथियो भने उनले एमएसम्म चाहिँ किन पढेका हुन् ?’

यो कुरा उनको कानमा पुगेको थियो कि ? तर अहिले पनि मेरो धारणा यही हो । राजेश हमालले नेपाली फिल्म बर्बाद पारेकै हुन् ।

(चिरञ्जीवी पौडेलसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment