Comments Add Comment

एमाले-माओवादीको ब्यानर विवाद प्रदेश ४ को संसदमा, नियमापत्ती हुँदा सभामुख चुपचाप

१२ वैशाख, पोखरा । प्रदेश ४ को ससंदमा नियमापत्ती हुँदा सभामुख नेत्रनाथ अधिकारी नै जिल्ल परे । प्रदेश सभाको क्षेत्राधिकार बाहिर गएर बोलेको भन्दै मंगलबार संसदमा दुई पटक नियमापत्ती भयो । तर, सभामुख अधिकारीले न नियमापत्तीको कारण सोधे न कुनै रुलिङ नै गरे ।

प्रदेश ४ को संसदमा पहिलो पटक नियमापत्ती भएको थियो । संसदमा शून्य तथा विशेष समयमा सांसदहरु बोल्दै थिए । सोही क्रममा स्याङ्जाबाट सांसद बनेका मेषलाल श्रेष्ठले बोल्न थाले । सांसद श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले-माओवादीले आइतबार काठमाडौंमा गरेको संयुक्त कार्यक्रमलाई लक्षित गर्दै आक्रोशित बने ।

‘कार्यक्रममा भनियो हामीलाई राष्ट्रियता चाहिँदैन तर हामीलाई महान नेताको फोटो चाहिन्छ । फोटो नहुँदासम्म सभा सञ्चालन हुन सक्दैन भनेर चार घन्टापछि दुई जना महाराजहरुको, नेताहरुको फोटो अगाडि राख्न लगाइयो । यही हो राष्ट्रियता ?’ श्रेष्ठले भने ।

विशेष समयमा बोल्दै श्रेष्ठले अरु थपे, ‘यो सब देखेर मेरो विश्वास टुट्यो, म अधैर्य भएँ, मलाई अचम्म लाग्यो । नेताहरुले को छ भगवान भने । हाम्रो त उहाँहरु नै हो भगवान भने । यही हो राष्ट्रियता ?’

सांसद श्रेष्ठले एमाले-माओवादीका कार्यकर्तालाई अराजक तत्व भएकोसमेत आरोप लगाए ।

(यो समाचार पढ्नुहोस् : एमाले-माओवादी व्यानर विवाद यसरी मिलाइयो)

प्रदेश सभाको क्षेत्राधिकारभन्दा बाहिर गएर सांसद श्रेष्ठले बोल्न थालेपछि कास्कीका माओवादी सांसदले नियमापत्ती गरे । पार्टीको कार्यक्रममा भाषण गरेको कुरालाई अनावश्यक रुपमा संसदमा ल्याएको भन्दै कोइरालाले नियमापत्ती गरे । ‘कम्युनिस्ट पार्टीले आफ्ना गुरुहरुको फोटो राख्ने कुरालाई राष्ट्रियतासँग गाँस्ने कुरा गम्भीर आपत्तिजनक छ । सदनमा यस कुराको जवाफ दिनुपर्‍यो,’ कोइरालाले भने, ‘पार्टीका कार्यकर्ताले बोलेका कुरालाई अराजक तत्वका रुपमा सम्मानित सदनमा उठाउनुभयो । मेरो नियमापत्ती छ, उहाँले जवाफ दिनुपर्छ ।’

कास्कीका एमाले सांसद राजीव पहारीले त्यसमा थप्दै श्रेष्ठले संसदमा माफी माग्नुपर्ने माग गरे । सांसद पहारीले थपे, ‘संसदमा के कुरा बोल्ने, के कुरा नबोल्ने ख्याल नगर्नु लोकतन्त्रमाथिकै अपमान हो । यहाँले यही बैठकमा माफी माग्नुपर्छ ।’

सांसद कोइराला र पहारीले नियमापत्ती गर्दै जवाफ दिनुपर्ने तथा माफी माग्नुपर्ने सभामुखसँग माग गरे । तर, त्यसको वास्ता नगरी सभामुख अधिकारी अर्को कार्यसूचीमा प्रवेश गरे ।

संसदमा शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिन उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साललाई सभामुखले समय दिए । मन्त्री लम्सालले शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिनुअघि नीति तथा कार्यक्रममाथि सांसदले राखेका भनाइमा केन्दि्रत रहे । नीति तथा कार्यक्रमको अध्ययन गरेरमात्रै आलोचना गर्न मन्त्री लम्सालले आग्रह गर्दैगर्दा कांग्रेस सांसद कुमार खड्काले नियमापत्ती जनाए ।

‘शून्य तथा विशेष समयमा उठेका प्रश्नको मात्र जवाफ दिन अनुमति भएकोमा संसदबाट पारित भइसकेको नीति तथा कार्यक्रम केन्दि्रत भएका कारण नियमापत्ती छ,’ सांसद खड्काले भने, ‘विषयमै केन्द्रित गराइदिनु हुन सभामुखज्यूलाई अनुरोध गर्दछु ।’

खड्काको नियमापत्तीपछि पनि सभामुखले कुनै सम्बोधन र रुलिङ नै गरेनन् । सभामुख चुप रहेपछि मन्त्री लम्सालले प्रश्नको जवाफ दिन थाले ।

प्रदेश सभा सञ्चालन नियमावलीको दफा २५ मा नियमापत्ती सम्बन्धी व्यवस्था छ । बैठकसमक्ष तत्काल विचाराधीन रहेको विषयमा कुनै सदस्यलाई नियम उल्लंघन भएको छ भन्ने लागेमा जुन नियम उल्लंघन भएको हो सो खुलाई नियमापत्ती उठाउन सक्ने व्यवस्था छ । नियमापत्ती उठाउने सदस्यले सभामुखबाट स्वीकृति, सूचक अभिव्यक्ति वा इशारा पाएपछि बोलिरहेको सदस्यले बोल्न बन्द गर्नु पर्नेछ । तर, संसदमा सभामुखले न कुनै इशारा गरे न सांसदले बोल्न नै बन्द गरे ।

नियमापत्ती उठाउने सदस्यले आफ्नो कुरा र आधार स्पष्ट गरी नियमापत्ती सम्बन्धी कुरा मात्र बोल्न पाउने छन् । बोलिसकेपछि निजले आफ्नो स्थान ग्रहण गर्नु पर्नेछ । बैठकमा उठाइएको नियमापत्तीको निर्णय सभामुखले गर्नेछ र सो निर्णय अन्तिम हुनेछ । तर, सभामुख अधिकारीले त्यसतर्फ कुनै संकेत नै नगरी अरु कार्यसूचीमा प्रवेश गरेका थिए ।

प्रदेश राजधानी र नामाकरणको सुझाव दिने म्याद थप

मंगलबारको संसद बैठकमा विभिन्न सांसदले शून्य तथा विशेष समयमा बालेका थिए । बैठकमा प्रदेशको राजधानी तथा नामाकरण सम्बन्धी सुझाव पेश गर्ने मिति १० दिनका लागि थप भएको छ ।

प्रदेशको राजधानी तथा नामाकरण सम्बन्धी गठित सुझाव समितिका सभापति विन्दुकुमार थापाले १० दिन समय थप गर्न प्रस्ताव गरेका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको सभा सञ्चालन कार्यविधि छलफलका लागि प्रस्ताव गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment