Comments Add Comment

सिण्डिकेट पक्षधरले यातायात कार्यालय घेराउ गर्न पनि पाएनन्


१६ वैशाख, वीरगञ्ज । नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय घेराउ गर्न गएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई प्रहरीले रोकेको छ । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई कार्यालयदेखि १०० मिटर टाढा धपाएको हो ।

उक्त प्रदर्शनलाई लक्षित गरी प्रदर्शनकारीभन्दा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले यातायात कार्यालय अगाडिसमेत जान नदिएपछि व्यवसायीहरु केहीबेर प्रर्दशन गरेर फर्किएका थिए ।

यातायात व्यवसायीले शान्तिपूर्ण धर्ना गर्न पनि नदिएर सरकारले लोकतन्त्रविरोधी काम गरेको गुनासो गरेका छन् । आन्दोलन समिति पर्साका संयोजक विनोद मानन्धरले नागरिकलाई दिएको संवैधानिक अधिकार हनन भएको बताए ।

‘संविधानले नागरिकलाई शान्तिपूर्ण धर्ना जुलुस घेराउ गर्ने अधिकार दिएको छ । तर आज त्यो अधिकारको हनन राज्य पक्षबाट भएको छ’ उनले भने । यातायात व्यवसायीसँग सरकारले घुडा नटेकेसम्म आन्दोलन जारी रहने मानन्धरले चेतावनी दिए ।

यातायात व्यवसायीहरुको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार यातायात व्यवसायीहरुले अब २१ गते आफ्नो-आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्क्याउनेछन् ।

संयुक्त आन्दोलन परिचालन समिति प्रदेश २ का संयोजक जगरनाथप्रसाद कलवारले राज्यले निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो व्यवसाय यातायात क्षेत्रमा निर्मम प्रहार गरेकोले आन्दोलनमा उत्रिएको बताए ।

‘यातायात संस्थानले विदेशी अनुदानमा पाएका ट्रक पनि चलाउन सकेन, अहिले बैंकबाट ऋण गरेर सञ्चालन गरेको व्यवसायमा प्रहार गरिरहेको छ’ उनले भने ‘अहिले कुनै गाडी महिनामा ३ टि्रपमात्रै लाग्ने अवस्था छ । राज्य पक्ष यातायात व्यवसायीहरुको समस्या नबुझी एकोहोरो लागिरहेको छ ।’

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले भने सरकारी कार्यालयमा शान्ति सुरक्षा कायम गराउने क्रममा यातायात व्यवसायीहरुलाई १ सय मिटर पर धकेलिएको बताए ।

‘सरकारी कार्यालयको सेवा प्रवाहमा कसैले अवरोध गर्न मिल्दैन । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल राख्नुपर्छ’ उनले भने ‘सरकारी कार्यालयको सेवा प्रवाहमा समस्या निम्त्याउन खोज्नेलाई हामी छोड्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment