+
+
Shares

एमाले-माओवादीको प्रधान दुश्मन को ?

वाम दस्तावेजले चिनेन बाबुराम र रविन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १९:३४


१७ वैशाख, काठमाडौं । कम्युनिष्ट पार्टीको दस्तावेजमा ‘प्रधान अन्तरविरोध’ र ‘प्रधान शत्रु’ किटानी गर्ने प्रचलन छ । एमाले र माओवादीवीच पार्टी एकताका लागि संयुक्त कार्यदलले तयार पारेको साझा दस्तावेजमा पनि केही ‘अन्तरविरोध’हरु किटानी गरिएका छन् । दस्तावेजमा विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोणसमेत प्रस्तुत गरिएको छ ।  कार्यदलले यो दस्तावेज केपी ओली र प्रचण्डलाई बुझाइसकेको छ ।

बैशाख ९ गते नै पार्टी एकता घोषणा गर्ने गरी कार्यदलले तयार पारेको ४२ पृष्ठ लामो साझा दस्तावेजले विगतमा माओवादीले गरेजस्तो नेपाली कांग्रेसलाई ‘प्रधान शत्रु’ घोषणा गरेको छैन । तर, कांग्रेस नै मुख्य प्रतिस्पर्धीका रुपमा रहेको उल्लेख गरिएको छ ।

संयुक्त कार्यदलले तयार पारेको साझा दस्तावेजमा भनिएको छ- ‘राष्ट्रिय औद्योगिक पुँजीवादको विकास समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरुसँग नेपाली जनताको मुख्य अन्तरविरोध रहेको छ ।’

दस्तावेज अगाडि भन्छ- ‘दलाल नोकरशाही पुँजीवाद र सामन्तवादका अवशेषहरु नै यसरुपमा देखा परेका छन् ।’

दुई कम्युनिष्ट पार्टीको संयुक्त दस्तावेजका अनुसार नेपाली कांग्रेस पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । दस्तावेजमा अगाडि भनिएको छ- ‘नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले नै गरेको छ । ….कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति नेपाली कांग्रेस नै हो ।’

नेपाली कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन सकेको छैन भन्दै वाम दस्तावेजमा अगाडि भनिएको छ- ‘भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौं सन्दर्भमा भ्रष्टहरुको संरक्षणसमेत गरेको छ ।’

सरकारको नेतृत्वमा हुँदा नेपाली कांग्रेसले कैंयौंपटक राष्ट्रिय हित विपरीत सन्धी सम्झौता र राष्ट्रियतामाथि आघात पुर्‍याउने काम गरेको एमाले माओवादीको साझा दस्तावेजमा भनिएको छ ।

नेपाली समाजमा दलाल नोकरशाही पुँजीवादले विकास र समृद्धिमा अवरोध उत्पन्न गरिरहेको दस्तावेजमा उल्लेख छ । राज्यको नेतृत्वदायी भूमिका र सुशासनको कार्यान्वयनमार्फत दलाल पुँजीको नियन्त्रण गर्नुपर्ने दस्तावेजमा बताइएको छ ।

एमाले र माओवादीको दस्तावेज यति उदार छ कि उसले आफैं नेपाली जनतासँग मुख्य अन्तरविरोध रहेको दलाल र नोकरशाही वर्गको प्रतिनिधित्व गर्ने भनेको नेपाली कांग्रेससँग पनि सहकार्य गर्न सकिने दस्तावेज तयार पारेको छ ।

दस्तावेजमा कांग्रेससित अपनाइने नीतिबारे भनिएको छ- ‘विगतमा हामीले सामन्तवादविरोधी संघर्षमा पटक-पटक नेपाली कांग्रेससँग सहकार्य गरेका छौं र भविश्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइने छ ।’

मधेसी दलः फोरम ठीकै, राजपा दलाल !

एमाले र माओवादीको साझा दस्तावेजमा मधेसकेन्द्रित दलहरुका विषयमा पनि अलग्गै विश्लेषण गरिएको छ । राजपा नेपालभन्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम तुलनात्मक रुपमा सही ढंगले उभिएको वाम दस्तावेजमा उल्लेख छ ।

फोरमबारे दस्तावेजमा भनिएको छ- ‘संघीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताका पक्षमा तुलनात्मकरुपमा सही ढंगले उभिने गरेको छ ।’

तर, जातीय, भाषिक र संघीयताको सन्दर्भमा संघीय फोरमको सोच र नीतिमा केही संकीर्णता एवं अतिवाद प्रकट हुने गरेको दस्तावेजमा उल्लेख छ ।

फोरमसँग कम्युनिष्ट पार्टीले अवलम्बन गर्ने नीतिका सम्बन्धमा स्पष्ट पार्दै दस्तावेजमा भनिएको छ- ‘यसका (फोरमका) कमजामेर पक्षको आलोचना गर्दै यससँग सहकार्य गर्न सकिन्छ ।’

वाम दस्तावेजमा राजपालाई भने कांग्रेसलाई जस्तै आक्रमकरुपमा वैचारिक प्रहार गरिएको छ । दस्तावेजमा भनिएको छ- ‘राजपा जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ । यसले मजदुर, किसान, गरीव, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका विरुद्धमा उभिने गर्छ ।’

राष्ट्रियताका सवालमा त राजपालाई झनै कांग्रेसलाई भन्दा पनि खराब शक्तिका रुपमा प्रस्तुत गर्दै भनिएको छ- ‘राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा राजपाले आत्मसमर्पणवादी नीति अवलम्वन गर्ने गरेको छ । कतिपय बेला यसका विभिन्न नेताहरुबाट बाह्यशक्तिको हित गर्ने र विखण्डनकारी विचारहरु पनि प्रकट हुने गरेका छन् ।’

राजपाको वर्गचरित्रबारे दस्तावेजमा भनिएको छ- ‘मूलतः यसले तराई मधेसका बचेखुचेको सामन्त र दालपुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ ।’

तर, राजपालाई जुनसुकै वर्ग चरित्रको भए पनि उससित सहकार्य हुन सक्ने वर्गसमन्वयवादी नीति दस्तावेजमा अगाडि सारिएको छ । राजपासँग लिने नीतिबारे दस्तावेजमा भनिएको छ- ‘संविधानको कार्यान्वयन एवं देश तथा जनताको हितको विषयमा यसले जति हदसम्म आफूलाई प्रस्तुत गर्दछ, त्यति नै हदसम्म यससँग सहकार्य हुन सक्दछ ।’

राप्रपा सामन्तवादको अवशेष

एमाले माओवादीको संयुक्त राजनीतिक प्रतिवेदनमा राजपाका सबै गुटहरुलाई ‘सामन्तवादको अवशेष’ बताइएको छ ।
‘विभाजित अवस्थामा रहेका तीनवटै राप्रपा पूर्वपञ्चहरुका पार्टी हुन् । यी तीनवटै पार्टीले मूलतः सामन्तवादको अवशेषको प्रतिनिधित्व गर्छन्,’ दस्तावेज भन्छ- ‘यिनले हिन्दु धर्मरालाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन् । अहिलेको निर्वाचनबाट राप्रपामा सबै समूहहरु जनताबाट अस्वीकृत भएका छन् ।’

विप्लवलाई राजनीतिको मूलधारमा ल्याउने नीति

‘नेत्रविक्रम चन्द समूहले उग्र वामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ । यसको मनोगतवादी एवं उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्छ ।’

एमाले र माओवादीले हाल भूमिगत गतिविधि गरिरहेको विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने नीति तयार पारेका छन् । यसबारे साझा दस्तावेजमा भनिएको छ- ‘नेत्रविक्रम चन्द समूहले उग्र वामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ । यसको मनोगतवादी एवं उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्छ ।’

त्यसैगरी अन्य वाम समूहहरु नेकपा मसाल, वैद्य समूह र नेमकिपा लगायत अन्य कम्युनिष्ट तथा वामपन्थी समूहहरुमा जडसूत्रीय, संकीर्ण एवं आत्मकेन्दि्रत चिन्तन, नीति र व्यवहार रहेको बताइएको छ । उनीहरुको यो संकीर्ण चिन्तन हटाउँदै एकता प्रक्रियामा ल्याउने प्रयास गरिनुपर्ने बताइएको छ ।

दस्तावेजले चिनेन बाबुराम र रविन्द्र मिश्र

एमाले र माओवादीका नेताहरुले तयार पारेको दस्तावेजमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल  र रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीका विषयमा भने एक शब्द पनि उल्लेख गरिएको छैन ।

गत चुनावमा सानै रुपमा भए पनि प्रभाव छाडेका यी शक्तिलाई दस्तावेजले चिनेको छैन । उनीहरुसँग कस्तो सम्बन्ध राख्ने भन्ने पनि चर्चा गरिएको छैन ।

नेपाली राजनीतिमा, विशेष गरी काठमाडौंको राजनीतिमा कुनै न कुनै हिसाबले प्रभाव पारेको र निर्वाचनका बेला विदेशमा रहेका नेपालीहरुले समेत चाख दिएको विवेकशील साझा पार्टीबारे एमाले र माओवादीका नेताहरु मौन रहनु भनेको यस शक्तिलाई मान्यता दिन तयार नरहेको स्पष्ट हुन्छ ।

दस्तावेजमा राष्ट्रिय पार्टीको मात्रै विश्लेषण गरिएको मान्ने हो भने त्यहाँ मसाल र नेमकिपाको समेत चर्चा गरिएको छ । प्रतिनिधिसभामा रहेका दलको मात्रै चर्चा गरिएको भनौं भने विप्लव समूह र वैद्य समूहको पनि नाम लिइएको छ । तर, बाबुराम भट्टराई र रविन्द्र मिश्रको पार्टीको नाम लिइएको छैन ।

जोसँग अन्तरविरोध, उसैसँग सहकार्य ?

एमाले र माओवादीको दस्तावेजमा केही असंगति देखिएको छ । जस्तो कि दस्तावेजमा भनिएको छ-‘राष्ट्रिय औद्योगिक पुँजीवादको विकास समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरुसँग नेपाली जनताको मुख्य अन्तरविरोध रहेकोछ । दलाल नोकरशाही पुँजीवाद र सामन्तवादका अवशेषहरु नै यसरुपमा देखापरेका छन् ।’

एमाले र माओवादीको दस्तावेजअनुसार अहिले नेपाली जनताको मुख्य अन्तरविरोध ‘दलाल नोकरशाही पुँजीवाद’ र ‘सामन्तवादका अवशेषहरु’ सँग हो । ‘दलाल नोकरशाही पुँजीवाद’का प्रतिनिधिहरु नेपाली कांग्रेस र राजपा (तराईमा) हुन् । दलाल नोकरशाही पुँजीवाद समृद्धि र विकासको मुख्य बाधक हो ।

तर, वाम पार्टीको साझा दस्तावेजले कांग्रेस र राजपा दुबैसँग सहकार्य गर्न सकिने उदारवादी एवं समन्वयवादी नीति लिएको छ ।

दस्तावेजवमा देखिएको अर्को असंगति भनेको ‘सामन्तवादका अवशेषहरु’सँग जनताको मुख्य अन्तरविरोध रहेको भनिएको छ । र, राप्रपाका तीनै समूहहरु ‘सामन्तवादका अवशेष’ भएको भनिएको छ । तर, यिनलाई जनताले निर्वाचनमार्फत अस्वीकृत गरिसकेको पनि भनिएको छ । अस्वीकृत भइसकेको शक्तिसँग पनि मुख्य अन्तरविरोध रहेको बताइएको छ, जुन मरिसकेको बाघलाई शत्रु घोषणा गरेजस्तै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?