
१८ वैशाख, कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सरकारी अधिकारीले पुनर्वास–९ को सीमा विवाद सामान्य रहेको बताइरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले त्यहाँ कब्जा जमाएको छ ।
एसएसबीले १९५ नम्बर सीमा स्तम्भनजिक नेपाल सरकारका विशिस्ट अधिकारीबाहेक कसैलाई पनि जान दिएको छैन । नेपाली पक्षले उक्त क्षेत्र अतिक्रमण गर्न सक्ने भन्दै उसले प्रवेश निषेध गरेको हो ।
एसएसबीको ३९ औं बटालियनअन्तर्गतको घोला क्याम्पका असई छताई सिंहले माथिको निर्देशनअनुसार १९५ नम्बर सीमा स्तम्भनजिक नेपालीलाई जान निषेध गरिएको बताए ।
पुनर्वास–९ का वडाध्क्ष नारायण जैशीले अन्तर्राष्ट्रिय मूल्य र मान्यता लत्याउँदै एसएसबीले नेपालीप्रति ज्यादती गरेको बताए । उनले भारतीय पक्षबाट ज्यादति हुँदा समेत सरकारले भने चासो कुनै चासो नेदेखाएको आरोप लगाए । ‘नेपाली भूमिमा आएर भएको अमानवीय कार्यको देश–विदेशबाट आलोचना भइरहँदा जिल्ला प्रशासन, प्रदेश सरकार तथा केन्द्र सरकार कोही कसैले चासो दिएका छैनन्,’ जैशीले गुनासो गरे ।
गत वैशाख १३ मा भारतीय डिएम, एसडिएम तथा प्रहरीका उच्चपदस्थ कर्मचारीको उपस्थितिमा नेपाली भूमिको तारबार उखेल्दासमेत नेपाल प्रहरी लाचार भएको उनले बताए ।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले अहिलेसम्म कुनै पनि सरकारी निकायका उच्चपदस्थ कर्मचारीहरु विवादबारे बुझ्न नआउँदा आफूलाई आश्चर्य लागेको बताए ।

तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का उनीमाथि लागेको आरोप गलत भएको बताउँछन् । उनले आरोपको खण्डन गर्दै विवादित क्षेत्रमा पटक–पटक पुगेको र समाधानका लागि कूटनीतिक प्रयास भइरहेको जनाए । ‘तारबार लगाउने विषयले केही विवाद भएको छ,’ खड्काले भने, ‘यसलाई कूटनीतिक तबरबाट हल गर्न हामी प्रयासरत छौं ।’
प्रतिक्रिया 4