Comments Add Comment

भारतीय दूतावासको सीधा लगानीः देउवाले रोके, ओलीले अघि बढाए

विज्ञानराजले खुलासा गरे विमानस्थलबाट सुन छिराउने तरीका

२० वैशाख, काठमाडौं । बिहीबार केन्द्रीय राजधानी काठमाडौंबाट प्रकाशित सबै पत्रिकाले साढे ३३ किलो सुन गायब र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका ६३ जनालाई मुद्दा हालेको विषयलाई प्रमुख समाचार बनाएका छन् ।

कांग्रेस महासमितिको बैठकमा नेताहरुको तयारी, भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी, पुरातात्विक महत्वको काष्ठमण्डपका काठहरु कुहिँदै गएको, बजेट अधिवेशनको कार्यसूची तय भएको लगायतका समाचारहरुले पनि पत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

विमानस्थलबाट यसरी छिर्छ सुन ?

नयाँ पत्रिका दैनिकले ‘विमानस्थलबाट कसरी छिर्छ सुन ?’ भनेर पूर्वएआईजी विज्ञानराज शर्माको भनाइलाई समेत समेटेको छ । शर्माले भनेका छन्-

त्यहाँ बिभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग सेटिङ हुन्छ ।

त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि मिलेमतो हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत् गुप्तचरका कर्मचारीसँग मिलेमतो हुन्छ । यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।

पूर्वएआईजी विज्ञानराज शर्मा

पूर्वएआईजी शर्माले नयाँ पत्रिकासँग थप भन्छन्- सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आ-आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत् सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको लगेजको फोटो भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ ।

एयरलाइन्सका कर्मचारीमार्फत् सर्कुलेट हुँदै सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोको आधारमा तस्करको सामग्री पहिचान हुन्छ । लोडरले अन्यसँगै तस्कर सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एक-एक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैं गरिदिन्छ । किनकी, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ ।

सात अनुत्तरीत प्रश्न

नयाँ पत्रिकाले साढे ३३ किलो सुन गायब प्रकरणका सात अनुत्तरीत प्रश्नहरुलाई पनि उठाएको छ ।

१. मुख्य अभियुक्त गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरुमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन ।

२. विमानस्थलमा प्रहरीमात्र होइन, भन्सार, अध्यागमन, गुप्तचर जस्ता सुरक्षा संयन्त्र हुन्छन् । ती संयन्त्रमाथि छानबिन भएन । जबकि, यसअघि सीआईबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वले ३३ किलो सुन बरामद गर्दा प्रहरीका एसएसपी श्याम खत्री मात्र होइन, भन्सार अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्निसियन राज ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ र गंगा भुर्तेल पक्राउ परेका थिए ।

३. साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार चुडामणि उप्रेती गोरे २० पुस २०७३ मा बरामद भएको ३३ किलो सुन तस्करीका पनि फरार अभियुक्त हुन् । तर, अध्यागमनको रिपोर्टअनुसार त्यसपछि पनि गोरे विमानस्थलबाटै पटक-पटक विदेश आवतजावत गरेको देखिन्छ । फरार अभियुक्त विमानस्थलबाट आवतजावत गर्दा अध्यागमन र गुप्तचरले के हेरे ?

४. एयरलाइन्सका कर्मचारी पनि तस्करीमा संलग्न हुने गरेका घटना यसअघि पनि आएका छन् । तर, यसपालि पनि तल्लो तहका कर्मचारीमात्र कारबाहीको दायरामा आए । माथिल्लो तहमाथि छानबिन भएको छैन ।

५. विमानस्थल सुरक्षाका लागि नेपाल प्रहरीको तर्फबाट डीआईजीको कमाण्डमा ३ सय ७ प्रहरी कर्मचारी खटिन्छन् । विमानस्थलको प्रत्येक स्थान र जहाजसम्मै पुग्ने अनुमति उनीहरुलाई हुन्छ । कर्मचारी हिँड्ने मार्गमा सीसीक्यामेरा हुन्छ । कर्मचारी आउने बाटोबाट सुन बाहिर ल्याइएको हो भने सामान बोकेर आइरहेका कर्मचारी वा प्रहरीलाई सीसीक्यामेरा मोनिटर गर्ने प्रहरीले किन देखेनन् ?

६. सुन बाहिर ल्याउने काम थाई एयरवेजका कर्मचारी सानु बनले गरेको भनिएको छ । केही दिनपछि उनी विमानस्थलभित्रै दगुर्दै गएर इन्धन ट्यांकरमा ठोक्किएको भिडियो सीसीक्यामेराले खिचेको छ । तर, त्यस्तो स्वाभाविक मृत्यु वा आत्महत्याबारे तत्कालै किन छानबिन भएन ?

७. २९ जना पक्राउ पर्दा र ६३ जनाविरुद्ध मुद्दा लाग्दा पनि मुख्य योजनाकार गोरेको अत्तोपत्तो छैन । अझ यति धेरै चर्चा भएको साढे ३३ किलो सुन कहाँ छ ?

साना परियोजनामा भारतीय दूतावासको सीधै लगानी

सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको समाचार नागरिक दैनिकले छापेको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने निर्णय लिए पनि वर्तमान सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न सहमति दिएको समाचारमा उल्लेख छ ।

‘साना अनुदान सम्झौता (स्मल ग्रान्ट एग्रिमेन्ट) को समयावधि थप तीन वर्ष बढाउने निर्णय भएको छ । सम्झौताको म्याद थप गर्ने प्रक्रिया सकियो । अब कार्यविधिमा काम भइरहेको छ,’ अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख केवलप्रसाद भण्डारीले नागरिक दैनिकसँग भनेका छन्, ‘सम्झौताअनुसार आयोजनाका लागि कसरी अनुरोध गर्ने, त्यसलाई कसरी स्वीकृति दिने र पैसा कसरी आयोजनासम्म पुर्‍याउने भन्नेमा छलफल चलिरहेको छ ।’

सरकारी अनुमतिसँगै अब काठमाडौंस्थित भारतीय दूतावासले पाँच करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न पाउने छ । यसअघि यो सम्झौताको म्याद सन् २०१७ अगस्ट ५ मा सकिएको थियो । देउवा नेतृत्वको सरकारले देश नयाँ संरचनामा गएको जनाउँदै सम्झौताको म्याद थप नगर्ने निर्णय लिएको थियो ।

कांग्रेस महासमिति बैठकः तीन समूहका तीन तयारी

नेपाली कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् ।

आगामी भदौमा हुने भनिएको महासमिति बैठकमा कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह आ-आफ्नो तयारीमा छन् ।

नयाँ पत्रिकाका अनुसार रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षलाई गलाउने रणनीति लिएपछि सभापति देउवा पक्ष भने बहुमत शक्तिमा टेक्दै महासमितिलाई प्रक्रियामा टुंग्याउने दाउमा छ ।

सिटौला पक्ष भने फरक धार बनेर उदाउने दाउमा रहेको समाचारमा उल्लेख छ ।

सुरक्षा बुझ्न हेलिकोप्टर लिएर आयो भारतीय टोली

कान्तिपुर दैनिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेको जनकपुरको सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षा टोली जनकपुर आएको र हेलिकोप्टर अवतरणको पूर्वाभ्यास गरेको समाचारलाई दोस्रो पृष्ठमा स्थान दिएको छ ।

भारतीय टोली जेडपी ५११९ कलसाइन भएको भारतीय वायुसेनाको हेलिकोप्टरमा बुधबार अपराह्न एक फन्को लगाउँदै रंगभूमि मैदानमा उत्रिएको थियो । भारतको पटनाबाट हेलिकोप्टरमै काठमाडौं आएका उनीहरुसँग परराष्ट्र मन्त्रालय र नेपाली सेनाको हेलिकोप्टर हेर्ने प्राविधिक पनि जनकपुर आएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले २८ वैशाखमा गर्ने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मन्जिबसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर पुगेका छन् । भारतीय सुरक्षाकर्मी र कुटनीतिज्ञहरुको दौडधुप बढेको छ ।

कुहिन थाले काष्ठमण्डपका काठ

कान्तिपुरले नै कुहिन थाले ‘काष्ठमण्डपका काठ’ शीर्षकको समाचार छापेको छ । समाचारमा लेखिएको छ- भुइँचालो गएको तीन वर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ कुहिने गरी अलपत्र अवस्थामा पुगेका छन् । बसन्तपुर दरबार क्षेत्रको बाहिर ठाउँठाउँमा राखिएका छन् । शिवपार्वती मन्दिरको पश्चिमतिर एक थुप्रो राखिएको छ भने अर्को थुप्रो दरबार क्षेत्रको ठूलो घण्टा छेउँमा छ ।

सातौं शताब्दीमा बनेको पुष्टि भएको काष्ठमण्डप अहिले हेर्दा कन्तबिजोग छ । उत्खनन गरेर निकालिएका इँटा यत्रतत्र छरिएका छन् । तारबारले घेरेर भित्र पस्न नमिल्ने बनाइएको छ । बाँसको टेको ठड्याएर जस्ताको छाप्रो बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment