Comments Add Comment

प्रदेश ३ को राजधानी हेटौंडामै राख्न मुख्यमन्त्रीसहितको टोली प्रधानमन्त्रीकोमा

२१ वैशाख, हेटौंडा । नेकपा एमालेको मकवानपुर जिल्ला कमिटीले प्रधानमन्त्री केपी ओलीसँग हेटौंडालाई नै प्रदेश ३ को राजधानी बनाउन माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै एमाले जिल्ला कमिटीले प्रदेश २ को राजधानी सार्ने कुरा बहुदल र गणतन्त्र प्राप्तीका लागि गरिएको आन्दोलनको भावना विपरीत हुने जिकिर गरेको छ ।

‘३ नं प्रदेशको राजधानी अन्य ठाउँमा सार्ने कुराले बहुदल र गणतन्त्र प्राप्तीका लागि गरिएका आन्दोलनको भावनाको विरुद्धमा हुनेछ’ ज्ञापनपत्रमा भनिएको छ ‘जनभावना विपरीत हुने र परिवर्तनको आभास जनताले गर्न नसक्ने र नपाउने भएकाले पनि हेटौंडालाई ३ नम्बर प्रद्येशको स्थायी राजधानी तोकिनु उपयुक्त हुनेछ ।’

हेटौंडा मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको र हाल १९ वटा क्षेत्रीय कार्यालय, ३ वटा मुख्य कार्यालय रहेकाले राजधानीका लागि पूवार्धार पर्याप्त हुने एमालेको जिकिर छ ।

विश्वका धेरै देशको राजधानी मध्यभागमा नभएको भन्दै हेटौंडा पनि प्रदेशको छेउमा पर्छ भन्नु युक्तिसंगत नहुने एमालेले बताएको छ । ‘विश्वको नक्शा पल्टाएर देशको राजधानी हेरेर मात्रै राजधानी बीचमा नभए पनि हुने रहेछ भन्ने यथार्थतालाई हृदयंगम गरी हेटौंडालाई प्रदेश ३ को स्थानीय राजधानी बनाउने निर्णय गर्नु उपयुत्त, हुने कुराप्रति गम्भीर ध्यानाकर्षण गराउँदछौं’ ज्ञापनपत्रमा भनिएको छ ।

काभ्रे भक्तपुर र नुवाकोटमा राजधानी बनाउन भनी प्रदेशसभामा प्रस्तावहरु पेश भएपपिछ राजधानी सर्ने आशंका बढेको भन्दै एमालेले नसार्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्र बुझाउने एमाले टोलीमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देल, उपसचिव एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment