Comments Add Comment

देउवालाई महतको मोहनी ! पौडेल पक्षले पाएन सहमहामन्त्री

२१ वैशाख, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी मनोनयन गरेका छन् ।

विमलेन्द्र निधि उपसभापति हुँदा पूर्णबहादुर खड्का महामन्त्री र डा. प्रकाशशरण महत सहमहामन्त्री बने । तर, निर्णयको पौडेल समूहले विरोध गरेका छन् ।

पौडेल समूहले मागेको थियो सहमहामन्त्री

देउवाले चुनावी समीक्षा सकिएकै भोलिपल्ट पदाधिकारी मनोनयन गर्न चाहेका थिए । तर, पौडेल समूहले विधान विपरित हुने भन्दै विरोध गर्दै बैठक बहिस्कारको धम्की दिएपछि महामन्त्री शशांक कोइरालाको पहलमा बैठक स्थगित भयो ।

तर, योबीचमा सहमतिका लागि पहल खासै भएन । सभापति देउवाले उपसभापतिमा निधि र महामन्त्रीमा खड्कालाई मनोनयन गर्ने पक्का भइसकेको थियो । विधानको कुरा गर्दै गर्दा पौडेल समूहले सहमहामन्त्री पनि आफ्नो समूहले पाउनु पर्ने दाबी गरेको थियो । पौडेल समूहमा सहमहामन्त्रीका लागि मिनेन्द्र रिजाल, महेश आचार्य, दिलेन्द्र बडू र नविन्द्रराज जोशी आकांक्षी थिए ।

केन्द्रीय समितिको बैठकअघि शुक्रबार विहान बसेको गुटको बैठकमा पनि पौडेलले सहमति गर्न चाहेका थिए । तर, महामन्त्री शशांक कोइरालाले आफूले पार्टी सभापति देउवालाई सहमतिका लागि भनेको तर, खासै मिलाउने कुरा नगरेको सुनाए ।

गुटको बैठकमा प्रकाशमान सिंहले भने विरोध गरे । मिलाउने नाममा विधान विपरितको संरचना मान्दा के हुन्छ भन्दै आफूले संसदीय समितिमा देखेर आइसकेको भन्दै उनले भनेका थिए, ‘अब म मिलाउने नाममा सहमति गर्दिनँ ।’

युवा नेताहरुको समूहले पनि सहमहामन्त्री लिए आपत्ति नहुने तर, विधान अनुसार हुनुपर्ने मत राखे ।

आफ्नो गुटमा देखिएको मतअनुसार पौडेलले केन्द्रीय कार्यसमिति बसेर विधानको धारा ५० अनुसार बाधा अड्काउ फुकाउ गरेर पदाधिकारी मनोनयन गर्ने प्रस्ताव राखे । साथै सहमहामन्त्री आफ्नो समूहले पाउनु पर्ने उनको दाबी थियो ।

पौडेलको सहमति लिएर अघि बढ्दा देउवाले बाधा अड्काउ फुकाएर होस् वा सहमति गरेर होस्, सहमहामन्त्री दिनुपर्ने भयो । तर, देउवाले सहमहामन्त्री दिन चाहेनन् ।चुनावी समिक्षा बैठकको निर्णयलाई बहुमतको भन्दै सार्वजनिक रुपमा विरोध गरेपछि देउवा वरिष्ठ नेता पौडेलसँग निकै रिसाएका हुन् । त्यसैले उनले बहुमतका आधारमा पदाधिकारी मनोनयन गरे ।

देउवालाई महत नभई भएन

स्रोतका अनुसार पौडेल समूहको विरोध हुने भएपछि महामन्त्री शशांकले अहिलेलाई उपसभापति मात्र मनोनित गर्न पनि पार्टी देउवालाई सुझाएका थिए । तर, उनले ठाडै अस्वीकार रगरे । प्रकाशशरणलाई सहमहामन्त्री बनाउनु पर्ने भन्दै उनले महत नै नआउने भए किन मनोनयन गर्ने भन्दै कडि्कएका थिए ।

महतप्रति महामन्त्री कोइराला पनि सकारात्मक नै छन् । त्यसैले पदाधिकारी मनोनयन उनले कुनै टिप्पणी गरेनन् ।

बैठकमा पौडेल समूहका नेताहरु केही मात्र थिए । उपस्थितमध्ये प्रकाशमान सिंहले फरक मत मात्र राखेनन्, महेश आचार्यले फरक मत राखे तर, निर्णयमा सही गरे । आनन्द ढुंगानाले भने सहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment