Comments Add Comment

एल क्लासिको : अपराजित बार्सिलोना कि रियल मड्रिडको साख ?


२३ वैशाख, काठमाडौं । क्लब फुटबलमै सबैभन्दा ठूलो मानिने एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडको आज आमने सामने हुँदै छन् । बार्सिलोनाले उपाधि जितिसकेपछि हुन लागेको एल क्लासिको इतिहासकै पहिलो हो ।

ला लिगामा आज राति साढे १२ बजे बार्सा र मड्रिडको खेल हुँदैछ । सिजनकै अन्तिम एल क्लासिको जितेर बार्सा ला लिगामा अपराजित रहन चाहन्छ । जहाँ ला लिगामा कमजोर देखिए पनि च्याम्पियन्स लिग फाइनलमा पुगेको मड्रिड आफ्नो दबाब फर्काउने दाउमा हुनेछ ।

एल क्लासिकोमा बार्सिलोनाका लागि घरेलु मैदानमा नतिजा राम्रो छैन । घरेलु मैदानमा भएका पछिल्ला तीन एल क्लासिकोमा बार्साले जित निकाल्न सकेको छैन । दुई खेल गुमाएको छ, एकमा बराबरी गरेको छ । बार्साले पछिल्लो पटक घरेलु मैदानमा रियल मड्रिडलाई हराएको सन् २०१५ को मार्चमा हो ।

अपराजित बार्सालाई रोक्ला मड्रिडले ?

ला लिगाको उपाधि उचालेको बार्सिलोना पूरै सिजन अपराजित छ । बार्सा अपराजित रहँदै ला लिगामा इतिहास बनाउन चाहन्छ । अब चार खेलमा अपराजित रहन सके बार्सिलोनाले नयाँ कीर्तिमान बनाउने छ ।

ला लिगामा गएको वर्ष उपाधि उचालेको रियल मड्रिड यसपटक कमजोर देखियो । च्याम्पियन बनेको बार्सिलोना भन्दा रियल मडि्रड १५ अंकले पछि छ । तर घरेलु लिगमा कमजोर देखिए पनि युरोपियन प्रतिस्पर्धामा भने मडि्रडको दबदबा कायमै छ ।

फाइनलमा पुगेको मड्रिड लगातार तेस्रो सिजन युरोपियन च्याम्पियन बन्दै कीर्तिमान बनाउने लयमा छ । मड्रिड ला लिगामा कमजोर बने पनि बार्सालाई अपराजित रहँदै कीर्तिमान बनाउनबाट रोक्न चाहन्छ ।

विगतलाई हेर्दा

गएको डिसेम्बरमा रियल मड्रिड र बार्सिलोना आमने सामने भएका थिए । ला लिगा अन्तर्गत घरेलु मैदानमै भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिड बार्सिलोनासँग ३-० ले हारेको थियो ।

सबै प्रतियोगितामा गरेर अहिलेसम्म २३७ पटक एल क्लासिको भएको छ । यसमा रियल मड्रिड ९५ तथा बार्सिलोना ९३ खेलमा विजयी भएका छन् । ४९ खेल बराबरीमा रोकिएको छ । एल क्लासिकोमा रियल मड्रिडले ३९९ र बार्सिलोनाले ३८७ गोल गरेका छन् ।

प्रतिष्ठाको लडाइँ

बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको खेल क्षमता तुलना गर्ने विश्वभरका समर्थकले गर्दा पनि एल क्लासिको विशेष बनेको छ । त्यसमा पछिल्लो समय राजनीतिक मुद्दा जोडिँदा पनि खेल प्रतिष्ठाको लडाइँ भएको छ ।

पछिल्लो समय क्याटालोनिया विवाद र त्यसमा स्पेनिस राजधानी मड्रिडको व्यवहारका कारण दुई क्लबबीचको खेललाई राजनीतिक हार जितको रुपमा त्यहाँका समर्थकले बुझ्छन् । बार्सिलोनाको जित स्वतन्त्र क्याटालोनियाको अभियानमा उत्सव बन्छ भने रियल मड्रिडको जित एकीकृत स्पेनको पक्षमा उर्जाको रुपमा रहन्छ ।

आइतबार रातिको एल क्लासिकोलाई बार्सिलोनाका आन्द्रेस इनेस्टाको अन्तिम एल क्लासिकोका रुपमा पनि सम्भिmने छ । इनेस्टाले यो सिजनको अन्त्य सँगै बार्सिलोना छोड्ने बताइसकेका छन् ।

केही तथ्य

क्याम्प नाउमा क्रिष्टियानो रोनाल्डोले बार्सासँगको गएको ११ खेलमा ११ गोल गरेका छन् । उनले गरेका सबै ११ गोल डिबक्स भित्रबाट हानिएको प्रहारमा भएको थियो ।

एल क्लासिकोमा मेस्सी रोनाल्डोभन्दा अघि छन् । ३७ खेल खेलेका मेस्सीले २५ गोल गरेका छन् । १७ पटक जितेका छन् । उनी एल क्लासिकोका सर्वाधिक गोलकर्ता पनि हुन् । २९ खेलमा १७ गोल गरेका रोनाल्डोले ८ पटक जितेका छन् ।

ला लिगामा रियल मड्रिडका सर्जियो रामोसले हेडमार्फत सबैभन्दा धेरै गोल गरेको बार्सिलोनाविरुद्ध नै हो । उनले बार्साविरुद्ध हेडमार्फत ४ गोल गरेका छन् ।

सन् २०१४ मा बार्सिलोना आएपछि लुइस स्वारेजले रियल मड्रिडविरुद्ध ला लिगाको सात खेलमा गरेको पाँच गोल त्यसयता एक खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।

एल क्लासिकोमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान मड्रिडका बेन्जेमाको नाममा छ । उनले सन् २०११ मा २१ सेकेण्डमा गोल गरेका थिए ।
इनेस्टाले गोल गरेको कुनैपनि एल क्लासिकोमा बार्सिलोना पराजित भएको छैन ।

सम्भावित ११

बार्सिलोना – टेर स्टेगेन, रोबर्टो, पिके, उमटिटी, अल्बा, कोटिन्हो, र्‍याकिटिक, बुसकेट्स, इनिएस्टा, मेस्सी, स्वारेज

रियल मड्रिड – नाभास, नाचो, भराने, रामोस, मार्सेलो, मोडरिक, क्यासेमिरो, क्रुस, इस्को, रोनाल्डो, बेन्जेमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment