Comments Add Comment

परमिता भन्छिन्ः आयूष्मान र प्रियंकाको जोडी गज्जब

नायिका प्रियंका कार्कीका व्वाइफ्रेन्ड आयूष्मान देशराजकी पूर्वप्रेमिकाका हुन् परमिता राज्यलक्ष्मी राणा । तर, यति मात्रै भन्दा उनीमाथि अन्याय हुन्छ । किनकी उनी स्वयम् एउटी उदयमान नायिका हुन् ।

‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी परमिता अहिले फिल्म चंगाचेटको सुटिङ सिध्याएर बसेकी छिन् । यो फिल्ममा आयूष्मान र प्रियंका मुख्य भूमिकामा छन् । आफ्नो पूर्वप्रेमी र उनकी प्रेमिकासँगै काम गर्दा कत्तिको सकस भयो होला उनलाई ?

‘अहँ, मलाई त रमाइलो लाग्यो,’ परमिताले भनिन्, ‘आयूष्मान र प्रियंका दुवैसँग सहज भएर काम गरेँ । हामीबीच रमाइलो कुराकानी र हाँसोठट्टा हुन्थ्यो, अप्ठेरो पटक्कै लागेन ।’

यद्यपि, फिल्ममा आयुष्मान र परमिताको एउटा पनि कम्बाइन सिन छैन । फिल्ममा आयुष्मान र प्रियंका, सन्दिप क्षेत्री र परमिता तथा रवीन्द्र झा र सुरक्षा पन्त जोडी छन् । बरु प्रियंका र परमिता एउटा गीतमा सँगै देखिनेछन् ।

सुटिङका क्रममा प्रियंकासँग उनको राम्रो बोन्डिङ भएको थियो । प्रियंकाले सुटिङ स्पटमा खिचिएको उनीहरु दुईको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

‘प्रियंका दिदीसँग मेरो पहिलेदेखि नै चिनजान थियो, यो फिल्ममा सँगै काम गरेपछि हामी एक-अर्कासँग राम्ररी घुलमिल भयौं,’ परमिताले भनिन् ।

परमिताका अनुसार उनले ‘सरंग’ नाम फिल्ममा काम गर्दा उनले प्रियंकालाई चिनेकी हुन् । त्यो फिल्ममा परमिताको छोटो रोल थियो ।

आयूष्मान र परमिता फिल्म ‘चपली हाइट-२’ मा सँगै काम गर्दा प्रेममा परेका थिए । तर, उनीहरुको प्रेम लामो समय टिक्न सकेन । ‘कथा काठमाडौं’ मा प्रियंकासँग काम गरेपछि आयूष्मान परमितासँग टाढिए । प्रियंकाका लागि आयूष्मानले आफ्नी प्रेमिकालाई धोका दिएको भनेर गसिपहरु आएका थिए त्यतिबेला ।

तर, परमिता भने आफूहरु आपसी सहमतिमै छुट्टएिको बताउँछिन् ।

‘धोका दिएको भन्नै मिल्दैन, हामी विचार नमिलेपछि सहमतिमा अलग्गिएका हौ,’ उनले भनिन् ।

आयूष्मानले प्रियंकालाई पाएपछि आफूलाई छोडेको नभई आफूसँग छुट्टएिपछि प्रियंकासँग नजिकिएको परमिताको दावी छ ।

‘हामीबीच कहिल्यै नराम्रो भएन र हुँदा पनि हुँदैन,’ परमिताले भनिन् ।

प्रियंकासँग आयूष्मानको जोडी सुहाएको उनले बताइन् ।

‘उहाँहरु सँगै हुँदा निकै खुशी देखिनुहुन्छ,’ परमिताले भनिन्, ‘मलाई कुनै ईश्र्या हुँदैन, बरु राम्रो लाग्छ । म यो जोडीको प्रेम सफल होस भनेर दिलैदेखि शुभकामना दिन चाहन्छु ।’

आयूष्मानसँगको ब्रेकअपपछि परमिताले धेरै समय खाली बस्नु परेन । छिट्टै उनले अर्को प्रेमी भेट्टाइन् । आफ्नो नयाँ प्रेमीलाई केही दिनअघि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । नयाँ प्रेमीको विषयमा केही खुलाउन नचाहे पनि उनी फिल्म क्षेत्र बाहिरको भएको र आफूहरु एक वर्षदेखि अफेयरमा रहेको परमिताले बताइन् ।

बिहेको विषयमा भने उनले केही सोचेकी छैनन् । अबको १० वर्षपछि मात्रै बिहे गर्ने उनको योजना छ ।

‘अहिले भर्खर त २४ वर्ष भएँ, ३०-३५ वर्ष भएपछि मात्रै बिहे गर्ने हो । अब १० वर्ष करिअरमै फोकस गर्छु,’ परमिताले भनिन् ।

परमिता चाँडै नै फिल्म ‘रोजी’ मा व्यस्त हुँदैछिन् । २ दिनपछि यो फिल्मको वर्कसप सुरु हुँदैछ । साथै उनले अभिनय गरेको फिल्म द कर्मा भदौमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment