रौतहट, २४ वैशाख । रौतहटमा बाढी पीडित ६ सय परिवारलाई सोमबार जस्तापाता वितरण गरिएको छ ।
गौर नगरपालिका, परोहा नगरपालिका तथा यमुनामाई गाँउपालिका का ६ सय घरधुरीलाई कतार च्यारिटिको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले जस्तापाता वितरण गरेको हो ।
बाढी पछिको पुनर्स्थापना कार्यक्रम अन्तर्गत रौतहटका दुई नगरपालिका र एक गाउँपालिकाका परिवारलाई राहत प्रदान गरिएको गैरसरकारी संस्था आरडीसीका अध्यक्ष पारस हुसेनले बताए । बाढीबाट घर क्षतिग्रस्त भएर अझै पनि कष्टपूर्ण जीवन बिताइरहेका विपन्न परिवारलाई घरमा छाना हाल्न जस्ता प्रदान गरिएको उनले बताए ।
गत साउन महिनामा आएको भीषण बाढीमा घरबारविहीन भएका झुनखुनवाका ७० परिवारलाई समेत जस्तापाता वितरण गरिएको हुसेनले जानकारी दिए ।
गत साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउदा हजारौ परिवारहरु विस्थापित भएका थिए ।
बाढीका कारण सम्पत्ति र घरवार बिहीन भएकाहरु अझै पनि दयनीय अवस्थामा छन् । बाढी आएको एक वर्ष हुन लाग्दा तथा अर्काे वर्षायाम सुरु हुने समय भइ सक्दा पनि सुरक्षित बास नपाएका परिवारलाई जीवन धान्न गाह्रो भएको स्थानीयको भनाइ छ ।
कतार च्यारिटिकै सहयोगमा यमुनामाई उच्च माध्यमिक विद्यालय झुन्खुन्वामा अध्यनरत एक हजार छात्रछात्राहरुलाई कपी, कलम, पेन्सील, स्कुल ब्यागसहितका शैक्षिक सामग्री समेत प्रदान गरिएको छ ।
प्रतिक्रिया 4