
२५ वैशाख, विराटनगर । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ ।
आचार्य सोमबार पक्राउ परेका थिए । तर, के मुद्दा लगाउने भन्ने तय भएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दा चलाइने अनलाइनखबरलाई बताए ।
उनका अनुसार अचार्यलाई म्याद थपका लागि आजै जिल्ला प्रशासनमा लगिँदैछ ।
गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।
हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता-धर्मगुरुहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् ।
प्रहरी हिरासतमा रहेका आचार्यले भने बोल्न मानेका छैनन् ।
गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला अज्ञात समूहले गोली हानेर आचार्यलाई घाइते बनाएको भनेर हल्ला फैलाइएको थियो । दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको अवस्थामा भेटिएका आचार्यलाई उपचार गर्न विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
घटनास्थलमा भने ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा छरिएको थियो ।
सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य चैत २४ गते विराटनगर आएका थिए । विराटनगर जतुवाकी शिष्य अनिता ढकाल यादवसहितको टोलीले आयोजना गरेको श्रीमद भागवत सप्ताहमा उनी मुख्य पुराण बाचकको रुपमा सहभागी हुने भनिएको थियो ।
यो पनि पढ्नुहोस्
धार्मिक हिंसा भड्काउन चाहन्थे आचार्य श्रीनिवास !
आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा
आचार्य श्रीनिवास खतरा मुक्त, घटनास्थलमा भेटियो मंगोल आर्मीको पर्चा
प्रतिक्रिया 4