Comments Add Comment

‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्ने भारतीय गिरोह सक्रिय

दुई भारतीय नागरिकसहित ५ जना समातिए

२७ वैशाख, काठमाडौं । भारतीय रियालिटी शो ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्न भारतीय गिरोह सक्रिय रहेको खुलेको छ । र, उनीहरूले नेपाली नागरिकलाई प्रयोग गरेर रकम सङ्कलन गर्ने गरेको भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाले ईमो र फेसबुकमार्फत २५ लाख रुपैयाँ चिठ्ठा परेको भनेर इलामको सोयाङ्ग घर भइ ललितपुर–२४ बस्दै आएका रविन खत्रीले ठगी गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा ठगीमा भारतीय गिरोह सक्रिय रहेको खुलेको हो ।

अनुसन्धानको क्रममा गौशाला प्रहरीले दुई भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनुसार निजहरुको खोजतलास गर्दा भारतीय कार्ड नं. ८८३६७०७९६७७८ बाहक नितिश कुमार, भारतकै २८ वर्षीयको बेलाल अहमद, नेपाली नागरिक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ घर भएका २४ वर्षीय सञ्जय लामा, सोही ठाउँका २० वर्षीय सञ्जिव लामा र ललितपुरका खत्री छन् ।

खत्री बाहेक अन्यलाई रुपन्देहीको सिद्धार्थनगर–१, वेलहियास्थित नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

वृत्तका डिएसपी अनुपम श्रेष्ठका अनुसार खत्री चाबहिलस्थित एक आईएमई सेन्टरबाट रकम निकाल्न लागेको वेलामा पक्राउ परेका थिए । उनले अन्य व्यक्तिहरुलाई समेत चिठ्ठा परेको र त्यसलाई प्राप्त गर्न अग्रिम केही रकम जम्मा गर्नु पर्ने भनेर झुक्याएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको श्रेष्ठको भनाइ छ ।

खत्रीले मानिसलाई चिठ्ठा परेको बताएर रकम सङ्कलन गरेर त्यसवापत कमिसन लिने गरेको पाइएको छ । उनले हालसम्म १० पटक रकम निकालेको भेटिएको जनाइएको छ ।

भारतीय गिरोहले म्यासेज पठाउने र योजना बनाउने लगायतका कार्य गर्ने र रकम पठाउने ठेगाना पठाउने गरेकोमा खत्रीले त्यस रकम विभिन्न मनी ट्रान्सफरबाट सङ्कलन गर्ने गरेको खुलेको छ ।

पक्राउ परेका पाँचै जनालाई ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment