Comments Add Comment

रुप फेर्ने तयारीमा वीर अस्पताल, यसरी हुँदैछ अहोरात्र काम

२७ वैशाख, काठमाडौ । सरकारी अस्पतालको शौचालय भन्ने बित्तिकै डुङडुङति गन्हाउने, खुट्टै टेक्न सकस लाग्ने अवस्थाको कल्पना गरिन्छ । केही दिनअघिसम्म देशकै जेठो वीर अस्पतालको हालत पनि योभन्दा फरक थिएन ।

तर हिजोआज वीरको शौचालय टेक्नेहरु आश्चर्यचकित हुन थालेका छन् । शौचालयबाट दुर्गन्ध बेपत्ता भएको छ भने दिसापिसाब गर्ने प्यान-कमोडहरु टिलिक्क टल्किएका छन् । नाक थुन्दै भित्र पस्नुपर्ने अवस्था अन्त्य भएको छ ।

शौचालय त सुरुअात मात्र हो । वीर अस्पताल चाँडै नै आफ्नो रुपरंग फेर्ने तयारीमा छ । यहाँ सरसफाइदेखि रंग रोगनका कामहरु धमाधम भइरहेका छन्, जसको संयोजन गरेका छन् हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले । उनी २४ सै घन्टा अस्पतालमै अड्डा जमाएर सरसफाइ र रंगरोगनमा जुटिरहेका देखिन्छन् ।

‘यहाँ पनि मोदी आउने रहेछन् कि क्या हो ?’ वीर अस्पतालको चौंथो तल्लामा उक्लिनासाथ एक आगन्तुकले भने ।

वीर अस्पतालको इएनटी विभागमा कार्यरत नर्स शारदा भट्टराईले भन्दै थिइन्, ‘धुर्मुस-सुन्तलीले अस्पताल सफा गरिरहेको छ भन्ने सुनेर माथि आएको । नभन्दै दुलही जस्तै बन्न लागेको रहेछ ।’

खेम्स क्लिनिङ्ग र धुर्मुस-सुन्तली फाउण्डेशनले वीर अस्पतालको सफाइ अभियान सुरु गरेका थिए ।

सफाइ मात्र गरेर चित्त नबुझेर धुर्मुसले रंगरोगन समेत गर्ने प्रस्ताव गरे । अस्पताल व्यवस्थापन सहमत भएपछि उनले आफ्नै २ लाख रुपैयाँबाट रंग किनेर काम सुरु गरिहाले ।

परिवर्तनका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई खेम्स क्लिनिङ, बागमति सफाई अभियानका अभियन्ता, टेलिसिरियल भद्रगोलको टिम, सिस्नोपानी समूह, मह जोडी लगायतले सघाउँदै आएका छन् ।

अहिले वीर अस्पतालमा रङ्गरोगनको काम २४ अै घण्टा सञ्चालन भइरहेको छ । अस्पतालका झ्याल तथा भित्ताहरु पहेलो र निलो रङ्गले पोतिन थालेको छ । भित्ताहरुमा असरल्ल फैलिएको तारलाई लिस्टीले बाध्ने काम भइरहेको छ । बिरामी तथा अगन्तुकको चापका कारण सरसफाइको काम भने राती आठ बजेदेखि बिहान तीन बजेसम्म गरिन्छ ।

यसको लागि अस्पतालको तर्फबाट दश कर्मचारी तथा अभियन्ताका तर्फबाट १५ स्वयंसेवी गरी जम्मा २५ जनाको समूहलाई चार बेग्लाबेग्लै समूहमा विभाजन गरिएको छ । त्यसमा अन्य स्वयंसेवीहरुले पनि बेला-बेलामा सघाउँदै आएका छन् ।

अस्पतालमा हुन लागेको परिवर्तनले सेवाग्राहीहरुलाई खुशी त बनाएको छ नै अस्पतालका कर्मचारीहरुलाई समेत उत्साहीत बनाएको छ ।

अस्पतालको सामाजिक सेवा इकाईकी सम्झना लामिछाने भन्छिन्,’यहाँका कर्मचारीले दिनमा दुईदेखि तीन पटकसम्म सरसफाइ गर्दै आएका थिए । तर, धुर्मुस-सुन्तलीले अभियानमा साथ दिनासाथ अस्पतालको रुप अर्कै भएको छ ।’

धुर्मुसले १५ दिनमा वीर अस्पतालको सरसफाई र रंगरोगन सक्ने लक्ष्य लिएको बताए । त्यसपछि सरसफाइलाई निरन्तरता दिने जिम्मेवारी अस्पतालकै कामदारहरुलाई हस्तान्तरण गरिनेछ । वीरपछि ट्रमा सेन्टरको सरसफाइमा जुट्ने धुर्मुसको भनाइ छ ।

‘देशकै नमूना अस्पताल बनाउने सोचका साथ स्वास्थ्य राज्यमन्त्रीज्यूको पहलमा यो कामको थालनी भएको हो,’ उनले भने, ‘यो काम नसकेसम्म मैले आफ्नो सम्पूर्ण समय अस्पताललाई नै दिनेछु । मरिमेटेर लागेपछि परिवर्तन असम्भव हुँदैन ।’

   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment