३० वैशाख, पोखरा । कुनै गुनासो लिएर पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई भेट्न जाँदै हुनुहुन्छ भने तपाईं दुःखी भएर फर्किनु पर्दैन । मेयरसा’बले हँसिलो अनुहार पारेर भनिदिन्छन्, ‘हुन्छ, भइहाल्छ नि ।’
तपाईं रिसाउँदै ‘यो त भएन नि मेयर सा’ब । गर्छु भनेर अहिलेसम्म गर्नुभएन ? भन्नुभयो भने पनि जिसीले भन्नेछन्, ‘भन्नेबित्तिकै कहाँ हुन्छ र ? केही दिन पख्नुस् ।’
सडकमा खाल्डा पर्यो, बाटो मर्मत गर्नुपर्यो । जे भन्नुहोस् मेयर जिसीले हुँदैन, गर्दिनँ, थाहा छैन भन्दै भन्दैनन् । नगरपालिकाकाकै एक जना कर्मचारीले भन्छन्, ‘कोही कुट्छु, मार्छु भन्दै आए पनि हाम्रा मेयरसा’बले हाँसेर हुन्छ भन्छन् ।’
तर, हुन्छ, गर्छु-गर्छु, मलाई थाहा छ भन्दाभन्दै वर्ष दिन वित्यो र अपेक्षाअनुसार काम नभएपछि पहिले मेयर ठीक छन् भन्नेबाटै जिसीको आलोचना हुन थालेको छ ।
महानगरकोे समृद्धिका लागि अनेक नारा दिएर चुनाव जितेका उनले शंखेकीरा शैलीमा काम गरिरहेका छन् । मेयरको सुस्त कदमले विकासको दृष्टिकोणले महानगर पछाडि परिरहेको जनगुनासो बढ्दै गएको छ भने उनीमाथि दबाव पनि चर्को परिरहेको छ ।
मेयर मानबहादुर जिसीले चुनावी नाराभन्दा बढी सरल व्यक्तित्व र इमान्दार छवि भएका कारण बढी मत पाए । उनीप्रति पोखरावासीको विश्वास थियो, ‘मान्छे असल छन्, यीनले कम्तिमा बिगार्दैनन् ।’ उनी आफैं त बिगार्दैनन् तर, बिगार्नेहरुलाई पनि रोक्न सकेनन् भने पोखरा त पोखराजस्तो रहँदैन भन्ने चिन्ता यतिबेला सरोकारवालामा छ ।
पर्यटकीय नगरी पोखराका मेयरको चुनावमा जिसी जसरी लोकप्रिय मतका साथ विजयी भएका थिए, त्यसरी नै जनताको मन जित्ने काम गरुन् भन्ने जनअपेक्षा थियो ।
काम गर्नुपर्छ, नत्र पाँच वर्षपछि जनताले दण्डित गर्छन् भन्नेमा मेयर सचेत छन् । ‘पाँच वर्षमा केके गर्ने भनेर घोषणा गरेका थियौं । त्यो हामी गछौर्ं गरेरै छोड्छौं,’ मेयर जिसीले भने, ‘यतिकै पाँच वर्ष बिताउने हामीलाई छुट छैन । अहिलेसम्म हामीले एउटा आधार तयार पार्यौं अब जनताले काम देख्नेछन् ।’
तर, कामको गति बढाउनै सकेनन् । निर्णय गर्ने र त्यसलाई कार्यान्वयनमा लैजान मेयर जिसी कमजोर देखिएका छन् ।
पहिलो गासमै ढुंगा
मेयर जिसीले जेठ १४ गते आइतबार सपथ लिँदै लोकपि्रय हुने खालको पहिलो प्रतिवद्धता गरे । मेयर जिसीले वृद्धभत्ता बढाउने निर्णय गरे । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले प्रदान गर्ने वृद्धभत्तामा १० प्रतिशत थप गरीदिने मेयर जिसीले निर्णय गरेपछि सुरुमै उनको आलोचना भयो ।
प्रशासनिक तथा सेवाप्रवाहमा सुधार छाडेर सस्तो लोकप्रियको निर्णय गरेको भन्दै उनी आलोचित भए । देशका अन्य नगरपालिकाले पनि धमाधम वृद्धभत्ता बढाउने निर्णय गरेपछि सरकारले ‘अनुदानको रकमबाट वृद्धभत्ता नबढाउनू’ भन्ने आदेश नै जारी गर्यो । तर, मेयर जिसीले भने निर्णयबाट पछि नहट्ने बताउँदै आन्तरिक स्रोतबाट १० प्रतिशत थपेर बृद्धभत्ता वितरण गर्दै आएका छन् ।
पोखरा महानगरमा १३ हजार १०७ ज्येष्ठ नागरिक छन् । ज्येष्ठ नागरिकले प्रतिमहिना पाउने २ हजार रुपैयाँको १० प्रतिशत २ सय रुपैयाँ हुन आउँछ । जसअनुसार प्रतिमहिना २६ लाख २१ हजार ४ सय रुपैयाँ र प्रतिवर्ष ३ करोड १४ लाख ५६ हजार ८ सय पोखरा महानगरले वृद्धभत्तामा खर्च गर्दै आएको छ ।
कमजोर कार्यान्वयन, गुनासो र आलोचनाको पोको
मेयर मानबहादुर जिसीले घोषणा गरेका थिए, ‘म मेयरको कुर्सीमा बसिसकेपछि कुनै पनि संघसंस्था, व्यापारी लगायतको स्वागत, बधाइ, सम्मान लिन्नँ ।’ तर, कार्यक्रम जान छाडेनन् । दिनमै सम्मान र बधाइका ५/७ वटासम्म कार्यक्रममा पुगे । उनी दोहोरीसाँझको युवा क्लबसम्मको बधाइ खान दौडिए ।
महानगरको काम छाडेर बधाइ तथा सम्मानमा जान थालेपछि जनस्तरबाटै धेरै गुनासो र आलोचना भयो । फोहोर उठाउने गाडी ठेकेदार कम्पनीलाई बुझाएर सडकमा थुप्रिएको फोहोर हेर्दै सुन्दरी प्रतियोगिताको चिफ गेस्ट हुन पुगे । गुजमुज्ज परेका बिजुलीका तार, एम्बुसजस्ता सडक र ट्राफिक जाम छिचोल्दै स्मार्ट सिटीको भाषण ठोक्न कुदेको भन्दै जनस्थलबाटै आलोचित भए ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि पृथ्वीचोक लगायतका स्थानका आइल्यान्डहरु रातारात हटाइयो । ट्राफिक जाम हुने मुख्य चोक खाली भएपछि सहज बनेको भन्दै स्थानीय खुसी भए । तर, लखन थापाको शालिक हटाएको भन्दै आदिवासी जनजातिले आन्दोलन गरे । एमाले पार्टीकै दबावमा शालिक बनाउने सहमति गरे ।
हटाइसकेको शालिक फेरि राख्ने भनेपछि क्षेत्री समाज लगायतले अनसन थाले । मेयरले फेरि उनीहरुसँग पनि नबनाउने सहमति गरेर आन्दोलन टुंग्याए । एउटा पक्षसँग सालिक बनाउने र अर्को पक्षसँग नबनाउने सहमति गरेपछि पोखरामा मेयरको व्यापक आलोचना भयो । अहिलेसम्म पनि पृथ्वीचोक उस्तै अलपत्र अवस्थामा छ ।
लामो समयदेखि स्थानीय निकाय चलाउँदै आएका कर्मचारीको घेरा तोड्नै मेयर जिसीलाई फलामको चिउरा चपाउनुजस्तो भएको छ
सडक विस्तार र छाडा चौपाया व्यवस्थापनमा पनि मेयर जिसीको काम त्यस्तै देखिएको छ ।
कर्मचारी र पार्टीको असहयोग
मेयर मानबहादुर जिसीसँग काम गर्ने इच्छाशक्ति छ । पाँच वर्ष नेतृत्व गरेर छोड्दा पोखरा व्यवस्थित तथा समुन्नत बनाएरै छोड्ने मेयर जिसीको प्रतिवद्धता छ । तर, लामो समयदेखि स्थानीय निकाय चलाउँदै आएका कर्मचारीको घेरा तोड्नै मेयर जिसीलाई फलामको चिउरा चपाउनुजस्तो भएको छ ।
आफूले नीतिलाई अबलम्बन नगरिदिने र हामी नभइ कसरी चल्छ भन्ने कर्मचारीको दम्भले मेयरलाई अप्ठ्यारोमा पारेको छ । मेयर जिसीले प्रशासनिक तथा सेवाको शैली परिवर्तन गराउन कोसिस गर्दा कर्मचारीबाटै असहयोग पाए ।
‘स्थानीय निकाय छँदा ठाडो तोक लगाएर नियुक्ती गरेका कर्मचारी पनि छन् । एकछत्र राज गरेका कर्मचारीलाई एकै ठाउँमा ल्याएर काम लगाउनै गाह्रो बन्यो,’ मेयर जिसीले भने, ‘सेवाग्राहीको सेवा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नुभन्दा पनि कसरी मेयरलाई अप्ठेरोमा पार्न सकिन्छ भन्ने कर्मचारी पनि ।’
हिजो मन लागेको ठाउँमा योजना मिलाइदिने, त्यसबापत कमिसन लिने महाशाखा प्रमुख पनि छन् । अहिले तिनले त्यसो गर्न नपाउँदा मेयरको सहयोगी बन्न अझै सकेका छैनन् । मेयर मानबहादुर जिसी आइसकेपछि मात्रै २ जना कर्मचारी घुससहित समातिए । एमाले निकट कर्मचारीले समेत उनलाई अप्ठ्यारो पार्ने, कार्यालयका फाइल अगाडि नबढाइदिने गर्दा मेयर आजित बनेका थिए ।
‘मेयर सबै कर्मचारीलाई मिलाएर पोखराको हितमा काम गर्न चाहन्छन् तर, कतिपय कर्मचारी नै उनको बाधक छन्,’ मेयरनिकट एक कर्मचारीले बताए ।
स्वार्थ लिएर आउनेसँग मिल्ने, काम गर्नै अप्ठ्यारो पार्ने र मेयरलाई आफ्नो पक्षमा पार्न खोज्ने कर्मचारीको घेरा तोडेर बाहिर निस्कनै मेयर जिसीलाई चुनौतिपूर्ण बनेको छ ।
कर्मचारीमात्रै होइन, जिसीलाई पार्टीबाट पनि सहयोग मिलेको छैन । विकासका लागि सहयोग र सहकार्य हुनुपर्ने पार्टीबाटै उनी एक्लिएका छन् ।
ससाना कामले शुभ संकेत दिर्नुपर्छ
पोखराका विभिन्न ठाउँमा सडक भत्किएका छन्, उस्तै खाल्डा परेका छन् । पार्किङको समस्या उस्तै छ । खानेपानी, प्राधिकरण, टेलिकम, ढल निकाससँग समन्वय नहुँदा लामो समयदेखि कतिपय सडक बिगि्रएका छन् । पोखरा सभागृहको हालत दयनीय छ ।
अस्तव्यस्त अवस्थामा मेयर बनेका जिसीले एकै पटक ठूला काम गर्छु भनेर बस्नुभन्दा ससाना कामबाटै शुभ संकेत दिनुपर्ने सरोकारवाला बताउँछन् । पोखराको दुई पटकसम्म मेयर बनेका सूर्यबहादुर केसी भन्छन्, ‘गर्भबाटै जानेर आएको कोही पनि हुँदैन । उहाँ राजनीतिमा लागेको मान्छे हो तर विकासमा त्यसरी हुँदो रहेनछ । तत्काल व्याप्त समस्या सुधारेर नयाँ गुरुयोजना लाग्नुपर्थ्यो, एकैपटक ठूलो काम गर्छु भनेर लाग्दा ढिलो हुन्छ ।’
सबैलाई सन्तुष्ट पार्न सकिँदैन तर, यति धेरै असन्तुष्टिका स्वर निस्कनु आफैं महानगरमाथि प्रश्न भएको केसीले बताए । ‘उहाँले गरेका काम प्रत्यक्ष पोखरासँग जोडिन्छ । समग्रमा पोखरा कता लैजाने हो ? त्यसको खाका एक वर्ष बितिसक्दा हातमा हुनुपर्थ्यो,’ प्रतिनिधि सभाका सदस्यसमेत रहेका केसीले भने ।
फेवातालको मापदण्ड मिच्ने संरचना भत्काउन सर्वोच्चको आदेश आएकै बेला खास मापदण्ड के हो ? व्यक्तिपिच्छेका फरक-फरक मापदण्ड हटाएर समान मापदण्ड लागु गरे जनताले सधैं सम्झने पूर्वमेयर केसीले सुझाव दिए ।
मेयर मानबहादुर जिसीले काम गर्ने प्रयास नै नगरेका भने होइनन् । उनले केही राम्रा कामको पनि थालनी गरेका छन् ।फिर्के खोलाको रेखांकन र मापदण्ड मिच्नेहरुको लगत संकलन गरेर फुट ट्रयाक बनाउने योजनामा छन् । पोखराका बिग्रिएका सडकमा रिसोलिङ गर्ने काम पनि भइरहेको छ । वडा कार्यालयसम्म इन्टरनेटको पहुँच बढाउने काम भइरहेको छ
एमाले कास्की अध्यक्ष तथा पूर्वमेयर कृष्ण थापा मेयरले आफ्नो टोली बनाएर कार्यान्वयनमा जान नसकेको बताउँछन् । ‘पोजेटिभ क्रियसन गर्न सक्ने र आफ्नो क्षमता देखाउने बेला नै यही हो । उहाँले अहिले राम्रो गर्नु भो भने अहिलेमात्र होइन भावी पुस्ताले पनि सम्झिरहन्छ,’ प्रदेशसभा सदस्यसमेत रहेका थापाले भने, ‘पार्टीको घोषणा पत्र ख्याल गर्नुपर्यो । अरुको कुरा सुनेर निर्णय लिनुभन्दा सही कुराका लागि निर्णय गरेर कार्यान्वयनमा जानुपर्यो ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विकास एक/दुई वर्षमै नहुने तर, छनक देखिनु पर्ने बताउँछन् । ‘सामान्य मान्छेले पनि हिजो र आजको तुलना गर्छ । त्यसमा खासै गर्न नसकिएको आवाज आइरहेका छन्,’ उनले भने ।
अझै बेला गएको छैन
मेयर मानबहादुर जिसीले काम गर्ने प्रयास नै नगरेका भने होइनन् । उनले केही राम्रा कामको पनि थालनी गरेका छन् । सुरुमा स्रोत र साधनको अभाव, कर्मचारी, दक्ष जनशक्ति खाँचो भएका बेला एक वर्षमै सिंगो कार्यक्रमको मूल्यांकन गर्नु अन्याय हुन्छ ।
महानगरले १७/१८ वटा कानुन बनाएको छ । महानगरलाई आवश्यक प्राविधिक परीक्षा लिएरै नियुक्त गरेको छ । कर्मचारीको काम गर्ने शैली बदल्न हरसम्भव प्रयास गरेका छन् ।
फिर्के खोलाको रेखांकन र मापदण्ड मिच्नेहरुको लगत संकलन गरेर फुट ट्रयाक बनाउने योजनामा छन् । पोखराका बिग्रिएका सडकमा रिसोलिङ गर्ने काम पनि भइरहेको छ । वडा कार्यालयसम्म इन्टरनेटको पहुँच बढाउने काम भइरहेको छ ।
‘यतिन्जेल हामीले प्रशासनिक सुधार र नीति निर्माणमै लाग्यौं । यो बीचमा नयाँ मापदण्ड तयार हुँदैछ । विज्ञहरुसँग विभिन्न विषयमा छलफल गरेर केही गुरुयोजना पनि बन्दैछन्,’ मेयर जिसीले भने, ‘अबको ४ वर्ष काम गर्ने समय हो ।’
मेयर जिसीले चुनावी बाचा पूरा गर्नका लागि अबको चार वर्ष पूरै दिलोज्यान दिएर लाग्ने बताउँछन् ।
एक वर्ष नीति, नियम बनाएर अब त्यसैका आधारमा काम गर्ने हो भने ४ वर्षमा पनि धेरै विकासको जग बसाल्न सकिने वाणिज्य महासंघका मुल्मीले बताए । ‘अहिलेसम्म आफैं अलमलिएको हो कि, कहाँबाट सुरु गरौं भन्ने अन्योलताले हो कि ? बुझ्न सकिएको छैन तर, अबको ४ वर्ष पनि काम गर्नका लागि पर्याप्त समय हो,’ मुल्मीले भने, ‘पोखरा बिग्रनु हुँदैन भन्ने हाम्रो चिन्ता हो । अब यो-यो गर्ने भनेर लाग्ने हो भने धेरै कुरा गर्न सकिन्छ ।’
विसं २०४१ र २०४६ मा आफू मेयर हुँदा जम्मा ७८ हजार जनसंख्या रहेको पोखरामा अहिले झन्डै ५ लाख पुगिसकेको अवस्थामा विकास पनि त्यही अनुरुप हुनुपर्ने केसीले बताए । ‘प्रदेशको राजधानी बनिसकेपछि पोखराको जिम्मेवारी र कर्तव्य पनि बढेको छ । अझै समय छ,’ उद्योगपतीसमेत रहेका केसीले भने, ‘हामी निजी क्षेत्र पनि मेयरज्यूलाई सघाउन तयार छौं ।’
पार्टीका तर्फबाट मात्रै नभएर आफ्नो अनुभवलाई पोखरासँग लगाउन आफू जहिले पनि तयार रहेको पूर्वमेयर थापाले बताए । ‘पोखरा बिग्रन्न दिन हुन्न भन्ने सबैलाई लागेको छ । बिग्रिसकेको पनि छैन,’ थापाले भने, ‘मेयर साबले चाहनुभयो भने म निःशुल्क कन्सल्ट्यान्टको रुपमा काम गर्न तयार छु ।’
यो पनि पढ्नुहोस्
पोखराका मेयर भन्छन्ः एक वर्षमा नीति बनायौं, अब चार वर्ष कामैकाम
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4