Comments Add Comment

प्रदेश ४ को सुरक्षा चुनौतिः विप्लव समूह र अवैधधन्दा

३० वैशाख, पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेकै दिन पोखरामा प्रदेश ४ को सुरक्षा गोष्ठी चल्दै थियो । गृहमन्त्री रामबहादुर थापा कार्यक्रममा सहभागी हुन पोखरामै थिए ।

थापा कार्यक्रमस्थलतिर लागेको केही बेरमै पोखरा विमानस्थलको गेटमै शंकास्पद वस्तु भेटियो । त्यसबारे समयमै जानकारी पाउँदा नेपाली सेनाको टोलीले शंस्कास्पद वस्तुलाई डिस्पोज ग¥यो ।

लगत्तै सुरु भएको प्रदेश ४ का सबै सुरक्षा अंगका प्रमुख सहभागी बैठकमा यो विषयले स्थान पायो । आइतबार पोखरासँगै प्रदेश ४ का तनहुँ, नवलपुर लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट तथा फेला परेका खबर आए ।

सुरक्षा बैठकमा गृहमन्त्री रामबहादुरले राजनीतिक आवरणमा यस्ता गतिविधि गर्ने कुनै पनि समूहलाई नछोड्न निर्देशन दिए ।

‘विप्लव होस् या अरु कुनै पनि समूह कसैलाई नछोड्नु निगरानी गर्नु, समाउनू,’ थापाले भने, ‘देशमा अब स्थायी सरकार आएको छ । यस्ता गतिविधिले अब विकास रोकिनु हुँदैन ।’

सुरक्षा र विकासलाई सँगसँगै लैजानै पर्ने भएकाले बीचमा आउने कुनै पनि तत्वलाई कुनै पनि बहानामा नछोड्न गृहमन्त्रीको निर्देशन दिए ।

‘यस्ता उच्छृंखल जत्था, तस्करी, भ्रष्ट र गुन्डागर्दी अब अन्त्य हुनुपर्छ,’ गृहमन्त्री थापाले भने, ‘सुरक्षाकै कारण कुनै पनि विकास निर्माण रोकिन नदिनुस् । कसैले गुन्डागर्दी र दलको आड लिएर रोक्न खोज्ने यो, ऊ नभनि तह लगानुस् ।’

सुरक्षा बैठकमा प्रदेश ४ का ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

संघीयतासँगै तिनै तहको सरकार सञ्चालन भइसकेको अवस्था कसरी सबै ठाउँमा सुरक्षाको प्रत्याभूति दिलाउने र अवैध गतिविधिलाई कसरी रोक्ने भन्ने विषयमा गोष्ठीमा छलफल भएको गृह मन्त्रालयका उपसचिव तथा सह–प्रवक्ता एकदेव अधिकारीले जानकारी दिए ।

‘तिनै तहको सरकारले काम थालिसकेको अवस्थामा प्रदेश ४ को सुरक्षा अवस्था के हो त ? यहाँका चुनौतिहरु केके हुन् ? भन्ने विषयमा जिल्लागत स्थितिबारे ब्रिफिङ भयो,’ सहप्रवक्ता अधिकारीले भने, ‘अवैध गतिविधि प्रमुख सुरक्षा चुनौतिको रुपमा देखिएको छ ।’

जिल्लागत अवस्था बुझिसकेपछि गृहमन्त्री थापाले गृह मन्त्रालयले व्यवस्था गर्नुपर्ने कुरा व्यवस्था गर्दै जाने र अहिले भइरहेको स्रोत र साधनको प्रयोग गरी पूर्ण सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

सुरक्षाकै कारण विकास पछाडि पर्ने अवस्था आउन नदिन सुक्ष्म अध्ययन र सुरक्षा समूहको सघन परिचलन गर्न उनले आग्रह गरे ।

राजनीतिक, धार्मिक वा कुनै पनि साम्प्रदायिक उछृङ्खल गतिविधि हुन नदिन हदैसम्मको सजकता अपनाउन गृहमन्त्रीले निर्देशन दिए ।

‘संस्थागत, समूहगत वा व्यक्तिगत कुनै पनि अवैधधन्दा चल्न नपाऊन्, गुन्डागर्दी र भ्रष्टाचार अन्त्य गर्न सुरक्षा क्षेत्र प्रमुख हो,’ गृहमन्त्री थापाले भने, ‘यातायात क्षेत्रको सिन्डिकेट हट्यो तर यस्ता प्रवृति हटेको छैन ।’

गृह मन्त्रालयको निर्देशन र सुधार योजनाका विषयमा पनि गोष्ठीमा छलफल भएको छ । गोष्ठीमा सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिन स्रोत र साधनको अभाव भएको बैठकमा सहभागीले बताएका थिए ।

कतिपय स्थानीय तहमा बाटोकै समस्या, कतिपय ठाउँमा पुग्न सुरक्षाकर्मीकै अभाव र दरबन्दी पनि कम भएको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment