Comments Add Comment

आरक्षणमा नयाँ व्यवस्थाः जागिर अवधिभरमा एकपटक मात्रै पाउने


३१ वैशाख, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर अलग–अलग परेका छन् । केहीले आर्थिक, सामाजिक, सांस्कृतिक विषयलाई बढी जोड दिएका छन् भने कुनैमा राजनीतिसँग सम्बन्धित समाचार बढी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको संविधानसम्बन्धी अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले समेटेका छन् । नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले ‘नेपालको विभेदकारी संविधानविरुद्ध संघर्ष जारी रहेको’ अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले त्यसलाई कूटनीतिक मर्यादाविपरीत भन्दै आपत्ति जनाएका हुन् ।

साढे ३३ किलो सुन तस्करी प्रकरणबारेको नयाँ तथ्य उजागर भएकोलाई केही पत्रिकाले लेखेका छन् । समाचार अनुसार, अनुसन्धानका क्रममा गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण रहेको खुलेको छ ।

यसका अतिरिक्त नेपालको व्यापार घाटा बढेको, अब आरक्षण जागिरे अवधिमा एकपटक मात्रै आरक्षण दिइने, मलेसिया जाने सवा ६ लाख नेपाली कामदारबाट ३ अर्ब ठगी भएकोलगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

कृषिप्रधान देशमा कोदो आयात !

नयाँ पत्रिका दैनिकले आज नेपालको व्यापार घाटाको फेहरिस्त प्रस्तुत गरेको छ । नौ महिनामा ८ खर्ब ७४ अर्ब ६ करोडको आयात भएकोमा जम्मा ५९ अर्ब ७३ करोडको सामान निर्यात भएको छ ।

रोचक त के छ भने कृषिप्रधान मुलुकमा कृषि वस्तु समेत आयात गरिएको छ । समाचार अनुसार वार्षिक झण्डै ३ खर्ब रुपैयाँ बराबरका कृषि वस्तु आयात भइरहेका छन् । यसरी आयात हुनेमा कोदोसमेत छ । भारतबाट यो वर्ष मात्र ३ करोड ८ लाख ३७ हजारको कोदो आयात भएको छ । त्यस्तै स्वदेशमै उत्पादन हुनसक्ने खसीबाख्रा, माछा, चामल, गहुँ, तरकारी, फलफूल, पिठो, सूर्तीलगायत पनि विदेशबाट आयात भएका छन् ।

मलेसिया जाने सवा ६ लाख कामदारबाट ३ अर्ब ठगी


एउटा गैरकानूनी कम्पनीले मलेसिया जाने ६ लाखभन्दा बढी गरिब नेपाली कामदारको अर्बौं रुपैयाँ ठगेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार मलेसिया भिएलएन नेपाल नामक अनधिकृत कम्पनीले भिसा प्रोसेसिङ र भिसा संकलनका नाममा पछिल्लो साढे चार वर्षको अवधिमा ६ लाख ३३ हजार ३ सय ६८ कामदारबाट २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ठगी गरेको छ ।

बंगुरको मासु विवादमा मुस्लिम सिपाही निकालिए

सैन्य मेसमा बंगुरको मासु पाकेको भाँडोमा पकाएको खाना नखाने एक मुस्लिम प्यूठलाई नेपाली सेनाले जागिरबाट निकालेको छ ।

धार्मिक आस्था बचाउन दिएको राजीनामा अस्वीकृत गर्दै तालिममा खटाएको सेनाले पाँच महिनापछि तालिमकै अवधिमा राजीनामा स्वीकृत भएको भन्दै उनलाई घर पठाएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

१४ वर्षदेखि नेपाली सेनामा कार्यरत मोहम्मद जाबिर खाँले सुँगुरको मासु पकाएको भाँडोमै पकाइएका परिकार खुवाएर आफ्नो धार्मिक आस्था बिटुल्याउन खोजेको भन्दै सैनिक मुख्यालय र राष्ट्रिय मानव अधिकार आयायोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका छन् ।

अब आरक्षण एकपटक मात्रै

नागरिक दैनिकका अनुसार, अब सरकारी जागिरको अवधिमा एकपटकमात्रै आरक्षण पाइने भएको छ ।

आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने सो सुविधा दुरुपयोग भइरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटक मात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको छ ।

समाचार अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ । मस्यौदा पास भएपछि निजामति सेवामा जनजाति, महिला, दलित, अपांग र पिछडिएका वर्गले पाउने आरक्षणअन्तर्गत एकजनाले एकपटकमात्रै पाउनेछन् ।

आरक्षण पाउने जाति र वर्गअन्तर्गत एकै व्यक्तिले सधैं पाइरहने अवस्था रोक्न यस्तो व्यवस्था गर्न लागिएको हो ।

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती गोरेलाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ ।

नागरिक दैनिकले आज लेखेको छ– अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहीबाटै उन्मुक्ति पाएको भेटिएको छ । सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्बाध सुन तस्करीको अवसर पाएका थिए ।

नचिनेको व्यक्ति लोग्ने कायम, फैसला गर्ने र समाउने अनुसन्धानमा

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिन्दै छन् ।

नागरिक दैनिकका अनुसार, वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की सो मुद्दामा तानिएका हुन् । अन्य दुई अधिवक्ताका नाममा समेत उजुरी परेको र अनुसन्धान भइरहेको छ ।

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका पतिले पेन्सनपट्टा बनाउने क्रममा सौता ल्याएपछि तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानूनी उपाय खोज्दा बागजुङकी नीरमाया पुनलाई नचिनेका व्यक्ति लोग्ने कायम गरिदिएपछि न्यायाधीश र कानून व्यवसायी अनुसन्धानको घेरामा परेका हुन् ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment