Comments Add Comment

राजकिशोर यादवले भने : यसपाली मोदीसँग आन्तरिक कुरा गरेनौं

३१ वैशाख, काठमाडौं । आजभन्दा एक वर्षअघिमात्र फर्किने हो भने केपी शर्मा ओली र मधेसवादी दलका नेताहरुबीचको सम्बन्ध बिर्सनलायक थियो । राजपा नेपालले ओलीलाई प्रवेश निषेध घोषणा नै गर्‍यो । ओलीको मधेसबिरोधी छवि जबर्जस्त बनाइएको थियो । तीनै मधेसवादी नेताहरु अहिले मधेसको राजधानी जनकपुरमा ओलीलाई खुला दिलले स्वागत गर्ने ठाउँमा पुगे ।

हुन त त्यो बेला ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्ध पनि सम्झनलायक होइन । तर, राजनीतिमा असम्भव केही छैन । ओली र मोदी जनकपुरमा एकै ड्रेसमा उपस्थित मधेसवादी दलहरु दुबैप्रति आभारी छन् । यद्यपि मधेसका सरोकार ओलीले सम्बोधन गर्न बाँकी छ ।

यसबीचमा मोदीले मधेसवादी दलका नेताहरुलाई भेट्दा प्रष्ट शब्दमा भनेछन्-तपाईहरुका सानातिना सरोकार विस्तारै आफैं हल हुँदै जान्छन् । तर, भारतको प्रमुख सरोकार नेपालमा राजनीतिक स्थायीत्व हो ।

बिगतमा मधेस आन्दोलन, संविधानबाट जारी भएको संविधानका सन्दर्भमा काठमाडौंलाई भन्दा मधेसलाई साथ दिएको भारत कोर्ष करेक्सनको दिशामा गएजस्तै ओलीले पनि कोर्ष करेक्सन गरेर मधेससँग संवाद थाल्ने अपेक्षा मधेसवादीको रहेछ । मोदीसँग भेटेर फर्किएका राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग भेट्दा उनले प्रष्टै शब्दमा भने- मोदीले कोर्ष करेक्सन गरेजस्तै ओलीले पनि कोर्ष करेक्सन गरेका छन् । मधेसले पनि कोर्ष करेक्सन गरेकै हो ।

अब नेपालको आन्तरिक मामिला विदेशीसँग वार्ताको विषय बनाउनु हु्ँदैन भन्नेमा राजपा नेता यादव दृढ देखिए । उनले भने- बिगतमा हाम्रा मुद्दालाई अनावश्यक रुपमा भारतसँग गाँसेर विवादित बनाइयो । अब हामी हाम्रो आन्तरिक विषय हाम्रै प्रधानमन्त्रीबाट पूरा गराउँछौं ।

प्रस्तुत छ, राजपा अध्यक्ष मण्डलका सदस्य यादवसँग यीनै विषयमा केन्द्रित रहेर अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानी ।

मधेसबाट शुरु भएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले तपाईहरुलाई उत्साहित पारेको हो ? स्वयं मोदी तपाईहरुसँगको भेटमा कसरी प्रस्तुत भए ?

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको भ्रमण समग्रतामा हेर्दा सफल भएको र जे उद्देश्यका लागि उहाँ नेपाल आउनुभएको थियो, त्यसमा सन्तुष्ट भएर फर्किनुभएको पाएको छु । उहाँले आफू प्रधान तीर्थयात्रीको रुपमा तीर्थाटन गर्न आएको भने पनि यो बहुआयामिक भ्रमण हो ।

नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको कुरा उहाँले भन्नुभएको छ । कतिपय यसबीचमा तीतामिठा अनुभव हल भएको देखियो । हामीसँगको कुराकानीमा पनि उहाँ निकै प्रसन्न देखिनुभयो । नेपालले पनि यो भ्रमणबाट आफूले खोजेको फाइदा लिन सफल भयो र भारतीय प्रधानमन्त्रीको उद्देश्य पनि सफल भएको मान्न सकिन्छ ।

तपाईहरुसँगको भेटमा चाहिँ मोदीले विशेष गरी मधेसको सन्दर्भमा कुनै फरक कुरा गरे ?

त्यस्तो त केही भएन तर, उहाँ हामीसँगको भेटमा एक प्रकारले प्रफुल्लित र सन्तुष्ट देखिनुभयो । सन्तुष्टि यो कारण पनि हो कि, मधेसमा उहाँले लाखौं जनताको माया पाउनुभयो । उहाँले जनकपुरमा जसरी जनताबाट अभिनन्दन पाउनुभयो, त्यसप्रति उत्साहित हुनुभएको छ । समग्रतामा जुन कार्यक्रम जनकपुरमा सम्पन्न भयो, हाम्रो पार्टीको सरकार भएको हुनाले र त्यो क्षेत्रमा हाम्रो दबदबा भएकाले पनि तपाईहरुकै कारण यो सम्भव भयो भन्ने उहाँको बुझाइ थियो । उहाँले हामीहरुसँग आभार पनि व्यक्त गर्नुभयो ।

होइन, मैले राजनीतिक कुरा भयो कि भएन भनेर जान्न खोजेको, बिगतमा हुने गर्थ्यो नि मधेसको मुद्दा, संविधान संशोधन त्यस्तो केही कुरा भएन ?

यो पटकको भ्रमणमा हाम्रो आन्तरिक विषय उठेन । मोदीजीले नेपालमा राजनीतिक स्थायित्व हुनुपर्छ भन्नेमा जोड दिनुभयो । नेपालमा राजनीतिक स्थायित्व र नेपालको विकास भारतको मुख्य सरोकार हो भन्नुभयो । प्रदेशमा तपाईहरुको सरकार र केन्द्रमा तपाईहरुले मतदान गरेर बनाएको सरकार छ, विकासको रथ अघि बढाउनुस् भन्नुभयो । विकासमा चाहिएको सहयोग साझेदारी गर्न भारत सधैं तयार छ भन्नुभयो उहाँले ।

यसको अर्थ केपी ओलीलाई साथ देउ भनेर मोदीले तपाईहरुलाई भनेको भनेर अर्थ लगाउन सकिन्छ ?

निश्चित रुपमा हाम्रो प्रधानमन्त्री केपी ओलीजी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले विश्वासको वातावरण बनेको छ । हाम्रो प्रधानमन्त्रीले पनि उहाँको विश्वास जितेको र मोदीजीले पनि हाम्रो प्रधानमन्त्रीको विश्वास जितेको देखियो । एकै शब्दमा क्वाइन गर्ने हो भने यो भ्रमणपछि दुवैजनाको केमेस्ट्री मिलेको पाइयो ।

ओली र मोदी मिलेपछि मधेसमा तपाईहरुले भन्दै आएको बिभेदको मुद्दा ओझेल पर्ने डर हुन्न र ?

हामीलाई कुनै आशंका हुँदैन । नेपाल स्वतन्त्र सार्वभौम स्वतन्त्र राष्ट्र हो । भारत एउटा छिमेकी शक्तिशाली राष्ट्र हो । मधेसको समस्या हाम्रो आन्तरिक कुरा हो । मधेसको भुभाग भारतसँग जोडिएकाले यहाँको गतिबिधिमा भारत जोडिन्छ । तर, भारतले मधेससँग होइन, देशसँगै डिल गर्ने हो । ओलीजी र मोदीजी मिल्दा मधेस झनै बलियो हुन्छ । मधेसलाई समस्या होइन काठमाडौंले अवसरको रुपमा बुझ्नुपर्छ । यसमा ओलीजीले बिस्तारै महशुस गर्नुभएको होला ।

तर, मुख्यमन्त्री लालबाबु राउतले त मधेसलाई राज्यले बिभेद गरेको छ भनेर भाषण नै गर्नुभयो ?

यसमा म के प्रष्ट पार्न चाहान्छु भने मधेस आजको दिनमा एउटा पावर क्षेत्रको रुपमा विकास भएको छ । कसैले माने पनि नमाने पनि शक्ति केन्द्र बनेको छ । मुख्यमन्त्रीको कुरालाई जसरी पनि ब्याख्या गर्न सकिन्छ । त्यहाँ लाखौं जनता आएका थिए, मुख्यमन्त्रीले त्यहाँ आफ्ना जनतालाई केही कुरा सुनाउनुपर्ने भयो होला । मोदीजीलाई सुनाउने भन्दा पनि जनतालाई त्यहाँका समस्याबारे सुनाएको अर्थमा लिनुपर्छ ।

आज पनि मधेसको समस्या समाधान भएन भने न काठमाडौंमा शान्ति हुन्छ न दिल्लीमा शान्ति हुन्छ । मधेसमा अशान्ति हुनासाथ दुवैतिर समस्या हुन्छ । भारतका प्रधानमन्त्रीले पनि राजनीतिक स्थायित्व भन्नुभएको छ । त्यसका लागि मधेसलाई प्रधानमन्त्रीले सँगै लिएर जानुपर्छ ।

भनेपछि ओलीलाई साथ दिएरै जानुपर्ने भयो होइन ?

निश्चित रुपमा, नेपालमा राजनीतिक स्थायित्व दिनुछ भने मधेसको समस्या समाधान गर्नैपर्छ । अहिले प्रधानमन्त्री ओलीजीले जुन सम्बृद्ध नेपाल,  सुखी नेपाली भन्नुभएको छ, त्यसका लागि मधेसको माग सम्बोधन गर्नुपर्छ । उहाँले प्रतिबद्धता पूरा गर्नुहोस्, हामी साथ दिन्छौं ।

तर, मोदीलाई धेरै खातिरदारी गरेको भनेर प्रदेश सरकारको मात्र होइन, स्वयंम केपी ओलीकै पनि आलोचना भइरहेको छ । मोदीको भ्रमणले ओलीको ग्राफ घट्यो कि बढ्यो ?

मोदीको भ्रमणका क्रममा ओलीजी र नेपाल सरकारको परिपक्वता देखिएको छ जस्तो लाग्छ मलाई ।

जसरी हामी मोदीको बारेमा सोचिरहेका छौं नि मोदीले नेपाल सम्बन्धमा कोर्ष करेक्सन गरेको हो भनेर नेपाली आँखाबाट सोच्छौं भने, ओलीजीको सवालमा पनि मधेसले त्यस्तै सोच्न सक्छ । ओलीजीले हिजो गलत धरातल टेकेर बनाएको मधेसविरोधी छविमा परिवर्तन ल्याउन कोर्ष करेक्सन गर्नुभएको छ । मधेसलाई हेर्ने दृष्टिकोणमा हिजो चाहेर नचाहेर उहाँको जुन प्रकारको मधेस विरोधी छवि बन्न गयो, आज उहाँ मधेस झरेर सहजै लाखौं जनताको बीचमा सन्देश प्रवाह गर्नुभयो ।

मधेसी जनताले लगाउने कुर्ता पाइजामा, गम्छा लगाएर लाखौं जनताको बीचमा जानुभयो । जनताले पनि स्वागत गरे । प्रधानमन्त्री भएपछि पनि उहाँको मधेसमा बिरोध हुने अवस्था थियो तर, आज एउटाले पनि बिरोध नगरी उहाँ मधेसमा स्वीकार्य हुनुभयो ।

वास्तवमा जनकपुरको प्रस्तुतिले मधेसमा ओलीको ग्राफ बढेको छ । यस हिसाबले प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुभएको ठान्छु ।

मोदीले हिजो जनकपुर जान खोज्दा विभिन्न कारणले सम्भव भएन । अहिले ओलीसँग सम्वन्ध राम्रो हुनु र जनकपुर जानु एकै समयमै भयो । ओलीले भारत र मधेस दुवैलाई विश्वासमा लिन खोजेका हुन् ?

यो कुरा उहाँले गर्नैपर्छ । ओलीजी सफल हुनका लागि मधेसलाई सम्बोधन नगरी हुन्न । राजनीतिक स्थायित्व र समृद्धिका लागि मधेसको माग पूरा गर्नुपर्छ । त्यसैले यसपटक हामीले हाम्रो समस्या अरुसमक्ष नराख्ने, हाम्रो प्रधानमन्त्री समक्ष राख्ने भनेका छौं ।

ओलीजीलाई सफल हुनुछ भने मधेससँग सम्वाद गर्नुपर्छ । मोदीजी सीधै जनकपुर आउनु र ओलीजीले त्यो प्रवन्ध मिलाउनु आफैंमा सकारात्मक हो । जनताको मन जित्न कुर्ता पाइजामा लगाएर उहाँ जनकपुर झर्नुभयो भने मोदीजीसँग केमेस्ट्री मिलाउन मोदीलाई मन पर्ने केशरीया रंगको पोशाक रोज्नुभयो, यो आफैंमा प्रतिकात्मक छ ।

मधेसमा ओलीको ग्राफ बढेको कुरा गर्नुभयो, तर जे भनेर तपाईहरुले भोट दिनुभएको हो, १०० दिन पुग्दा केही प्रगति त भएको छैन नि ?

मलाई लाग्छ, ओलीजीमा केही कोर्ष करेक्सनको सोच आएको छ । जसरी मोदीजीले कोर्ष करेक्सन गर्नुभएको भनिँदैछ । हाम्रो प्रधानमन्त्रीले नेपाललाई सफल बनाउन, जनताको समृद्धिको आकांक्षा पूरा गर्न र उहाँ सबै जनताको स्वीकार्य भएको प्रधानमन्त्री बन्नको लागि मधेसको समस्यालाई नेपालीको समस्याका रुपमा लिनुपर्छ ।

समयको मागअनुसार यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । गर्दा त हुने रहेछ नि । थोरै प्रयासले उहाँप्रति मधेसका जनता खुसी भएका छन् । हामीले भोट हालेका हौं उहाँलाई । दुई तिहाइ पनि हामीसँगै भएको अवस्था छ । उहाँले बारम्बार आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने भन्नुभएको छ, त्यो बेला आएको छ ।

अहिले प्रचण्डले संघीय समाजवादी फोरमलाई बोक्ने, ओलीले राजपालाई रिजर्भ फोर्सका रुपमा राख्ने कुराले पनि तपाईहरुको माग सम्बोधनमा समस्या भएको हो कि ?

यो त उहाँहरुले जान्ने कुरा हो । हाम्रो मुख्य सरोकार अरु नै छ । हामी केही नैतिक बन्धनमा छौं । औपचारिक रुपमा प्रधानमन्त्रीले सरकारमा बोलाए पनि हामीले आफ्ना कुरा राखेका छौं । हामी समृद्धिको उहाँको यात्रामा साथ दिन तयार छौं तर त्यसअघि हाम्रा केही सरोकार सम्बोधन हुनुहुन्छ । तर, हामीसँग केही जिम्मेवारी र आन्दोलनले बोकाएका बोझ छन् । ती बोझ उहाँले हटाइदिनुपर्‍यो । मधेससमस्या होइन अवसर हो भन्ने रुपमा जुन दिन काठमाडौंले बुझ्छ त्यो दिन नेपाल स्थायित्व र समृद्धिको बाटोमा जान्छ ।

वाम एकता नभए ओलीलाई साथ दिएर सरकारमा जाने राजपाको दाउ हो ?

राजपा नेपालमा स्थायीत्व होस् भन्ने चाहान्छ । यो सरकार अझ बलियो भएर जावस् भन्ने चाहन्छ । राजपा त्यसका लागि साथ दिन तयार छ । कुनै समयमा त्याग गर्नुपरे पनि हामी तयार छौं । तर त्यसका लागि मधेसलगायत सबै क्षेत्रको समस्याको सम्बोधन हुने गरी खुला हृदयले संविधानलाई फराकिलो बनाउन तयार हुनुपर्छ ।

राजपा एमाले-माओवादी नमिलुन्, हामी त्यहाँ प्रवेश गरौं भन्नेतिर पटक्कै लागेको छैन । संविधान संशोधनको लागि दुई तिहाइ चाहिन्छ, त्यसका लागि एमाले र माओवादी त मिल्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment