Comments Add Comment

छोरी आमाजस्ती राम्री छैनन् भन्नेहरुसँग करिश्माको चित्तदुखाई


नायिका करिश्मा मानन्धरको सुन्दरताको जहिले पनि चर्चा हुन्छ । जवान छोरीकी आमा भएर पनि उनी आफैं जवान देखिन्छिन् । करिश्माकी एक मात्र छोरी कविता २१ वर्षकी भइन् । उनी केही मोटी छिन् । धेरैले उनको सुन्दरतालाई करिश्मासँग तुलना गर्छन् र, कमेन्ट गर्छन्- आमा जत्तिकी राम्री होइन । यस्ता कमेन्टहरुबाट करिश्मा हैरान छिन् ।

‘विचरा मलाई कबुको माया लाग्छ, यस्ता कमेन्टहरु पढ्दा उनलाई नराम्रो लाग्दो हो,’ करिश्मा भन्छिन्, ‘मेरो सुन्दरताको प्रशंसा गर्दा त म खुशी हुन्छु, तर मसँग तुलना गरेर छोरीलाई अनेक थोक भन्दा चित्त दुख्छ ।’

सुन्दरताको कुनै मापनविधि नहुने भन्दै उनले कविता आफ्नै विशेषताले युक्त भएको बताइन् । ‘मेरो आफ्नै खालको सुन्दरता छ, उनको आफ्नै खालको । तुलना गरिरहन आवश्यक नै छैन,’ उनले भनिन् ।

अमेरिकामा बसेर स्नातक तहमा अध्ययनरत कविता केही महिनादेखि नेपालमा छिन् । ‘त्यहाँ बाहिरको खानपानले गर्दा उनको वजन बढिरहेको थियो, त्यसैले स्लीम बनाउनका लागि मैले नेपालमा बोलाएकी हुँ,’ करिश्माले भनिन्, ‘यहाँ म आफैंले उसको खानपान र फिटनेसमा ध्यान दिइरहेकी छु ।’

नेपाल आएपछि छोरी केही दुब्लाएको करिश्माले बताइन् । ‘एकैचोटि ह्वात्तै दुब्लाउँदा पनि राम्रो देखिँदैन, त्यसैले विस्तारै अलिअलि गर्दै वेट लस गरिरहेकी छिन्,’ करिश्माले भनिन् ।

छोरीलाई स्लीम बनाएर आफ्नै ब्यानरको फिल्ममा फिल्ममा डेब्यू गराउने करिश्माको योजना थियो । तर, यही बीचमा नायक शिव श्रेष्ठ कविताका लागि फिल्म ‘एउटा यस्तो प्रेमकहानी’ को अफर लिएर उनीकहाँ आए ।

‘म छोरीलाई तत्काल फिल्ममा इन्ट्री गराइहाल्ने सोचमा थिइनँ,’ करिश्माले भनिन्, ‘अरुले अफर गरेको भए बहाना बनाएर टारिदिन्थेँ होला तर, शिव दाईलाई नाई भन्नै सकिनँ ।’ शिव श्रेष्ठ करिश्माका समकालिन अभिनेता हुन् ।

शिवको प्रस्तावबारे करिश्माले छोरीसँग विमर्श गरिन् । कविता उत्साहित भइन् । कथाको माग अनुसार अलिकति मोटी नै हुनुपर्ने भएकाले उनलाई यो फिल्म सुरु गरिहाल्न सजिलो भयो ।

कविता अहिले फिल्मको छायांकनमा व्यस्त छिन् । उनी दिनदिनै आफ्नो अनुभव आमासँग सेयर गर्छिन् । छोरीको सुटिङ हेर्न छायांकनस्थलमा करिश्मा अहिलेसम्म पुगेकी छैनन् । छोरीले राम्रो अभिनय गर्न सक्छिन् भन्नेमा चाहिँ उनलाई पूर्ण विश्वास छ ।

करिश्मा भन्छिन्, ‘मैले उनलाई अभिनय सिकाएको छैन र यो सिकाएर सिकिने कुरा पनि होइन । फेरि हामीले गर्ने अभिनय र अहिलेको पूस्ताले गर्ने अभिनयको ट्रेन्ड पनि फरक छ । कविता आफैं सानैदेखि आफ्नो खालको अभिनयमा पोख्त छिन् । उनले हिरोइनको रुपमा भन्दा पनि एउटी अभिनेत्रीको रुपमा राम्रो गर्छिन् भन्ने मलाई लाग्छ ।’

फिल्म क्षेत्रमा नै छोरीले करिअर बनाउनेमा ढुक्क छिन् करिश्मा । उनले अगाडि भनिन्, ‘कबु हरेक कुराको गहिराईमा पुग्न खोज्छिन्, सोचविचार गरेर मात्रै निर्णय लिने परिपक्व स्वभाव छ उनको । आफ्नै बलबुतामा उनले आफ्नो करिअर निर्माण गर्नेछिन् भन्नेमा म ढुक्क छु ।’
फिल्मको सुटिङ सुरु भएयता छोरीको अनुहारमा बेग्लै उमंग र खुशी देखेकी छिन् करिश्माले ।

‘हरेम दिन सुटिङबाट आउँदा उनको अनुहार उज्यालो हुन्छ । उनले यो क्षेत्रमा इन्जोई गरिरहेको देख्दा मलाई पनि सन्तोष मिल्छ,’ करिश्माले भनिन् ।

अमेरिकामा रहँदा कविताले एउटा नेपाली म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । त्योबाहेक उनको अभिनयमा अरु अनुभव छैन ।
करिश्मा भन्छिन्, ‘फिल्मका मान्छेहरुसँग उनको कामको बारेमा सोध्दा उहाँहरु पुरानो कलाकारसँग काम गरेजस्तो अनुभव भएको बताउनु । भनेपछि, राम्रै गरिरहेकी होलिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment