+

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

२०७५ जेठ  १ गते १२:३८ २०७५ जेठ १ गते १२:३८
पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

१ जेठ, पोखरा । खेलकुद पत्रकार मञ्च कास्कीले यही जेठ १८ गते हुने पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर पोखरा स्पोर्टस् अवार्ड २०७५ मा परेका उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।

पोखरा स्पोर्टस् अवार्डको सर्बोत्कृष्ट खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) मनोनयनमा परेका छन् ।

सर्बोत्कृष्ट महिला खेलाडीमा बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोनयमा परेका छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन् ।

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

सर्बोत्कृष्ट पुरुष बिधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल र ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्बोत्कृट महिला बिधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ ।

त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा अवार्ड प्राप्त गर्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने जनाइएको छ । त्यस्तै, सर्बोत्कृष्ट पुरुष र महिला तथा सर्बोत्कृष्ट उदीयमान खेलाडी र प्रशिक्षकलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान मोवाइलसमेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेलकुद पर्यटन पत्रकारिता पुरस्कारको बिधा पनि थपेको छ ।

कास्कीमा रही ५ वर्षदेखि खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएको एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखी यो विधा थपेको मञ्च कास्कीले जनाएको छ ।

मञ्चले यस वर्ष सर्बोत्कृष्ट उत्कृष्ट खेल संघ बिधामा ब्याडमिन्टन संघ कास्कीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ भने खेल गीत गायक बिनोद बानियालाईसमेत सो अवसरमा सम्मान गरिने अध्यक्ष पाठकले बताए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता डा वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ ।

पोखरामा हक्की खेल भित्राउने श्रेय उनलाई नै जान्छ । त्यस्तै, क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिएका गुरुङ पोखरा रंगशालामा पर्खाल निर्माणकासमेत अभियन्ता हुन् ।

सन् १९४१ साल मार्च १८ मा तत्कालिन भारत र हाल पाकिस्तानमा पर्ने एबोडाबाद जन्मेका उनी सन १९६७ तिर पोखरा आएका थिए । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन् ।

उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय