Comments Add Comment

प्रचण्डलाई माधव नेपालको सुझाव-आशंकामा नबस्नुस्, सबै कुरा संयोजन समितिमा राख्नुस्

जेठ पहिलो साता निर्वाचन आयोगमा दर्ताको सम्भावना टर्दै

१ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति बैठक बोलाउन आग्रह गरेलगत्तै नेपालले प्रचण्डसँग छलफल गरेका हुन् ।

मंगलबार विहान च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको वार्तामा नेता नेपालले पार्टी एकता प्रक्रियाबारे निराशाजनक अवस्था अन्त्य गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ । अनावश्यक आशंका पालेर एकता नटार्न आग्रह गरिएको नेता नेपाल निकट स्रोतले जनाएको छ ।

भेटमा प्रचण्डले ओलीका पछिल्लो क्रियाकलाप र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्था विश्लेषण गर्दै एकताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिएको स्रोतको दावी छ । एमाले नेता नेपालले भने दुई नेताबीचमात्र कुरा हुँदा पार्टी एकताबारे कार्यकर्ता प्रष्ट नहुने र अन्यौल बढ्ने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह गरेका छन् ।

दुवै नेताबीच निकै अन्तरंग कुराकानी भए पनि दुवै पक्षले थप बताउन चाहेनन् ।

पछिल्लो समय एमालेभित्र ओली र माधव नेपालबीच एकता देखिन थालेपछि प्रचण्ड थप सशंकित भएका छन् । हालै भएको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा सत्तारुढ दलको रुपमा छलफल नै नभएको तथा आफ्ना मन्त्रीहरुलाई सहभागिता नगराएको भन्दै माओवादीमा असन्तुष्टि छ ।

यसले जेठ पहिलो साता गर्ने भनिएको पार्टी एकता घोषणा लगभग टरेको एक शीर्ष नेताले बताए ।

एमाले र माओवादी केन्द्रबीच यसअघि दुईपटक एकीकरण घोषणा गर्ने भनेर रोकिसकेको छ । पछिल्लो पटक जेठ पहिलो साता दुवै पार्टीबीच एकीकरण भएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने भनिएको थियो ।

तर, यो सम्भावना पनि टर्दै गएको छ । पार्टी एकता संयोजन समिति बैठक पनि अहिलेम्म तय भएको छैन ।

यसैबीच एमालेले जेठ ३ गते मदन आश्रति स्मृति दिवसको सन्दर्भमा बल्खुमा आयोजना गर्ने कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डलाई विशेष वक्तामा रुपमा बोलाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment