Comments Add Comment

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च एकीकृत पार्टीले व्यहोर्ने


४ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु एमाले–माओवादीलाई इतिहास बनाउँदै नेपाल कम्युनिस्ट पार्टी गठन भएको विषयले रंगिएका छन् । साढे सात महिना लामो एकता प्रक्रियाले सार्थकता पाएको विषयलाई सबै दैनिक पत्रिकाले अाज ब्यानर समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले एमाले–माओवादी एकतालाई ‘राजनीतिमा ऐतिहासिक फड्को’ भनेको छ । समाचारमा एकता घोषणाको सूचनामूलक जानकारीदेखि सांगठनिक संरचनाबारेको जानकारी छ ।

कान्तिपुर दैनिकले ‘इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी’ शीर्षक दिएर यसको ‘कभरेज’ गरेको छ । समाचारमा समान हैसियतमा २ अध्यक्ष रहने सूचनामूलक जानकारीदेखि एकताका लागि प्रचण्ड तयार हुनुको कारण समेत औंल्याइएको छ । ‘दुवैले एक–अर्काको प्रस्ताव स्वीकारेपछि एकता सम्भव भएको हो’, कान्तिपुरले समाचारमा लेखेको छ ।

नयाँ पत्रिका दैनिकले इतिहासकै शक्तिशाली पार्टी भन्दै नयाँ दलको राजकीय शक्तिमा झन् पकड बढेको विश्लेषण निकालेको छ । नयाँ पत्रिकाको समाचारमा कम्युनिस्ट टुटफुटको इतिहासदेखि एमाले–माओवादी एकताको नालीबेलीसम्म छ । नयाँ पत्रिकामै बालुवाटारमा एकतापछि गरिएको रात्रिभोजको खर्च एकीकृत पार्टीले नै व्यहोर्ने, एकीकृत पार्टीसँग तीन अर्बको सम्पत्ति रहेकोलगायत समाचार पनि छन् ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकले ‘नेपाल कम्युनिस्ट पार्टी गठन’ शीर्षक दिएर एकताबारेको सूचनामूलक जानकारी छापेको छ भने राजधानी दैनिकले दक्षिण एसियाकै ठूलो पार्टी बनेको जनाएको छ ।

नागरिक दैनिकले ‘शक्तिशाली कम्युनिस्ट पार्टी गठन’ शीर्षकको व्यानर समाचारमा विभिन्न उपशीर्षक दिएर एकताको चर्चा गरेको छ ।

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च दुई पार्टीले व्यहोर्ने

नयाँ पत्रिका दैनिकका अनुसार एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब २ अर्बको चल–अचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

समाचार अनुसार माओवादी केन्द्रको चल–अचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब १ अर्ब बराबरको सम्पत्ति रहेको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीइ कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

यसैबीच, पार्टी एकीकरण भएको खुसीयालीमा बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ । विघटित दुई पार्टीका नेता–कार्यकर्तासहित २ सय जना सहभागी भोजको खर्च एकीकृत पार्टीले ब्यहोर्ने छ ।

६ वटा प्रदेशमा दुई तिहाइ, प्रदेश २ मा ठूलो दल

पार्टी एकता भएसँगै नेपाल कम्युनिस्ट पार्टीको राजकीय शक्ति पनि बढेको समाचार नयाँ पत्रिकाले छापेको छ ।

समाचार अनुसार प्रतिनिधिसभाको कुल २७५ सिटमा नेकपाको १७४ र राष्ट्रियसभाको ५९ सिटमा ४२ सिट पुगेको छ । ६ वटा प्रदेशमा नेकपाको दुईतिहाइ पुगेको छ भने प्रदेश २ मा ठूलो ठूलो दल बन्न सफल भएको छ ।

केन्द्रीय सदस्यको नाम आज टुंगिने, तल्ला कमिटीको एकीकरण ३ महिनाभित्र

केन्द्रमा पार्टी एकता भएपछि अब तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकता विस्तारै हुनेछ । नयाँ नेकपाले ३ महिनाभित्र तल्ला कमिटी पनि एकीकरण गर्ने लक्ष्य राखेको छ ।

नेकपाको केन्द्रीय सदस्य ४४१ हुने विषयमा सहमति जुटिसकेको भए पनि क–कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । यसलाई आज टुंगो लगाउने तयारी नेकपाले गरेको नयाँ पत्रिकामा समाचार छ ।

आधा शताब्दीपछिको मिलन

एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत पार्टी गठन प्रयासले मूर्त रुप लिएको र यो पार्टी एसियाकै तेस्रो ठूलो पार्टी बनेको समाचार नागरिक दैनिकले लेखेको छ ।

एसियामा चीन र भियतनामपछि नेपाल कम्युनिस्ट पार्टी तेस्रो दल बनेको छ । यी तिनै देशमा सत्तामा पुगेको कम्युनिस्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् । नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिस्ट सत्तामा पुगेका छन् ।

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर


नागरिक दैनिकले आज विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा उडान भर्ने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुन लागेको लेखेको छ ।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो ।
समाचार अनुसार, यस्तो कामका लागि निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले विशेष कामका लागि प्रयोग हुने आफ्नो हेलिकोप्टर प्रयोग गर्न लागेको हो ।

मोटरसाइकललाई २ सय रुपैयाँ प्रदूषण कर

सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिनेछ ।

कारोबार दैनिकका अनुसार, यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षकको करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदूषण कर संकलन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको छ ।

बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संलकन गर्न सकिने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागले जनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment