Comments Add Comment

सरकारले सबै प्रदेशमा कृषि फार्म स्थापना गर्ने

६ जेठ, काठमाडौं । सरकारले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने गरी बजेटको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

आइतबार सबै प्रदेशका कृषि मन्त्रीहरुसँग काठमाडौंमा सामूहिक भेट गरी उनले पिछडिएका कृषकहरुलाई माथि उठाउन पनि सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्न लागिएको बताए । उनले मुलुकमा कृषि क्षेत्रमा आत्मनिर्भर बन्न पनि सबै प्रदेशमा कृषिलाई व्यवसायिकीकरण गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

मन्त्री खनालले सरकारले किसानलाई पेन्सन उपलब्ध गराउन आवश्यक मापदण्ड तोक्ने विषयलाई पनि प्राथमिकता दिएको स्पष्ट पारे । कृषकको वैज्ञानिक वर्गीकरणको कामलाई अघि बढाएर उनीरुलाई परिचय पत्र उपलब्ध गराउने र त्यसपछि पेन्सनको व्यवस्था गर्न लागिएको पनि मन्त्री खनालले जानकारी दिए ।

उनले प्रदेश र स्थानीय सरकारमाथि हस्तक्षेप नहुने गरी बजेटको व्यवस्था गर्न लागिएको पनि बताए । बजेट सम्बन्धित क्षेत्रमा लगानी भए, नभएको कडा अनुगमन गर्न पनि प्रदेशका कृषिमन्त्रीहरुको ध्यानाकर्षण गराउनुपरेको मन्त्री खनालको भनाइ छ ।

उनले बजेट कार्यान्वयनका लागि केन्द्र सरकारले प्रदेश सरकारसँग सहजीकरण गर्ने योजना पनि अघि सारे । नमूना कानुन लगायतका आवश्यक व्यवस्था गरेर प्रदेश सरकारको कामलाई सहज बनाउने काममा संघीय सरकार लागि पर्ने मन्त्री खनालले बताए ।

मन्त्री खनालले साना किसानलाई सोझै अनुदान पाउने व्यवस्था हुनेगरी कार्यविधि बनाउन लागिएको पनि बताए । उनले सरकारले कृषिमा आत्मनिर्भर बनाउन आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment