Comments Add Comment

असारको पहिलो हप्तादेखि राजविराजमा नियमित उडान : पर्यटनमन्त्री अधिकारी

सप्तरी, १० जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलमा असारको पहिलो साताभित्र नियमित उडान सुरु हुने बताएका छन् ।

रन-वेसहित निर्माण भएको राजविराज विमानस्थलको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले असारको पहिलो सातासम्म यस विमानस्थलबाट नियमित उडान हुने बताए । ‘राजविराजबाट नियमित जहाज उड्ने सुनिश्चितता लिएर म राजविराज आएको छु’ उनले भने, ‘शुरुमा श्री एयरलायन्सले नियमित उडान भर्नेछ ।’

सँगै आएका श्री एयरलायन्सका प्रमुख शशीधर मित्तललाई मन्त्री अधिकारीले राजविराजबाट नियमित जहाज उडान गर्न निर्देशन नै दिए । ‘यात्रु होस्, नहोस् तपाईं सधैं समयमा उडान भर्नुस्’ मन्त्री अधिकारीले मित्तललाई भने, ‘शुरुमा यात्रु नहुँदा घाटा होला, तर नाफा भएकातिरबाट यो घाटा मेन्टेन गर्नुस् ।’

मन्त्री अधिकारीले धेरैमा ४/५ महिना यस्तो समस्या आउने र त्यसपछि खचाचख यात्रु भरिने विश्वास व्यक्त गरे । ‘नियमित समयमा उडान भरेमा श्री एयरलायन्सको रेकर्ड राम्रो बन्ने बताउँदै उनले समयमा उडान नगरे रेकर्ड खराब बन्ने बताए ।

उनले नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको बताउँदै यात्रु भएमा एउटा जहाज राजविराजबाट पनि नियमित उडान गर्ने बताए ।

मन्त्री अधिकारीले ६ महिनाभित्र यो विमानस्थलमा तेल भर्ने गाडी पनि राखिने जानकारी दिदैं कार्गाे विमानस्थलको रुपमा पनि यो विमानस्थलको विकास गरिने प्रतिवद्वता जनाए ।

विमानस्थल उद्घाटन कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान गर्न श्री एयरलायन्ससँग आग्रह गरे । उनले राविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए र नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभाका सांसद एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले उडान नियमित हुने विश्वास व्यक्त गर्दै जिल्लाको विकासका लागि जुनसुकै पार्टीका भए पनि सबै जनप्रतिनिधि मिलेर अघि बढ्नुपर्ने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ७२ सिटे जहाज चल्ने क्षमता भएको राजविराज विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले सरकारको ३० करोड ३० लाखमा यो विमानस्थल निर्माण भएको बताए ।

२०१६ सालमा निर्माण गरिएको राजविराज विमानस्थलबाट झण्डै डेढ् दशकपछि जहाजको बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान गरेको थियो ।

यसअघि कच्ची धावनमार्ग रहेको विमानस्थलबाट पहाडी जिल्लाका लागि मात्रै जहाज उड्ने गर्‍थ्यो । तर जहाज उडन बन्द भएको थियो । २०६४ सालतिर करिब एक महिना तारा एयरले राजविराज-काठमाडौं उडान भरे पनि त्यसपछि जहाज उडेको थिएन ।

एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य विमानस्थलमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment