Comments Add Comment

विप्पामा मेरो कपिराइट अन्त्य भयो : बाबुराम भट्टराई

'बाहृय पूँजी नल्याएसम्म विकास असम्भव'

१० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाहृय पूँजी नल्याएसम्म विकास सम्भव नभएको बताएका छन् । साथै उनले विप्पामाथि आफ्नो कपिराइट अन्त्य भएको घोषणा गर्दै सम्झौता गर्न सरकारलाई आग्रह गरे ।

सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले भिजन डकुमेन्टका रुपमा आएको भन्दै स्वागत र समर्थन गरे । ‘नीति र कार्यक्रम अन्त्यन्त सुन्दर छ, राम्रा सपना देखाइएको छ,’ उनले भने, कछुवा गतिले हुँदैन, भ्यागुतोको उफ्राइमा जानुपर्छ । त्यसतर्फ संकेत छ ।’

यो वर्ष के गर्छौं भन्ने कुरा पर्याप्त नआएको उनले बताए ।

भट्टराईले भूराजनीतिक सन्तुलन मिलाउन र बाहृय पूँजी ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘संकेत त छन् तर भन्न हिचकिचाहट देख्छु । बाहृय पुँजीको स्वागत र संरक्षण नगरी हाम्रो राष्ट्रिय हित अनुकुल हुने गरी दुवै देशबाट पुँजी ल्याएर लगानी गरेर वस्तु निर्यात नगरेसम्म देशको विकास हुँदैन । त्यसो गर्न सुरक्षा र संरक्षणको नीति हुनैपर्छ, विप्पा सम्झौता गर्नैपर्छ ।’

‘आफैंले खनेको खाल्डोमा आफैं पर्नुहोला’

तर, विप्पा शब्दले किन संकोच पैदा गरेको छ आफूले बुझ्न नसकेको उनले बताए । उनले भने, ‘यदि बाबुराम भट्टराईले प्रधानमन्त्रीकालमा उठाएको भन्ने लागेको हो भने त्यसमा मेरो कपिराइट छैन । यही मञ्चबाट कपिराइट खारेज गरेको घोषणा गर्छु ।’

दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न २५ खर्ब खर्च गर्नु पर्ने तर, यो आन्तरिक स्रोतबाट मात्र सम्भव नहुने पूर्वप्रधानमन्त्री भट्टराईको धारणा छ । उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टी भनिहालियो । कम्युनिष्ट भन्नासाथ बाहृय पुँजी ल्याउनु हुँदैन, हिजो साम्राज्यवादी पुँजीको विरोध गरियो । अब के गर्ने भन्न थाल्नुभयो भने आफैंले खनेको खाल्डोमा आफैं परिन्छ ।’

उनले संस्थागत संरचनामा ठूलो परिर्वतन नगरी नहुने धारणा राखे । कर्मचारी प्रशासन प्रक्रियामुखी र ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोचको रहेको उनले टिप्पणी गरे ।

उनले कर्मचारीहरुबाट काम लिन सकिन्छ भने तलब बढाउन कन्जुस्याइँ नगर्न सरकारलाई सुझाव दिए ।

‘राम्रो सुविधा दिऔं, तलब पनि कति बढाउनुपर्छ बढाऔं,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘तर, पर्फमेन्सका आधारमा सम्झौता गरेर काम गराउनुपर्छ । जागिरे मानसिकता बोकेको कर्मचारी पालेर हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment