
धुलाम्मे काठमाडौंमै पनि वसन्तको मादकता कम हुँदैन । दायाँबायाँका सानाठुला रुखबाट झरेका फूलले सहरका धेरै सडकहरू रङ्गीन बन्छन् । दरबारमार्ग, घण्टाघर, बबरमहल, टुँडिखेल वरिपरिका सडकतिर झरेका प्याजी फूलको आयु जति नै छोटो भए पनि तिनले दिएको सुन्दरता मोहक नै देखिन्छ । आखिर एक छिनमा त हतारिएका मोटरगाडीका पाङ्ग्रा र मान्छेका खुट्टाले तिनलाई मारिहाल्छन् । तर जति बाँच्छन्, सबैलाई खुसी बनाएरै बाँच्छन् ।
सायद् ज्याकारान्डा फूल नदेख्ने काठमाडौंबासीको सङ्ख्या अत्यन्त कम होला । तर फेरि यसलाई ज्याकारान्डाकै रूपमा चिन्नेहरूको सङख्या पनि खासै ठुलो भने छैन । धेरै मानिसहरू यो परदेशी फूललाई शिरीष भनेर झुक्किन्छन् ।
धेरैलाई थाहा नभए पनि ज्याकारान्डा नेपालको स्थानीय फूल होइन भन्ने कुरा निर्विवाद छ । त्यसो भए यो फूल कहाँबाट कसरी नेपाल आइपुग्यो त ? अनि कसले ल्यायो ? यो किन यति धेरै मात्रामा फैलियो कि हामी आफ्नै देशमा पाइने शिरीष र यसबीचमा फरक छुट्याउन नसक्ने भयौं ? फेरि, स्थानीय प्रजाति मानिएको शिरीष चाँहि कता हरायो ? सायद् यस्ता चाखलाग्दा प्रश्नहरूको उत्तर त्यति सजिलो छैन ।
बरु जवाफ खोज्दै जाँदा यो कुरा पुष्टि हुन्छ कि ज्याकारान्डा काठमाडौंको एउटा पुरानो प्रेमी रहेछ । आफ्नी प्रेमिकालाई उसले सुन्दर त बनाएको छ नै, उनको प्राकृतिक स्वभावमा मिचाहा स्वभावको यस फूलले विस्तारै आक्रमणको प्रयास पनि गरेको रहेछ ।
दक्षिण अमेरिकादेखिको लामो यात्रा
यस वनस्पतिका विशेषताहरूका आधारमा वैज्ञानिकहरूले यसको उत्पत्ति ब्राजिल, मेक्सिको, अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी देशहरूमा भएको मानेका छन् । तर आजका मितिसम्म आइपुग्दा ज्याकारान्डा (वैज्ञानिक नामः ज्याकारान्डा मिमोसिफोलिया) एसिया, अफ्रिका र युरोपका धेरे देशहरूमा फैलिसकेको छ ।
नेपालमा भने राणा शासनका समयमा, इस्वी संवत्को उन्नाइसौँ शताब्दीको मध्यदेखि अन्त्य तथा बिसौँ शताब्दीको सुरुवाततिर यसको आगमन भएको यहाँका इतिहासविद् तथा वनस्पतिशास्त्रीहरूको मत छ । यसलाई काठमाडौं भित्राउने खास व्यक्ति को हुन् र आफ्नै देश वानस्पतिक विविधताले सुसम्पन्न भएका समयमा पनि उनी किन परदेशीसँग आकषिर्त हुन पुगे भन्ने विषयमा भने फरकफरक धारणा पाइन्छन् ।
नेपालमा पाइने वनस्पतिहरूबारे पनि धेरै जानकारी राख्ने इतिहासविद् सौरभका अनुसार प्रधानमन्त्री वीरशमशेरको परिवारका एक सदस्य, सुरशमशेर राणाले ज्याकारान्डाको बिरुवालाई सर्वप्रथम नेपाल ल्याएका हुन् । सुरशमशेरले दार्जिलिङ् अथवा भारतका कुनै अन्य पहाडी क्षेत्रबाट सन् १९२० को दशकमा यो बिरुवा ल्याएर हाल याक एन्ड यती होटेल रहेको क्षेत्रमा रोपेको उनको भनाइ छ । आफ्नो पुस्तक असहमतिमा सौरभले नेपालमा ज्याकारान्डाको दोस्रो बिरुवा सार्ने व्यक्तिका रूपमा राजा त्रिभुवनको नाम लिएका छन् । हाल जय नेपाल सिनेमा घरको अगाडि रहेको नारायणहिटी दरबारको गेटभन्दा बाहिरको तिनकुने आकारको जग्गामा राजाले ज्याकारान्डा रोपेको उनको भनाइ छ ।
अर्कातर्फ, नेपाली वनस्पतिविद् समुदायको पहिलो पुस्ताका अगुवा मानिने तीर्थबहादुर श्रेष्ठका अनुसार ज्याकारान्डा नेपाल भित्रिएको करिब डेढ सय वर्ष नै भइसकेको छ । राणा परिवारकै सदस्यले यसलाई नेपाल भित्राएको कुरामा भने उनको पनि फरक मत छैन । उनका अनुसार इस्वी संवत्मा उन्नाइसौँ शताब्दीको मध्य वा अन्त्यतिर यो बिरुवाको आयात भएको हुनुपर्छ । “तर ठ्याक्कै यो वर्ष भनेर तोक्न चाँहि गाह्रो छ ।”
ज्याकारान्डा कसरी व्यापक मात्रामा फैलियो भन्नेबारे श्रेष्ठ व्याख्या गर्छन्, “यो बिरुवा सबभन्दा पहिला राणाजीका बगैँचामा आए । अलिक पछि केही बिरुवा सडकसम्मै आइपुगे । सन् १९७०को दशकतिर (संवत् २०२७ पछाडि) सरकारले नै टुँडिखेल वरिपरि ज्याकारान्डा रोपेपछि भने यो सारा काठमाडौँभरि फैलियो ।”

सन् १९६१ (संवत् २०१७/१८)मा बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणका बेला सहरका धेरै सडक किनारामा ज्याकारान्डा रोपिएको धेरैको मत छ । सौरभ पनि यसमा सहमत छन् । तर श्रेष्ठको भनाइ मान्ने हो भने त्यति बेला काठमाडौँमा ज्याकारान्डाका बिरुवा हातमा गन्न सकिने जति मात्र थिए ।
सौरभलाई पत्याउने हो भने चाँहि टुँडिखेल अगाडिको सडक नै महारानीको भ्रमण अगाडि बनाइएको थियो र त्यति बेला नै ज्याकारान्डा लगायतका धेरै बिरुवा लगाइएका थिए ।
शिरीषको भ्रम
सम्भवतः शिरीष र ज्याकारान्डाबीचको द्विविधा (कन्फ्युजन)को इतिहास पनि काठमाडौँमा ज्याकारान्डाको इतिहास जत्तिकै पुरानो नै होला ।
हुन त यी दुई वनस्पतिबीच केही प्राकृतिक समानता नभएका होइनन् । दुबै वनस्पति मिमोसा वा अल्जिबिया परिवारका सदस्य हुन् । श्रेष्ठका अनुसार दुबै वनस्पतिका पात उस्तै देखिने भएकाले नै उनीहरू एउटै परिवारमा राखिएका हुन् ।
अल्जिबिया परिवारमा शिरीष एउटा मुख्य प्रजाति हो । शिरीषका पनि विभिन्न जात हुन्छन् । नेपालमै आठ प्रकारका शिरीष पाइने श्रेष्ठ बताउँछन् । उपयुक्त नामका अभावमा तिनलाई रङ्ग अनुसार कालो शिरीष, रातो शिरीष, सेतो शिरीष आदि भनेर चिनाउने गरिएको छ ।
समानता जत्तिसुकै भए पनि शिरीष र ज्याकारान्डाबीच झुक्किनुपर्ने कुनै तार्किक कारण भने नभएको श्रेष्ठको भनाइ छ । काठमाडौँतिर देखिने ज्याकारान्डा हल्का बैजनी रङगमा फुल्छन् भने नेपालमा त्यही रङ्गको शिरीष आजसम्म भेटिएको छैन ।
त्यसो भए यति ठुलो भ्रम कसरी जन्मियो त ?
श्रेष्ठ मात्र नभएर यस विषयमा चासो राखेका र कलम चलाएका धेरैले यसका लागि साहित्यकार पारिजातलाई दोष लगाएका छन् । आफ्नो सर्वाधिक चर्चित उपन्यास शिरीषको फूलमा उनले ज्याकारान्डालाई शिरीषको फूलका रूपमा चित्रण गरिदिएको उनीहरूको आरोप छ । “पारिजातले आफ्नो बाल्यकाल दार्जिलिङ्मा बिताइन् र त्यहाँ टन्नै शिरीषका फूलहरू देखिन् । पछि उनी काठमाडौँ आइन् र यहाँ देखिएका ज्याकारान्डालाई पनि शिरीषकै एक प्रकार भन्ठानिन्,” श्रेष्ठको मत छ, “त्यसपछि उनले आफ्नो उपन्यासको भूमिका लेखिदिनका लागि निबन्धकार शङ्कर लामिछानेलाई आग्रह गरिन् । लामिछानेलाई शिरीषको फूल कस्तो हुन्छ थाहा नै रहेनछ । अनि उनले त्यति बेलाका वनस्पति विभागका हाकिमहरूलाई शिरीष भनेको के हो भनेर सोध्दा उनीहरूले पनि ज्याकारान्डा देखाइदिएछन् ।”
सौरभले भने आफ्नो लेखमा श्रेष्ठको दाबीलाई सिधै अस्वीकार गरेका छन् । पारिजातले शिरीष र ज्याकारान्डा चिनिनन् भन्ने व्याख्यालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ छ । हुन त यो भ्रम कसरी उत्पन्न भयो विषयमा उनले पनि चित्तबुझ्दो जवाफ दिएका छैनन् ।
शिरीषलाई हुर्काउन मान्छेले गर्नुपर्ने दुःखका कारण पनि शिरीषको लोकपि्रयता घटेको र त्यसैको फल स्वरूप यो द्विविधा उत्पन्न भएको हुन सक्ने पनि श्रेष्ठ बताउँछन् । ज्याकारन्डाका बिउ विशेष मानव हेरचाहबिना नै आफैँ उम्रन र हुर्कन सक्छन् भने शिरीष बगैँचामा मेहनतसाथ हुर्काइनुपर्छ । “त्यसैले सायद् मान्छेलाई शिरीष हुर्काउनभन्दा पनि ज्याकारान्डालाई शिरीष मानिदिन सजिलो भयो होला ।”
“अलिअलि चाँहि नजिकको तीर्थ हेला भनेजस्तो पनि हो,” श्रेष्ठ अनुमान लगाउँछन्, “नत्र त शिरीष आफैँमा कम महत्व भएको वनस्पति होइन । तिनले माटोको नाइट्रोजन फिक्सिङ्मा सहयोग गरी यसलाई मलिलो बनाउँछन् । आयुर्वेदमा पनि यसको विशेष महत्व छ ।”
नेपाली नाम राखौं न त ?

सम्भवतः शिरीष र ज्याकारान्डाबीचको भ्रम दुबै वनस्पतिका लागि घातक नै छ किनकि यसमा दुबैले आफ्नो वास्तविक पहिचान गुमाएका छन् । काठमाडौंका अत्यन्त कम मानिसले मात्र महाकवि कालिदासले आफ्ना महाकाव्यहरूमा चर्चा गरेको शिरीषलाई चिनेका छन् । अर्कातर्फ ज्याकारान्डालाई ज्याकारान्डाकै रूपमा नचिनिनु पनि उत्तिकै ठुलो समस्या रहेको श्रेष्ठको तर्क छ ।
उनको भनाइलाई पत्याउने हो भने राणाका बगैँचामा काम गर्ने नेवार मालीहरूले ज्याकारान्डाको नाम थाहा नपाउँदा आफ्नै भाषामा नाम दिने प्रयास समेत गरेका थिए । “झरेका ज्याकारान्डा फूललाई हातले उठाएर हत्केलामा राखी एउटा कोणबाट हेर्दा भगेँराजस्तै देखिने भएकाले उनीहरूले त्यसलाई चखुन्चा स्वाँ नाम दिए ।” (नेवार भाषामा चखुन्चा भनेको भगेँरा र स्वाँ भनेको फूल हो ।)
तर कुनै पनि बिरुवाको नामलाई अन्यत्र फैलिएकै आधारमा अन्य संस्कृति वा भाषाको नाम दिनु गलत हुने वैज्ञानिकहरूको दाबी छ । श्रेष्ठका अनुसार एउटा वनस्पतिको नाममा त्यसको प्राकृतिक विशेषता मात्र नभएर उक्त बिरुवाको उत्पत्ति र विकास पनि कसरी भयो भन्ने विषयका सूचनाका स्रोत पनि समेटिएका हुन्छन् ।
“हुन त सेक्सपियरले पनि ‘नाममा के छ र’ भनेका छन् । यो दर्शनको आफ्नै ठाउँमा महत्व होला । तर वनस्पतिशास्त्रमा नामको खुबै महत्व छ र कुनै पनि बिरुवाले सही नाम पाउनुपर्छ,” उनी भन्छन् ।
श्रेष्ठका अनुसार संस्कृतको शिरीषलाई मिमोसा भनेर अङ्ग्रेजी नाम दिनु र ज्याकारान्डालाई निलो शिरीष वा चखुन्चा स्वाँ भनेर नाम दिनु दुबै गलत अभ्यास हुन् । यस्ता क्रियाकलापले ती वनस्पतिको पहिचान मेटिने मात्र नभई आजसम्म विकास भएको वैज्ञानिक ज्ञानको अन्वेषणमा समेत बाधा पुग्ने उनको तर्क छ ।
“यदि ज्याकारान्डालाई ज्याकारान्डा भनिएन भने न तपाईँलाई यो दक्षिण अमेरिकामा उत्पत्ति भएको भन्ने थाहा हुन्छ, न यो संसारका अन्य भागमा कसरी फैलियो भनेर थाहा हुन्छ ।”
मिचाहा प्रवृत्ति र व्यवस्थापनको खाँचो
 विगतका केही दशकमा काठमाडौं उपत्यकामा ज्याकारान्डाको फैलावट बढ्दै गइरहेको छ । यसले सहरको प्राकृतिक सौन्दर्यमा दिएको योगदानलाई सायद् सबैले प्रशंसा नै गर्लान् । तर वातावरणविद् र वैज्ञानिकहरूले भने बढ्दो ज्याकारान्डालाई पनि यहाँका स्थानीय बोटबिरुवा र वातावरणका अन्य पक्षमाथिको जोखिमका रूपमा लिएका छन् ।
विगतका केही दशकमा काठमाडौं उपत्यकामा ज्याकारान्डाको फैलावट बढ्दै गइरहेको छ । यसले सहरको प्राकृतिक सौन्दर्यमा दिएको योगदानलाई सायद् सबैले प्रशंसा नै गर्लान् । तर वातावरणविद् र वैज्ञानिकहरूले भने बढ्दो ज्याकारान्डालाई पनि यहाँका स्थानीय बोटबिरुवा र वातावरणका अन्य पक्षमाथिको जोखिमका रूपमा लिएका छन् ।
“यो रुखको स्वभाव नै छिटो बढ्नै र फैलिने हो । केही वर्षमै यो ठुलो हुन्छ भने जस्तोजुकै माटोमा पनि यो उम्रन सक्छ,” वातावरण संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइयुसिएन्का वातावरणविद् यादव उप्रेती भन्छन्, “हामी चुप लागेर बसे मात्रै पनि केही वर्षमा काठमाडौँमा ज्याकारान्डा अझ धेरै फैलनेछन् ।” उनको यो भनाइले ज्याकारान्डाको नियन्त्रणका लागि तत्कालै केही गरिहाल्नुपर्ने हो कि भनेजस्तो बुझिन्छ ।
उता विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनको प्रभाव ज्याकारान्डा र यस्ता अन्य मिचाहा वनस्पतिको फैलावटमा पनि परेको श्रेष्ठको दाबी छ । “करिब ४० वर्ष अगाडि (२०३०/३२ सालतिर) काठमाडौँको जनसङ्ख्या खासै ठुलो थिएन । बिहानबिहान तुसारो परेको हुन्थ्यो । आज, मान्छे पनि धेरै भए, गाडी पनि धेरै भए । त्यसैले सहरको तापक्रम बढ्यो । तुसारो देख्न पनि छाडियो,” उनी व्याख्या गर्छन्, “काठमाडौँ आफैँमा ज्याकारान्डा लगायत दक्षिण अमेरिकी वनस्पतिका लागि उपयुक्त वातावरण भएको ठाउँ भने होइन । तर जलवायु परिवर्तनको प्रभावसँगै यहाँ पनि यस्ता विरुवा उम्रन थालेका छन् ।”
विगतका केही वर्षमा आफूले स्वयम्भूनाथको वन क्षेत्रमा पनि ज्याकारान्डाका विरुवा देखेको श्रेष्ठ बताउँछन् । हुन त हरियो जङ्गलमा बैजनी रङ्गका फूल फुल्दा बडोे गज्जब देखिन्छ । तर तिनले स्थानीय वनस्पतिलाई विस्तारै लोप बनाउँदै लगेको हुन सक्ने उनको डर छ ।
सम्बन्धित निकायले यस विषयमा एक गम्भीर अध्ययन गरून् र ज्याकारान्डाले स्थानीय बोटबिरुवामा पारेका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने बाटो सिकाइदिऊन् भन्ने श्रेष्ठको चाहना छ । उनका अनुसार आजसम्म ज्याकारान्डामै केन्दि्रत भई नेपालमा त्यस्तो अध्ययन हुन सकेको छैन ।
त्यसो भए सहरलाई त्यस्तो चिटिक्क बनाउने ज्याकारान्डाको नियन्त्रण आवश्यक भएकै हो त ? श्रेष्ठ भन्छन्, “नियन्त्रण होइन, व्यवस्थापनको चाँहि तत्काल खाँचो छ ।”
यो सामग्री अङ्ग्रेजीमा पनि पढ्नुहोस्
Jacaranda mimosifolia: This ‘beautiful yet invasive’ plant is in love with Kathmandu for 150 years
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4