Comments Add Comment

आशंका छ, ओली रब्सपियर बन्नुहोला

केपी शर्मा ओली

‘एक्लो बृहस्पति झूठो’ भन्ने हाम्रो चलन छ । पश्चिमा साहित्यमा झण्डै समान अवधारणा छ, ‘सत्गुणी आत्मा ।’ सत्गुणी आत्माको अवधारणाको विकास र व्याख्या जाँ जाक रुसोले गर्नुभयो । फ्रान्सेली प्रवोधन, साच्चै अर्थमा विश्व प्रवोधनमा रुसोको योगदान भोल्टेयरको हाराहारी छ । फ्रान्सेली प्रवोधनबाट प्रभावित बीपी कोइरालाले जीवनको उत्तरार्धमा आफूलाई एक्लो बृहस्पति भन्न रुचाउनुभयो । जनमत संग्रहमा बहुदलको पराजय भएपछि बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिप्रति तत्कालीन राजा वीरेन्द्र उदाशीन बन्न पुगे । फलस्वरुप जनमत संग्रहपछि जारी भएको संविधानले बहुदलका पक्षमा अभिव्यक्त मतलाई उपेक्षा गर्‍यो । राष्ट्रिय एकता र मेलमिलापको नीति प्रभावकारिता र उपयोगीताबारे आम नागरिक, बुद्धिजीवी मात्रै होइन, बीपीका अत्यन्त निकट सहयात्री गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि प्रश्न उठाउन थाल्नुभयो । यसबेला बीपी आफ्नो जीवनको उत्तरार्धमा हुनुहुन्थ्यो र आफूलाई एक्लो बृहस्पति भन्नुभयो ।

रुसोको सत्गुणी आत्माको अवधारणाले त्यस्तो व्यक्तिलाई बुझाउँछ, जो नितान्त आफ्नो विवेकको मात्र साथमा एक्लै उभिन तयार हुन्छ । सत्गुणी आत्माको अवधारणाबाट सर्वाधिक प्रभावित मध्ये एक म्याक्सिमिले फ्रांस्वा रब्सपियर फ्रान्सेली राज्यक्रान्तिका एक प्रमुख पात्र थिए । उनको जीवन, संघर्ष र नियतिबाट समसामयिक राजनीतिमा हामीले पनि महत्वपूर्ण शिक्षा ग्रहण गर्न सक्छौं । रब्सपियरको जीवनबाट के शिक्षा लिने हो त्यो कुरा रब्सपियरप्रतिको हाम्रो दृष्टिकोणबाट निश्चित रुपमा प्रभावित हुन्छ ।

सोभियत यूनियनको ख्यातिका दिनमा रब्सपियरको नाम निक्कै सम्मान र गौरबका साथ लिने गरिन्थ्यो । मलाई ज्ञान छैन, नेपालका कम्युनिस्ट आन्दोलनले रब्सपियरको मूल्यांकन कसरी गरेको छ । २०७४ को आम निर्वाचनमा कम्युनिष्टहरुलाई अभूतपूर्व सफलता दिलाउने र निर्वाचनको बेला गठबन्धनमा रहेका दुई वटा कम्युनिस्ट पार्टीलाई एकीकरण गर्ने नेता केपी ओली लोकपि्रयताको चुलीमा हुनुहुन्छ । सर्वाधिक अवसर र सम्भावनाको बीचमा उभिएको हाम्रो मुलुकलाई प्रधानमन्त्री तथा एकीकरण पछिको कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले कहाँ पुर्‍याउनु हुन्छ हामी सबै नेपालीका लागि समसामयिक राजनीतिको सर्वाधिक महत्वपूर्ण प्रश्न हो ।

सत्तारोहणपछि ओलीका अभिव्यक्ति र व्यवहारले अहंकारको सिँढीमा निकै माथि उक्लिनु भए जस्तो देखिन्छ । यसबेला उहाँलाई हाम्रो सहयोग आवश्यक छ । लोकतन्त्रका मूल्य मान्यताप्रति प्रतिवद्ध प्रतिपक्ष र वर्तमान संविधान निर्माणको सहयात्रीका रुपमा हामी उहाँको कटु आलोचना गर्न तयार भए मात्र उहाँलाई त्यो सहयोग प्राप्त हुनेछ

केपी ओली सफल हुनु होस्, यसमा नै हामी सबैको हित छ । सफलताको चुलीमा रहेका नेता सत्ताको चकाचौंधमा आफ्नो लक्ष्यबाट स्खलित भएका उदाहरण विश्व इतिहासमा थुप्रै छन् । भारतले लगाएको नाकाबन्दीको समयमा आफूले प्रदर्शन गरेको चरित्र र व्यवहारबाट आर्जन गरेको प्रतिष्ठा समेतका आधारमा कम्युनिस्ट गठबन्धन निर्माण गरी आम निर्वाचनमा अभूतपूर्व सफलता प्राप्त गर्नु भएका नेता ओलीको नेतृत्व क्षमता र सफलतालाई कुनै पनि अर्थमा कम आँक्न सकिन्न । देशको प्रधानमन्त्री अवसर र सम्भावनाको अपूर्व घडीमा नचुक्नुहोस् । हामी सबैको स्वार्थ त्यही नै हो ।

तर, सत्तारोहणपछि ओलीका अभिव्यक्ति र व्यवहारले अहंकारको सिँढीमा निकै माथि उक्लिनु भए जस्तो देखिन्छ । यसबेला उहाँलाई हाम्रो सहयोग आवश्यक छ । लोकतन्त्रका मूल्य मान्यताप्रति प्रतिवद्ध प्रतिपक्ष र वर्तमान संविधान निर्माणको सहयात्रीका रुपमा हामी उहाँको कटु आलोचना गर्न तयार भए मात्र उहाँलाई त्यो सहयोग प्राप्त हुनेछ । उहाँको स्तुतिज्ञान गर्नेको लाम त निकै लामो छँदैछ नि ।

केपी ओली नेपाली राजनीतिमा रब्सपियर नबन्नुहोस्, यो चाहना छ । रब्सपियर बन्नु होला, त्यो आशंका छ । रब्सपियरको मूल आदर्श सत्गुण र जनताको सार्वभौमसत्ता स्थापना गर्नु थियो । उनी गरीब जनता र लोकतान्त्रिक संस्थाहरुको पक्षमा स्पष्टभाषी पक्षपोषक थिए । फ्रान्सभर सबै पुरुषहरुलाई वालिग मताधिकार (त्यसबेला महिलालाई मताधिकारको पक्षमा राजनीतिक परिस्थिति निर्माण भइसकेको थिएन), आधारभूत आवश्यकता र उपभोग वस्तुहरुको मूल्य मान्यता र सबै फ्रान्सेली उपनिवेशबाट दाशताको अन्त्य गर्ने पक्षमा बलियो वकालत गर्थे । उनी वामपन्थी मध्यम वर्गको दार्शनिक विश्वासका प्रवल र प्रष्टभाषी वक्ता थिए । रब्सपियरकै प्रभावका कारण ज्याकोबियन क्लबको नामबाट चिनिने राष्ट्रिय सभामा रहेको संविधान पक्षधरहरुको क्लबमा वामपन्थी प्रभुत्व स्थापित भयो । सन् १७९१ मा संविधानसभाको विघटन पश्चात पनि आम नागरिकले रब्सपियर र जेरोम पेटियोलाई सिद्धान्तको पवित्रता, साधारण जीवनशैली र घुसखोरी विरोधी आचरणका कारण अभ्रष्टनीय नेतृत्वको उपाधिले विभुषित गरेका थिए । फ्रान्सेली क्रान्तिको सफलतापछि १७९३ जनवरीमा सदैव मृत्युदण्डको विपक्षमा रहेका रब्सपियर राजा लुई सोह्रौंलाई मृत्युदण्ड दिने काममा प्रमुख भूमिका खेल्न पुगे । रब्सपियरको नेतृत्वदायी भूमिकामा तत्पश्चात गठित क्रान्तिकारी ट्रिब्युनलले आफ्नो काम थालनी गर्‍यो । आम सुरक्षासम्वन्धी समितिले आफ्नो पहिलो घोषणामा भयलाई कानुनी नीतिको औपचारिक अंगका रुपमा संस्थागत गर्‍यो । १७९३ को घोषणाले ‘समानताले आफ्नो हंसिया सबैको शीरमाथि बोक्नुपर्दछ । अब सबै षड्यन्त्रकारीहरुलाई आतंकित तुल्याउनु पर्दछ,’ भन्ने उदघोष गर्‍यो । परिणाम स्वरुप फ्रान्सेली क्रान्तिका तीन पुनित लक्ष्य; ‘स्वतन्त्रता, समानता र भातृत्व’ मध्येको दोस्रो लक्ष्य समानता पहिलो लक्ष्य स्वतन्त्रता समाप्त गर्ने हतियारका रुपमा प्रयोग गर्न थालियो ।

रब्सपियर

रब्सपियरमा आफू मात्र ठीक, आफ्नो दृष्टिमा देखेका अवरोध सबै दण्डनीय हुन थाले । उनले सत्य र न्यायको अन्तिम प्रतिविम्बका रुपमा आफूलाई देख्न थाले । उनको देवत्वकरण हुन थाल्यो । उनको विचारसँग असहमत हुनेलाई दुस्मनका रुपमा चित्रण गर्न थालियो । क्रान्ति, देश र जनताका दुस्मन भन्ने आरोपमा आमसंहार गर्न थालियो । राजनीतिलाई ‘निर्मल’ बनाउने र क्रान्तिबाट स्थापित गणतन्त्रलाई जोगाउने अपरिहार्य उपाय भय र आतंकलाई ठानियो । भयको राज (Reign of terror) संस्थागत गरियो । डर, त्रास र भयलाई द्रुत, कठोर र अनम्य न्याय भन्दा बढ्ता अरु केही हुँदैन भनेर ब्याख्या गर्न थालियो ।

रब्सपियरको नजरले ‘मानवताविरुद्ध दमन गर्ने भनेर परिभाषित व्यक्तिहरु’लाई दण्डित गर्नु क्षमादान हो । यस्ता व्यक्तिलाई क्षमादान गर्नु बर्बरता हो, जंगलीपन हो भनेर ब्याख्या गर्न थालियो । शासन झन्-झन् क्रुर हुन थाल्यो । क्रान्तिका सहयात्रीमाथि दमन र संहारको शिलसिला प्रारम्भ भयो । एकथरि क्रान्तिकारीलाई दमन गर्न सहयोग गर्ने रब्सपियरका निकटस्थ नेता जोर्ज डांतो विपक्षमा पुगेपछि उनलाई पनि १७९३ अप्रिलमा मृत्युदण्ड दिइयो । ‘आदर्श स्वरुपको सरकारलाई फ्रान्सभित्र र विदेशबाट खतरा छ । जतासुकै प्रतिक्रान्तिको ताना बुन्न थालियो । अब सबै दोषीको टाउकोमाथि कानुनको तरबार तेर्स्याउनुपर्छ,’ भन्न थालियो । आतंकको यो सिलसिलामा अन्तत रब्सपियर आफैं सिकार बन्न पुगे । उनलाई विना कुनै कानुनी प्रक्रिया १७९४ जुलाईमा मृत्युदण्ड दिइयो ।

आफू मात्रै ठीक, आफूसँग असहमति हुने सबै बेठीक हुन्, दमनका भागी हुन् भन्ने चिन्तन उग्ररुपले विकसित हुँदै जाँदा सृजना भएको भयको राज अन्त्य हुँदासम्म फ्रान्सभर १६ हजारभन्दा बढी मासिस मारिए । सत्गुण र जनताको सर्वोच्चता अर्थात समग्रमा फ्रान्सेली क्रन्तिका मूल लक्ष्य ‘स्वतन्त्रता, समानता र भातृत्व’ सुनिश्चित गर्न चाहने योद्धा रब्सपियर, तिनै आदर्शका लागि सबैभन्दा ठूलो खतरा बन्न पुगे । एक चरणमा फ्रान्सेली क्रान्तिको नेतृत्व सम्हाल्न पुगेका रब्सपियर आफैंले संस्थागत गरेको भयको राजको दावाग्निमा खरानी हुन पुगे ।

रब्सपियरको गाथा अलि नाटकीय पनि लाग्नसक्छ । नेपालको समसामयिक राजनीतिले दुर्भाग्यपूर्ण बाटो समात्न पुग्ला कि भन्ने आशंका अतिरञ्जनापूर्ण लाग्नसक्छ । तर, आम निर्वाचनबाट प्राप्त सफतापछि अत्यन्त फराकिलो बहुमतबाट संसदले निर्वाचित गरेको प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति र कार्यशैलीबाट उहाँको दम्भ, अहंकार र आफू मात्रै ठीक (self righteous) प्रवृत्ति सर्वत्र छताछुल्ल हुन पुगेको छ ।

एउटा लामो बलिदानपूर्ण संघर्षबाट खारिएका नेता ओली जीवनमा सफलताको यो चुचुरोमा आइपुगेपछि आफ्नो आदर्श र मान्यताप्रति दृढ रहनु हुनेछ भन्ने अपेक्षा राख्नु स्वभाविक हो । तर ‘देशका सबै समस्या मैले सहजै समाधान गर्छु । म जस्तो इमान्दार व्यक्ति नेतृत्वमा आएपछि अब समस्याका सबै पहाड भत्किनेछन् । जतिसुकै स्रोत र साधनको अभाव भएपनि देखेका सबै सपना पूरा गर्न सक्छु किनकी यी मेरा सपना हुन् । म थिइनँ र पो यी समस्या थिए’ भन्ने अहंकारबाट अनुकरणीय कष्टसाध्य जीवन विताउनु भएका संघर्षशील इमान्दार नेता ओली पनि स्लखित हुन सक्नुहोला भन्ने आशंका राख्नु पनि अस्वभाविक हुन्न । त्यस्तो नहोला, हुनु पनि हुँदैन । मेरो आशंका गलत सावित होस् । हाम्रा लोकतान्त्रिक संस्थाहरु अक्षुण रुपमा सुरक्षित रहुन् । यसो हुन सके सबैभन्दा खुसी हुने नागरिक मध्ये म पनि एक हुनेछु ।

तर, हामीले उहाँलाई यो खतराप्रति निरन्तर सचेत गराउन सक्यौं भने मात्र उहाँलाई सर्वाधिक सहयोग पुग्नेछ । देश गलत बाटोतर्फ नमोडिने सुनिश्चित हुन्छ । हामी सबैले मिलेर बनाएको संघीय लाकेतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई संस्थागत गर्ने संविधान चिरकालसम्म जीवित रहनेछ । सबै जातजाति, भाषा, भेष, धर्म, संकृति र भूगोलका नेपालीको विकास समृद्धिको चाहना पूरा गर्ने यात्रामा निर्णायक रुपमा अघि बढ्न सकिन्छ ।

आफूलाई नितान्त एक्लो पाउँदा पनि बृहस्पति झैं आफ्नो विश्वासमा अडिग तर सत्य बहुआयामिक हुँदोरहेछ भन्ने आस्थामा अविचलित रहने बीपी कोइरालाका अनुयायी हौं हामीहरु । सत्यमाथि प्रधानमन्त्री ओलीको एकाधिकार छैन भन्ने हाम्रो निरन्तरको खबरदारीबाट प्रधानमन्न्त्रीलाई सर्वसत्तावादी जोखिमबाट जोगिन सहयोग पुग्नेछ । उहाँलाई हामीबाट प्राप्त हुने सेवा यही हो । सबल, सशक्त र रचनात्मक प्रतिपक्षको कर्तव्य पनि यही हो ।

(लेखक डा. रिजाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डा. मिनेन्द्र रिजाल

‘एक्लो बृहस्पति झूठो’ भन्ने हाम्रो चलन छ । पश्चिमा साहित्यमा झण्डै समान अवधारणा छ, ‘सत्गुणी आत्मा ।’ सत्गुणी आत्माको अवधारणाको विकास र व्याख्या जाँ जाक रुसोले गर्नुभयो । फ्रान्सेली प्रवोधन, साच्चै अर्थमा विश्व प्रवोधनमा रुसोको योगदान भोल्टेयरको हाराहारी छ । फ्रान्सेली प्रवोधनबाट प्रभावित बीपी कोइरालाले जीवनको उत्तरार्धमा आफूलाई एक्लो बृहस्पति भन्न रुचाउनुभयो । जनमत संग्रहमा […]

ट्रेन्डिङ

Advertisment