+
+

उच्च रक्तचापको औषधि सुरू गरेपछि छाड्न मिल्छ कि मिल्दैन ?

उच्च रक्तचापको औषधिबारे भ्रम र यथार्थ

डा. मनबहादुर केसी डा. मनबहादुर केसी
२०७५ जेठ १५ गते ८:५०

हामीहरु धैरैजसो एउटा भ्रममा छौं, उच्च रक्तचापको औषधि सकेसम्म खानु हुँदैन र खान सुरु गरेपछि कुनै हालतमा छोड्नु हुँदैन भन्ने सोच्छौं । त्यही भ्रमका कारण अधिकांश नेपालीहरुले उच्च रक्तचापको समस्या हुँदासमेत सजिलै औषधिको सेवन गरेको पाइँदैन ।

नेपालीहरु दुई किसिमको रोगबाट ग्रसित छन् । झाडापखाला, रुघाखोकी, हैजा, कुष्ठ रोग टीबीलगायतका रोग अल्पकालीन रोगहरुमा पर्छन् । केही समयका लागि नियमित औषधि सेवन गरेको खण्डमा यस्ता रोग तुरुन्तै निको हुने गर्दछ । यस्ता रोगमा औषधिको सेवन लामो समयसम्म गर्नुपर्दैन ।

जबकी दीर्घकालीन रोगहरुमा भने बिरामीेले जीवनभर औषधि सेवन गर्नुपर्छ । मधुमेह, उच्च रक्तचाप, बाथ, मुटु रोगलगायतका रोग दीर्घकालीन रोगहरुमा पर्छन् । यस्ता रोगलाई नियन्त्रण गर्न विरामीले आजीवन वा जीवनपर्यन्तसम्म पनि औषधीको सेवन गर्नुपर्छ ।

नेपालीहरुमा अल्पकालीन रोगको तुलनामा दीर्घकालीन रोगको समस्या भयावह अवस्थामा छ । त्यसमा पनि उच्च रक्तचापको समस्या अझै बढी छ ।

तर उच्च रक्तचाप भएकै मानिसहरुमा पनि के भ्रम छ भने केही दिनको औषधि सेवन गरेपछि यो रोग निको हुनैपर्छ । अझ रमाइलो कुरा त के छ भने उच्च रक्तचापको औषधि बारे नपढेकाहरुलाई त बुझाउन सजिलो छ । तर पढेलेखेकाहरुलाई भने बुझाउन निकै कठीन छ ।

कसरी त ?

रोगको प्रकृति तथा औषधिको महत्वबारे राम्ररी बुझाएमा नपढेका व्यक्तिहरुले ती कुरा सजिलै बुझ्ने गर्छन् । अझ पढेलेखेको डाक्टरले भनेको भनेपछि उनीहरुले त्यो कुरा धेरै विश्वास गर्छन् ।

जबकी, पढेलेखका मानिसहरुलाई भने औषधीको भ्रम र यथार्थलाई लिएर बुझाउन निकै कठीन छ । प्रोफेसर, बैंकर, इञ्जिनियरलगायतका मानिस आफै पढेलेखेका भएकाले पनि हुनसक्छ, उनीहरुलाई दुई चक्की औषधि लेख्यो भने एक चक्की खाने, दुईटा औषधि दियो भने एउटा खाने, एउटा खानुस् भन्यो भने आधा औषधिमात्र खाने प्रवृत्ति हावी छ ।

औषधि नखाँदा समस्या थपिन्छ

नियमित रुपमा यस्ता औषधिको सेवन नगरेमा स्वास्थ्यमा विभिन्न समस्या निम्तने गर्छ । किनकी उच्च रक्तचाप आफैमा समस्या हैन । तर उच्च रक्तचापको समस्या भएमा यसले मुटु, मिर्गौला, मष्तिश्क तथा आँखालाई भने गम्भीर असर पुर्‍याउन सक्छ ।

उच्च रक्तचापको नियमित औषधि सेवन नगरे त्यसले मिर्गौला फेल हुने सम्भावना बढ्छ ।

त्यस्तै, प्यारालाइसिस हुने, हृदयघात हुने सम्भावना पनि उच्च हुने गर्छ । त्यसबाहेक, उच्च रक्तचापले आँखालाई असर गरी मानिसको भिजन लस हुने वा आँखा नदेख्नेसम्मको समस्या हुने गर्छ ।

यसबाट बच्नका लागि पनि पहिले त उच्च रक्तचापको औषधि सेवन गर्नुको उद्देश्यबारे जान्न आवश्यक छ ।

उच्च रक्तचापको औषधिको सेवनले मिर्गाैला बिग्रनबाट जोगाउन सकिन्छ । त्यस्तै, उच्च रक्तचापले मिर्गौला, मुटु, मश्तिष्क तथा आँखालगायतका अंगहरुलाई टार्गेट गर्ने हुँदा त्यस्ता असरबाट बच्नका लागि पनि चिकित्सकको सल्लाह तथा निगरानीमा उच्च रक्तचापको औषधी नियमित रुपमा सेवन गर्न जरुरी छ ।

कसरी हुन्छ त ?

उच्च रक्तचापको समस्या धेरै कारणले हुनसक्छ । गलत खानपान, बदलिदो जीवनशैली, तनाव लगायतका कारण पनि रक्तचाप उच्च हुने गर्छ । यस्ता कारणहरुले गर्दा उच्च रक्तचापको समस्या भएमा नियन्त्रणको उपाय अपनाइ हाल्नुपर्छ ।

शरीरलाई अस्वस्थ हुनबाट जोगाउन तथा शरीरलाई स्वस्थ राख्न पनि उच्च रक्तचापको औषधि नियमित रुपमा जीवनभर सेवन गर्नुपर्छ ।

(डा. केसी, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?