+
+

योगाभ्यास र ध्यानबारे सरकारी परिपत्रको तरङ्ग

जसरी हामीले मोबाइल चार्ज गर्छौं र दिनभर त्यो मोबाइलले काम गर्छ हामीलाई कुनै समस्या पर्दैन, त्यसैगरी दिनभर स्फूर्तिका साथ सकारात्मक सोचले काम गर्न मस्तिष्क ताजा र स्फूर्तिलो हुनुपर्छ जसलाई चार्ज गर्नु भनेको ध्यान, प्राणायाम र विभिन्न आसन गर्नु हो ।

डा. नरनाथ पाण्डे डा. नरनाथ पाण्डे
२०८० असोज १६ गते १७:००

भर्खरै गृह मन्त्रालयले मातहतका कार्यालयलाई जारी गरेको परिपत्रको विषयवस्तु यतिबेला नेपालमा चर्चाको शिखरमा रहेको छ । यो विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालहरूमा विभिन्न व्यङ्ग्य पनि गरेको देखिन्छ । सरकारले अबदेखि प्रत्येक कार्यालयमा काम गर्ने कर्मचारीहरूले बिहान १० देखि १०:१५ बजेसम्म कम्तीमा १५ मिनेटसम्म भए पनि योगाभ्यास/ध्यान गर्ने र तत्पश्चात् काममा लाग्नुपर्ने परिपत्र जारी गरेपछि खुशी, आश्चर्य, हाँसो र व्यङ्ग्य एकैसाथ देखापरेका छन् । जुन केही हदसम्म कुरा नबुझ्नेहरूका लागि रमाइलो गर्ने माध्यम बन्नु कुनै नौलो कुरा होइन तर यो कदम कार्यान्वयन हुनुपर्छ भन्ने जमात पनि बढी नै छ ।

हुन त नेपालमा मनाइने राष्ट्रिय योग दिवस, अन्तर्राष्ट्रिय रूपमा मनाइने विश्व योग दिवस, राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस र आयुर्वेद दिवस लगायत कार्यक्रमहरूमा गरिने योग सम्बन्धी अन्तरक्रियाका माध्यमबाट सरकारको पनि योग–ध्यानतर्फ ध्यानाकर्षण भइरहेको हुनुपर्छ । तर पनि योगलाई अझै मुख्य प्राथमिकताभित्र राख्न नसकिरहेको अवस्थामा भर्खरै गृहमन्त्रालयबाट जारी परिपत्रले योग सम्बन्धी चर्चालाई पुनः उजागर गरेको छ ।

यसबाट सरकारी तर्फबाटै योग-ध्यानलाई विशेष महत्व दिन थालिएको हो कि भनेर योग अनुरागीहरूमा थोरै आशा पलाएको छ । वास्तवमा योग-ध्यान भनेको के हो, यो किन गर्ने, कसरी गर्ने र यसबाट के फाइदा हुने भन्ने विषयवस्तु थोरैले मात्र बुझेको र धेरैले बुझेको भए पनि फरक तरिकाले बुझेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै योग-ध्यानको उपादेयता र सरकारी कदमबारे यस आलेखमा चर्चा गरिनेछ ।

डा. नरनाथ पाण्डे

सरकारी तर्फबाट नेपालमा मात्र मनाइने राष्ट्रिय योग दिवसको सुरुवात २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि भएको हो । तथापि योगलाई योग दिवसका दिन मात्रै तामझाम गरी मनाइने परिपाटी रहेको र तत्पश्चात् वर्षदिनसम्म योगलाई बिर्सने रोग स्वयं सरकारलाई समेत लागेको छ । सरकारले चाहेर गरिने योग दिवसका कार्यक्रम बाहेक अन्य अवसरहरूमा योगलाई त्यति महत्व नदिइनु दुःखको विषय हो ।

तैपनि सरकारले हालै चालेको, चाल्न लागेको र कार्यान्वयनमा व्यापक चुनौती रहेको सरकारी कर्मचारीलाई अनिवार्य गराउन लागेको योग-ध्यान बीचैमा अलपत्र नपरोस् भनी कामना गर्न सकिन्छ । आखिर योगलाई किन सरकारले महत्व दिन थालेको होला त भन्ने विषयवस्तु कोट्याउनु अघि योगका बारेमा केही चर्चा गरौं ।

योग र योगदर्शन

योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलिको योग दर्शनमा उल्लेख भए अनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ (योगश्चित्तवृत्तिनिरोधः) । शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो ।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् । नेपालमा पनि विभिन्न योग सम्बन्धी संघ–संस्था मार्फत औपचारिक र अनौपचारिक योग कक्षा सञ्चालन भइरहेका छन् भने राष्ट्रिय शिक्षाका पाठ्यक्रममा पनि योगलाई राखिएको अवस्था छ ।

जति–जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति–त्यति नै योगको आवश्यकता पनि महसुस हुँदै गइरहेको पाइन्छ ।

योग दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।

यसैगरी योग भन्ने बित्तिकै सरसर्ती बुझ्दा पसिना आउने गरी बिहान–बिहान गरिने कडा खालको शारीरिक परिश्रम हो भनेर बुझ्ने गरिएको छ । तर वास्तवमा त्यो योग नभई योगको एउटा भाग अभ्यास वा व्यायाम हो । तर योगमा व्यायाम बाहेक अन्य सात वटा भागहरू पनि छन् ।

ती सात वटा भागहरूलाई लुप्त राखी योग भन्नाले व्यायाम मात्र हो भन्ने आम मानिसमा रहेको बुझाइका कारण पनि नेपालमा योग शिक्षा राम्रोसँग अघि बढ्न नसकेको अनुमान गर्न सकिन्छ ।

हामीले बुझ्नुपर्ने र अरूलाई पनि बुझाउनुपर्ने महत्वपूर्ण कुरा के हो भने योग भनेको शरीर र मनलाई जोड्ने, मन प्रसन्न बनाउने, तनाव हटाउने, स्फूर्ति ल्याउने र मस्तिष्कलाई ऊर्जा भर्ने महत्वपूर्ण प्रक्रिया हो । योगमा आसन, ध्यान र प्राणायाम निकै महत्वपूर्ण हुन्छन् जुन व्यायाम मात्रै होइन भन्ने कुरा सुरुमा बुझ्नु आवश्यक छ ।

यदि यसरी बुझ्न सकियो भने योग जोसुकैले, जतिवेला पनि र जहाँ पनि गर्न सक्नेछन् र योगबाट पाउने मनग्ये फाइदा लिन सकिनेछ ।

नेपालमा योग

डा. हरिप्रसाद पोखरेलले २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्नुभएको र नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको इतिहास भेटिन्छ ।

२०३६ सालदेखि हालसम्मको उहाँको निरन्तर प्रयास, अथक् परिश्रम र अविरल यात्राले पाँच दशक पूरा गर्दै गर्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ ।

कम्तीमा १५ मिनेट नै सही तर दैनिक रूपमा योगाभ्यास/ध्यानमा बस्दा कर्मचारीमा केही ऊर्जा थपिन्छ र त्यसपछि गरिने काम राम्रोसँग सम्पादन गर्न सकिन्छ ।

यसैगरी पोखरेलकै अथक् परिश्रम र निरन्तरको लगावका कारण योगको महत्वलाई मध्यनजर गर्दै नेपालमा कक्षा ४ देखि १२ सम्म, स्नातक तथा स्नातकोत्तर र विद्यावारिधि तहसम्म नै योग विज्ञानमा औपचारिक रूपमा पाठ्यक्रममा समावेश भई पठनपाठन तथा अध्ययन–अनुसन्धान हुन थालेको छ ।

नेपालमा योगको महत्वलाई असाध्यै नजिकबाट बुझेर दैनिक योग अभ्यास गर्ने राजनीतिज्ञहरू कति छन् अनुसन्धानको विषय बन्ला तर थाहा पाएसम्म पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल योग अभियन्ता हुन् र उनले नै नेपालमा योगको औपचारिक प्रवेश सरकारी संयन्त्रमा गराएका हुन् भन्न सकिन्छ ।

यसैगरी वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि योग अनुरागी व्यक्तित्व हुन् र उनले पनि योगको महत्व बुझेका छन् । यसर्थ पनि गृहमन्त्रालयबाट भर्खरै परिपत्र नै जारी भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यसरी प्राचीनकालमा ऋषिमुनिहरूले विकसित गरेका यस्ता अभ्यासहरूका कारण उनीहरू जीवनभर निरोगी रही दीर्घायु समेत पाएको कुरा सुन्न पाइन्छ । आधुनिक समयमा पनि अस्तव्यस्त जीवनशैलीका कारण मानिसमा आएका विभिन्न शारीरिक तथा मानसिक समस्या र शारीरिक श्रम घट्दै जाने तर ऐस–आराम बढ्दै जाने भएपछि देखापर्ने अनेक समस्या समाधानका उपाय भनेकै दैनिक योग–अभ्यास गर्नु हो ।

फुर्सत नहुनेहरू वा अल्छी लागेर केही गर्न नसक्नेहरूका लागि समेत केही समयको योग–ध्यान भरपर्दो अभ्यास हुनसक्छ ।

योग–ध्यान एउटा त्यस्तो योग अभ्यास हो जसले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती र मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकोले यसलाई पूर्ण योगको चामत्कारिक विधि पनि भन्न सकिन्छ ।

यसलाई निरन्तर अभ्यास गर्न सकियो भने पनि स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शंका छैन । त्यसैको महत्व बुझेर पनि होला सरकारले योग–ध्यानलाई विशेष सम्बोधन गरेको छ ।

सरकारको योग ध्यान सम्बन्धी पछिल्लो कदम

भर्खरै सरकारले गृह मन्त्रालयबाट जारी गरेको परिपत्रलाई अब हाँसोको माध्यम किन बनाउनुहुँदैन भने योगमा व्यायाम मात्र हुँदैन कि आसन, ध्यान र प्राणायाम पनि हुन्छ भन्ने कुरा माथि नै प्रष्ट भइसकेको छ ।

यस्तो निरन्तर अभ्यास गर्दा व्यक्तिलाई दिनभर स्फूर्ति र सकारात्मक सोचका साथ कार्यसम्पादन गर्न सहयोगी हुनसक्छ ।

जसरी हामीले मोबाइल चार्ज गर्छौं र दिनभर त्यो मोबाइलले काम गर्छ हामीलाई कुनै समस्या पर्दैन, त्यसैगरी दिनभर स्फूर्तिका साथ सकारात्मक सोचले काम गर्न मस्तिष्क ताजा र स्फूर्तिलो हुनुपर्छ जसलाई चार्ज गर्नु भनेको ध्यान, प्राणायाम र विभिन्न आसनहरू गर्नु हो ।

मस्तिष्कलाई ऊर्जावान् बनाउन पसिना निस्कने गरी सकी नसकी थकित भएर व्यायाम गर्नुपर्दैन त्यो त शारीरिक सक्षमता प्राप्त गर्न मात्र गरिन्छ । मस्तिष्कलाई तरोताजा बनाउन र सकारात्मक सोचको विकास गराउन ध्यान अझ बढी महत्वपूर्ण हुने हुँदा सरकारले योग र ध्यान गर्ने भनेको छ ।

यति कुरा बुझेपछि अब कुनै पनि कर्मचारीले दिनभर स्फूर्ति र सकारात्मक सोचका साथ काम गर्ने हो भने योग र ध्यान निकै आवश्यक पर्नेरहेछ भनेर हामी सजिलै भन्न सक्छौं । तर सरकारको यो कदम कार्यान्वयन गर्न भने चुनौतीपूर्ण छ किनकि प्रत्येक दिन कार्यालय समय सुरु हुनु १५ मिनेट अघि योग ध्यान गर्ने भनिएको छ यसमा व्यावहारिक कठिनाइहरू छन् किनकि कर्मचारी खाना खाएर पोशाकमा आएको हुन्छ ।

त्यस अवस्थामा योग अभ्यास अन्तर्गत व्यायाम गर्नुहुँदैन । किनकि व्यायाम गर्दा सकभर खाली पेटमा र हल्का पोशाकमा बिहानको समयमा गर्नु उपयुक्त हुन्छ । तर कर्मचारीले कार्यालयमा आएपछि गर्न सकिने योग ध्यान अन्तर्गत निम्न आसन र योग गर्न सकिन्छ-

क) सुरुमा बज्रासनमा बस्ने (किनकि यो आसन खाना खाएपछि बसिने आसन हो) र यतिबेला आँखा बन्द गरी लामो श्वास–प्रश्वास ३ मिनेटसम्म लिने ।

ख) त्यसपछि करीब २ मिनेट ताडासन र तिर्यक् ताडासन गर्ने (किनकि यो आसन गर्न पनि खाना खाए पनि फरक पर्दैन, सजिलै सबैले गर्न सकिन्छ) ।

ग) अनि पुनः केही समय बज्रासन वा सजिलो आसनमा बसेर प्राणायाम गर्ने (सामान्य खालका अनुलोम विलोम, कपालभाति, बाह्य प्राणायाम वा भ्रामरी गर्दा खाना खाएपछि पनि गर्न सकिन्छ) । प्राणायाम दिनहुँ एकै किसिमको नगरी अलग अलग पनि गर्न सकिन्छ र यसका लागि ५ मिनेट समय दिने ।

घ) अन्त्यमा ध्यानमा बस्ने (अन्य आसन र प्राणायाम सकेपछि सुखासनमा बसेर मनलाई एकाग्र बनाई बाँकी समय ध्यानमा बस्न सकिन्छ) ।

यसरी कम्तीमा १५ मिनेट नै सही तर दैनिक रूपमा योग ध्यानमा बस्दा कर्मचारीमा केही ऊर्जा थपिन्छ र त्यसपछि गरिने काम राम्रोसँग सम्पादन गर्न सकिन्छ ।

केही दिनपछि योग–ध्यानले दिने फाइदाहरू प्राप्त गर्न थालेपछि बिहानै उठेर घरमै पनि योग अभ्यास गर्ने जाँगर चल्न थाल्छ, योग ध्यानप्रति चासो बढ्छ र क्रमशः योग अनुरागी बन्न सकिन्छ । यसबाट स्वस्थ कर्मचारी तयार गर्न पनि सकिन्छ ।

त्यसकारण अहिले सुरु गरिने योग–ध्यानलाई बरु कसरी कार्यान्वयन गर्ने भन्नेमा सरकारको ध्यान जानु आवश्यक छ । सुरुमा केही योग प्रशिक्षकहरूको सहयोगले कर्मचारीलाई माथि उल्लिखित योग–ध्यान सिकाउन सकिन्छ र पछि विस्तारै बानी पर्दै गई अन्त्यमा आफैंले गर्न सकिन्छ । १५ मिनेटको समय योग–ध्यानलाई कत्ति पनि पर्याप्त समय होइन, तथापि यो काम सुरु गर्नु राम्रो हुनेछ ।

योग–ध्यानबाट पाइने प्रतिफल प्राप्त हुन थालेपछि विस्तारै कर्मचारीको कार्यालय आउने समय पनि केही छिटो हुनसक्छ र समय मिल्नासाथ आफैं योग–ध्यानमा जुट्ने अभ्यास बढ्नेछ, खानपिनमा सुधार हुनेछ, शारीरिक तथा मानसिक सन्तुष्टि र उपलब्धि प्राप्त हुनेछ, काममा जाँगर चल्नेछ र सम्पादित कार्य गुणस्तरीय हुनेछन् ।

सेवाग्राहीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुने, दुःख दिने प्रचलन कम हुने, भ्रष्टाचार र कुविचार कम हुने, कार्यशैलीमा सुधार आउने र समग्र रूपमा व्यक्ति स्वयंको र कार्यालयको काममा प्रगति हुनेछ ।

त्यसकारण योग–ध्यान सबैलाई अति आवश्यक छ र विशेष आवश्यक दिनभर मानसिक श्रम गर्नेहरूलाई छ । सरकारले ल्याएको यो कार्यक्रम अत्यन्तै सराहनीय रहेको छ तर कार्यान्वयनमा चुनौती रहेकाले केही समय सरकारले प्रत्येक कार्यालयमा स्वयंसेवक योग प्रशिक्षकको व्यवस्थापन गरिदिन सक्छ, कर्मचारीलाई योग सम्बन्धी प्रशिक्षण दिनसक्छ र लागु गराउन सक्छ । बरु सरकारको यो कदमलाई सबैले साथ, सहयोग गरी निरन्तरता दिलाई कार्यान्वयनमा लैजान ढिला गर्नुहुँदैन ।

(पतञ्जलि योग समिति नवलपुरका अध्यक्ष रहेका लेखक प्राध्यापक, स्वास्थ्यकर्मी र योग शिक्षक पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?