
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद मनीष झाले अध्यागमन विभागमा मानव तस्करीको आरोप लगाउँदै गृह मन्त्रालयलाई आलोचना गरे।
- अख्तियारले सूचना दिएपछि गृह मन्त्रालयले ध्यान नदिएको र कर्मचारीलाई संरक्षण गर्न तानिएको आरोप लगाए।
- अध्यागमनको अनियमितता अन्तर्राष्ट्रिय स्तरमा भएको दाबी गर्दै छानबिन समिति गठनको माग गरे।
३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक अध्यागममा भइरहेको बदमासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको आरोप उनको थियो ।
‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९/९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो ? जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो ?,’ सांसद झाले भनेका छन्, ‘यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो ।’
आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत आरोप उनले लगाए ।
अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै छानबिन समिति गठनको माग गरे ।
‘छापामा पर्याप्त समाचार आइरहेको छ । हरेक दिन यथेष्ट प्रमाणहरू आइसके । यो सबै तपाईंको नेतृत्वमा भएको लुटतन्त्र हो । यो हाम्रो मात्र आवाज हैन । सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ,’ सांसद झाले भने, ‘त्यसकारण यसको छानविन गर्नको लागि छानविन समिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ ।’
प्रतिक्रिया 4