मंगलबार बेलुकी चलचित्र ‘हरी’को प्रिमियर काठमाडौंको जय नेपाल हलमा गरिएको छ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्रको प्रिमियर मंगलबार नै गर्दा ‘वर्ड अफ माउथ’मा बल पुग्ने विश्वास यसको निर्माणपक्षले लिएको छ ।
चलचित्रको प्रिमियरमा जय नेपाल हल भरिएको थियो । तर, चलचित्र क्षेत्रका मानिसहरुको उपस्थिती भने ज्यादै न्यून थियो । चलचित्रका मुख्य कलाकार विपिन कार्की प्रिमियरको आकर्षणमा रहे ।
सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायक कार्की ४ फरक अवतारमा देखिएका छन् । बाजे, बाबु, छोरा र जोगीको भूमिकामा विपिनलाई देख्न सकिन्छ ।
चलचित्रमा उनको साथमा सुनिता श्रेष्ठ, कमलमणि नेपाल, लक्ष्मी बर्देवा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको प्रस्तुतिलाई नौलो भनिएको छ । नेपालमा यस्तो प्रस्तुतिमा यसअगाडि चलचित्र नबनेको प्रतिक्रिया प्रिमियमार सहभागी पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरुले दिएका छन् । तर, चलचित्रले सबै बर्गका दर्शक समेट्न नसक्ने उनीहरुको विश्लेषण छ ।
चलचित्रको पहिलो हाफले दर्शकलाई मोबाइल खेलाउन बाध्य बनाएपनि दोश्रो हाफले होल्ड गर्ने धेरैले बताएका छन् । चलचित्रको प्रस्तुति थिएटर शैलीको छ । विपिन कार्कीले फेरि एकपटक आफूलाई अभिनयमा अब्बल ठहर्याएको प्रतिक्रिया प्रिमियरबाट मिलेको छ ।
प्रतिक्रिया 4