News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म ‘नुमाफुङ’ले प्रदर्शनको २५ वर्ष पूरा गरेको छ र मेन्छायेम पिक्चर्सले यसलाई नेपाली घरेलु फिल्मको धार बदल्ने सांस्कृतिक आन्दोलन भनेको छ।
- ‘नुमाफुङ’ले लिम्बु समुदायको जीवन, संस्कृति र महिलाको अवस्थालाई संवेदनशील रूपमा चित्रण गर्दै नेपाली कथालाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्याएको छ।
- निर्माता नवीन सुब्बा र आमोद राईले लिम्बु समुदायको कथा समावेश गर्ने नयाँ फिल्म ‘लाहुरेको जुत्ता’ को छायांकन आगामी अगस्टदेखि पूर्वी नेपालमा गर्ने तयारी गरिरहेका छन्।
काठमाडौं । कथानक फिल्म ‘नुमाफुङ’ प्रदर्शनको ठीक २५ वर्ष पूरा भएको छ । रजत जयन्तीको अवसरमा निर्माता कम्पनी मेन्छायेम पिक्चर्सले यो केवल फिल्म नभई नेपाली घरेलु फिल्मको धार नै बदल्ने एउटा सांस्कृतिक आन्दोलन र कलात्मक कृति बनेको जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नुमाफुङ’ ले मौलिक नेपाली कथामार्फत सीमान्तकृत र आदिवासी समुदायका जीवन, संस्कृति र आवाजलाई पर्दामा ल्याउने नयाँ ढोका खोलेको थियो ।’ त्यतिबेला नेपाली सिनेमामा कमै देखाइने यस्ता कथालाई केन्द्रमा राखेर बनेको यो फिल्मले दर्शकको मन छोएको उल्लेख गरिएको छ ।
निर्माण पक्षका अनुसार ‘नुमाफुङ’ले नेपाली कथालाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्याउन पनि महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली कथा विश्वमञ्चमा पनि उभिन सक्छ भन्ने विश्वास यसले दिलाएको विज्ञप्तिमा उल्लेख छ । साथै, दर्शकलाई आफ्नो पहिचान, संस्कृति र यथार्थप्रति गर्व गर्ने अवसर पनि यसले दिएको निर्माण पक्षको भनाइ छ ।
मेन्छायेम पिक्चर्सले ‘नुमाफुङ’ विगतको सम्झना मात्र नभई आज पनि दर्शकको भावना र चेतनामा जीवित रहेको जनाएको छ । “यो फिल्म पुस्तौंदेखि बाँचिरहनेछ,” विज्ञप्तिमा भनिएको छ । फिल्मसँग जोडिएका निर्देशक, कलाकार, प्राविधिक र यसलाई माया गर्ने दर्शकप्रति निर्माण संस्थाले आभार पनि व्यक्त गरेको छ ।
यो फिल्म किन अर्थपूर्ण ?
दृश्यभाषामा ‘नुमाफुङ’ महत्वपूर्ण मानिन्छ । यसअघि नेपाली फिल्ममा प्रायः कृत्रिम सेट, नाटकीय संवाद र परम्परागत शैली हावी हुने गथ्र्यो । तर ‘नुमाफुङ’ले गाउँ, प्रकृति, समुदाय र पात्रको मौन भावनालाई दृश्यमार्फत प्रस्तुत गर्यो ।
क्यामेराको प्रयोग, प्राकृतिक प्रकाश, लोकसंस्कृतिसँग जोडिएको वातावरण र पात्रहरूको स्वाभाविक अभिनयले फिल्मलाई जीवन्त बनाएको थियो । संवादभन्दा पनि दृश्यले कथा बोल्ने शैली नेपाली सिनेमामा त्यतिबेला दुर्लभ थियो ।
यो फिल्मले लिम्बु समुदायको जीवन, परम्परा, विवाह प्रथा र महिलाको अवस्थालाई संवेदनशील ढंगले चित्रण गरेको छ । त्यसैले ‘नुमाफुङ’ केवल एउटा पात्रको कथा नभई समाजभित्र दबिएका आवाजहरूको प्रतिनिधित्व पनि हो । नेपाली सिनेमामा सीमान्तकृत र आदिवासी समुदायका कथा पनि केन्द्रमा आउन सक्छन् भन्ने विश्वास यसले दिलाएको मानिन्छ ।
फिल्म हेर्नुपर्ने अर्को कारण यसको समयभन्दा अगाडि रहेको दृष्टि पनि हो । अहिले विश्वभर ‘लोकल स्टोरी, ग्लोबल अपिल’ भन्ने अवधारणाको चर्चा हुन्छ । ‘नुमाफुङ’ले त्यही कुरा दुई दशकअघि नै प्रमाणित गरेको थियो । आफ्नै माटोको कथा बोलेर पनि अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्न सकिन्छ भन्ने उदाहरण यो फिल्म बनेको थियो ।
आज पनि ‘नुमाफुङ’ हेर्दा दर्शकले केवल एउटा पुरानो फिल्म हेरेको अनुभूति गर्दैनन् । बरु, नेपाली समाजको एउटा यथार्थ, संस्कृति र सिनेमाको बदलिँदो चेतनालाई नजिकबाट महसुस गर्न सक्छन् । त्यसैले यो फिल्मलाई नेपाली सिनेमाको पाठशालाजस्तै मानिन्छ ।
यो फिल्मका निर्माता नवीन सुब्बा र आमोद राई नयाँ फिल्म ‘लाहुरेको जुत्ता’ निर्माणको तयारीमा छन् । लिम्बु समुदायकै कथा समावेश हुने यो फिल्मको छायांकन अगस्टदेखि पूर्वी नेपालका ताप्लेजुङ र पाँचथरमा हुनेछ । अनिल सुब्बासहित नयाँ कलाकारलाई लिएर अहिले वर्कसप भैरहेको निर्माता आमोद बताउँछन् ।
प्रतिक्रिया 4