Comments Add Comment

सस्ता मोटरसाइकलको मूल्य पनि ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ?

किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ ।

तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । यसमा ५ हजारदेखि ३० हजारसम्म मूल्य बढ्नेछ । ‘हेभी’ मोटरसाइकलको मूल्य त झन् १ देखि ५ लासम्मै बढेको छ ।

कुन सीसीमा कति बढ्यो ?

नयाँ करका आधारमा अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।

तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा निकैमाथि जानेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा २५० सीसीसम्मका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने बताउँछन् ।

उनकाअनुसार बढेको अन्तः शुल्क र सडक दस्तुर वृद्धिका कारण १५० सीसीभन्दा माथि र २५० सीसीभन्दा तलका बाइकमा ३० हजारसम्म मूल्य बढ्ने छ ।

त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ ।

४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाखसम्म मूल्य बढ्नेछ । सीसी क्षमता जति बढी हुन्छ, त्यसैका आधारमा अन्तशुल्क लाग्ने भएकाले महंगा बाइकको मूल्य ५ लाखसम्म बढ्ने उनको भनाइ छ ।

ठूला सीसीका बाइकलाई लक्जरी मानेर सरकारले कर बढाएपनि व्यवहारिक पाटो भने नहेरिएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष गोल्छाले बताए ।

‘पहाडी बाटोका ठूला सीसीका बाइक अति जरुरी हुन्छ । कम सीसीका बाइक सुरक्षाका मामिलामा कमजोर हुन्छन् । त्यसैले ठूला सीसीका बाइकमा कर लगाउँदा मध्यमवर्ग नै मारमा पर्ने देखिन्छ,’ गोल्छाले भने, ‘सरकारले कर बढाउने नीति लिँदा नागरिकको सुरक्षामा सम्झौता गरेको देखिन्छ ।’

पहाडी क्षेत्रका सडकहरु अझै राम्रो अवस्थामा नभएका कारण ठूला सीसीका सवारी नै चाहिने अवस्थालाई सरकारले बुझ्न नसकेको आरोप लगाए । ‘ठूला इन्जिन क्षमताका गाडी विलासी मात्रै हैननन्, सुरक्षित पनि हुन् । कर लगाउँदा यतातर्फ ध्यान दिन सकेको भए राम्रो हुन्थ्यो’ गोल्छाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment