Comments Add Comment

छापामा आजः ४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसद् आक्रोसित

१८ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथिमिकतामा विविध विषयहरु परेका छन् ।

सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे आज पनि केही पत्रिकाहरुले लेखेका छन् । ‘बजेटमा प्रदेशको प्रखर विरोध’ शीर्षक दिएर नयाँ पत्रिकाले खबर छापेको छ भने निर्वाचन क्षेत्र कार्यक्रममा सांसद् असन्तुष्ट बनेको समाचारलाई कान्तिपुर र गोरखापत्र दैनिकले समेटेका छन् ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीले बिहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेको खबरलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । सनम शाक्यको हत्या र लुटिएको साढे ३३ किलो सुनबारे मन्त्रिपरिषदले विशेष समिति बनाएर छानबिन थालेलगत्तै खत्री फरार थिए ।

अन्नपूर्णले प्रधानमन्त्रीको हाइटेक प्रचारशैलीबारे चर्चा गरेको छ भने नागरिकले यातायात सिन्डिकेटको विषयलाई मुख्य समाचार बनाएको छ ।

४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसद् आक्रोसित


स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याइएको ४ करोड एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोसित भएका छन् ।

कान्तिपुर दैनिकका अनुसार स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट विनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरे ।

नयाँ व्यवस्थाअनुसार सरकारले विनियोजन गर्ने चार करोड रुपैयाँ स्थानीय तहले खर्च गर्ने भएपछि उनीहरु विरोधमा उत्रिएको समाचारमा उल्लेख छ ।

युवाको उमेर घटाइँदै

सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ ।

कान्तिपुरका अनुसार अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउँदै युवाको उमेर घटाउने तयारी गरिएको छ ।

कान्तिपुरमै पानीपुरी बेचेर क्यान्सरपीडितलाई किशोरीहरुले सहयोग जुटाएको खबर छ ।

नारी स्वतन्त्रता नामक टोलीमा संलग्न किशोरीले ललितपुर, नख्खुका ९ वर्षीय समर्पण मिश्रलाई ४७ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

कागजमा काम, खल्तीमा दाम


जिल्ला वन कार्यालय बाराले विभिन्न कार्यक्रमका नाममा वार्षिक लाखौं रकम खर्च गरेको प्रतिवेदन देखाए पनि स्थलगत अनुगमन गर्दा अधिकतम कार्यक्रम कागजमै सीमित देखिएको नागरिक दैनिकमा समाचार छ ।

वन मन्त्रालयका सहसचिव चन्द्रमान डंगोलको नेतृत्वमा गठित छानबिन टोलीले यस्तो अनियमितता पत्ता लगाएको हो ।

आर्थिक वर्ष २०७२–७३ मा जिल्ला वन कार्यालय बाराले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रममा १ करोड ८० लाख, वृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रममा १ करोड १६ लाख, बहुसरोकारवाला वन कार्यक्रममा ८८ लाखलगायत विभिन्न शीर्षकमा लाखौं बजेट खर्च भएको प्रतिवेदनमा देखाएको छ । तर वन कार्यालयले प्रगति विवरणमा उल्लेख गरेको अधिकांश कार्यक्रम कागजमै सीमित पाइएको छानबिन टोलीको ठहर छ ।

नेकपाको केन्द्रीय कार्यालय दुई ठाउँबाट चल्ने

नयाँ पत्रिका दैनिकका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रुपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।

नेकपा सचिवालय बैठकले पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको समाचारमा उल्लेख छ ।

एसएसपी खत्रीले किन गरे आत्मसमर्पण

एसएसपी श्याम खत्रीले किन आत्मसमर्पण गरे ? धेरैमा उत्पन्न यो जिज्ञासाको जवाफ खोज्ने प्रयास आजको नयाँ पत्रिका दैनिकले गरेको छ ।

नयाँ पत्रिकाका अनुसार, खत्रीले आफूलाई असुरक्षित महसुस गरेर अदालतसमक्ष आत्मसमर्पण गरेका हुन् ।

‘खुला सिमानाको फाइदा उठाउँदै भारत गएका खत्रीले त्यहाँ पनि आफूलाई असुरक्षित देखे’, नयाँ पत्रिकाले लेखेको छ, ‘किनभने गायब भएको भनिएको सुन भारतीय तस्कर समूहकै थियो ।’

अर्कातिर डिफ्युजन नोटिसले पनि उनलाई आत्मसमर्पण गर्न दबाव परेको थियो ।

११ लाख निकालेर प्रअ सम्पर्कविहीन, भवन निर्माणको रकम यार्सा व्यापारमा

डोल्पाको एक विद्यालयमा भवन निर्माणको रकम बैंकबाट झिकेर यार्सा व्यापारमा प्रयोग गरिएको समाचार नयाँ पत्रिकामा छ ।

मुड्केचुला गाउँपालिका–३, को नवज्योति आधारभूत विद्यालय भवन निर्माणको ११ लाख बैंकबाट निकालेर यार्सा व्यापारमा प्रयोग गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ डोल्पा र नवज्योति आधारभूत विद्यालय डिडिङबीच दुईकोठे भवन निर्माणका लागि सम्झौता गरिउको रकम अर्कै विद्यालयका प्रधानाध्यापकले निकालेर यार्सा व्यापार गरेको समाचारमा उल्लेख छ ।

विद्यालयको भवन निर्माण भइरहेको र अन्य निर्माणको सामग्री खरिद गर्न भवन निर्माण समितिका पदाधिकारी पैसा निकाल्न जाँदा अर्कै विद्यालयका प्रधानाध्यापकले निकालेको पाइएको भवन निर्माण समितिका अध्यक्ष पदम थापाले नयाँ पत्रिकालाई बताएका छन् ।

यसैबीच विद्यालयको खातामा जम्मा भएको विनाशीर्षकको ११ लाख निकालेका प्रधानाध्यापक तिलक खड्का सम्पर्कविहीन भएका छन् । शिक्षाले रकम फरक विद्यालयमा गएको थाहा पाएपछि प्रधानाध्यापक खड्का सम्पर्कमा आउन नचाहेको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताए ।

हिलारी स्टेपमाथि शेर्पा गाइडको हत्या आशंका

वैशा ३१ गते युक्रेनी अारोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्किने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको उनको परिवारले दाबी गरेको छ ।

अन्नपूर्णका अनुसार, अवैध डिजिटल मुद्राको हार्डडिस्क सगरमाथा शिखरमा गाडेर गरिएको प्रचारको रहस्य खुल्ने डरले आरोहण दलका सदस्यबाटै हत्या भएको आशंका उनका परिवारले गरेका छन् । उनको परिवारले सरकारसँग घटना अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरेको छ ।

१६ सय कर्मचारी कारबाहीको सूचीमा

सरकारको काम कहिले जाला घाम प्रवृत्ति सरकारी कर्मचारीमा अहिले पनि यथावत देखिएको छ । संघीय शासन प्रणाली लागू भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्मचारेका कामचोर प्रवृत्ति नरोकिको छड्के अनुगमनले देखाएको अन्नपूर्णमा खबर छ ।

देशभरका ८ सय ५० वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनपछि कामचोर र आचरणविरोधी काम गर्ने १ हजार ६ सय कर्मचाी कारबाहीको सूचीमा परेका छन् ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन र अनुगमनले अधिकांश सरकारी कार्यालय समयभन्दा ढिलो गरी आएको र कामचोर प्रवृत्ति यथावत रहेको देखाएको समाचारमा उल्लेख छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment