+
+
Shares

डोटीमा बनेनन् सडक पुलहरु, कहिले बन्ने भन्ने अन्योल कायमै

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते १२:४९

१८ जेठ, डोटी । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ०७१ साल असार २९ गते सम्झौता भएको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ ।

पहिलो पटक भएको तीन वर्षे सम्झौताको ०७४ साल असार २९ गते सम्पन्न भएपछि न त अर्को सम्झौता भएको छ, न सम्बन्धित निकायले सम्झौता रद्द गरेको छ ।

मूल्य अभिबृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्वाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो ।

पुल निर्माण हुने समयावधी समाप्त भएर पनि एक वर्ष करिव बितिसक्दा पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन् ।

पुल निर्माणको कार्य सुरु भएपछि आफुहरु पनि सडक सञ्जालमा जोडिने आश लगाएर बसेका स्थानीयहरु फेरी निराश हुन थालेका छन् । सेती नदीमा पुल नहुँदा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन ।

पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने डिभिजन सडक कार्यालयका इन्जिनियर बसन्तकुमार गायी बताउँछन् । ‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन’ इन्जिनियर गायी भन्छन् ‘अर्को मेसिन ल्याउनु पर्ने तर आईपुेको छैन ।’ उनले करीव १० प्रतिशत मात्रै काम भएको बताए । निर्माणका कम्पनीका सञ्चालक डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुन ।

यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनु पर्ने अर्को सडक पुल ६ वर्ष पुग्दासमेत सञ्चालनमा आएको छैन ।

जोरायल गाउँपालिकाको कुम्रेली गाड (खोला) मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय कुलपाते, डोटी र एस.बि.ए., चन्द्र एण्ड बसन्त र आई.एस.जे.भि. निर्माण कम्पनीहरुले २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम सुरु भएको थियो ।

कुल लागत दुई करोड ५८ लाख ७२ हजार नौ सय १७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पुरा हुन नसकेको हो ।

‘ठेकेदारको लापर्वाहीका कारण योजना समयमा सम्पन्न हुन नसकेको हो’ उक्त योजनाको साइड हेर्ने सडक डिभिजन कार्यालयका इन्जिनियर महानन्द जोशीले भने ‘सम्झौता भएको समयमा निर्माण कार्य सम्पन्न नभएका कारण १० प्रतिशत हर्जना लिन्छौं ।’

निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नु पर्ने र ढिलो भएमा हर्जना तिर्नु पर्ने बताउँदै जोशीले भने ‘यदी पुल सम्पन्न नगरेरै छोड्छन भने कम्पनीलाई कालो सूचीमा राख्छौं, अब हामी कारवाहीको प्रक्रियामा छौं, तीन वटै निर्माण कम्पनीहरुलाई कारवाही हुन्छ ।’

तेस्रो पटक ०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भएपनि ०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?