Comments Add Comment

काम गर्न भारत छिरेका गणेश २४ वर्ष जेल परेर फर्किए

२२ जेठ, कञ्चनपुर । युवा अवस्थामै कमाउनका लागि भारत गएका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताएका थिएनन् ।

कमाउन भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्किएका उनलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो ।

पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उनलाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पुर्‍याइयो र उनले पूरै युवा उमेर सोही कारागारमा बिताउनुपर्‍यो । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताए ।

‘कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन’ उनले भने ‘कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।’ ६ महिनाअघि उनी रिहा भएका छन् ।

‘रिहाइ भएपछि काठ बोक्ने ट्र्याक्टरमा काम गर्न थालेँ । सोही क्रममा नेपालीसँग भेट भयो । मैले तपार्इंहरु नेपाली हो भनेर सोधेँ’ उनले भने, ‘उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ ।’

उनीहरुले फेसबुकमा ऐरको फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याएका हुन् । उनी सोमबारमात्रै घर आइपुगे । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा ऐर भारततर्फ गएका थिए । श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भनिन् ‘धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।’

‘यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पुर्‍याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौं’ उनले भने ।

भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भने, ‘भेटिएपछि खुसीको सीमा नै रहेन ।’

वर्षौंअघि हराएका उनी भेटिएपछि गाउँका सबै बासिन्दामा खुशियाली छाएको छ । गाउँका सबैजना भेट्न उनको घरमा जम्मा हुन थालेका छन् । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिनाहिचकिचाहट सुनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment