Comments Add Comment

श्रीमती बाहेकको महिलासँग सम्पर्क गर्दा शीघ्र स्खलन हुन्छ, के गरौं ?


करुणाजी,  म ३७ वर्षीय स्वस्थ पुरुष हुँ । मेरो विवाह भएको ११ वर्ष पूरा भयो । आफ्नी श्रीमतीसँग सम्बन्ध सहज नै छ तर उनी मजस्तो यौनमा क्रेजी छैनन् । म सातामा दुईपटक यौन सम्पर्क राख्न चाहन्छु । तर उनी एक महिनाभन्दा बढी बितिसक्दा पनि सम्पर्कका लागि तयार हुन्नन् । सुरुमा मैले उनलाई ‘सातामा एकपटक यौन सम्पर्क राख्नै पर्छ’ भनेर कर गरेँ । तर उनले यसलाई गलत रुपमा लिन थालिन् । अरु कुरा ठीक भए पनि हाम्रो यौन व्यवहार नमिलेपछि समस्या आउन थाल्यो ।

म घर बिगार्न चाहन्न थिएँ । यही कारण मेरो एक जना एकल महिला साथीसँग सहमतिमा यौन सम्बन्ध रहँदै आएको छ । मेरो समस्या ती महिलालाई थाहा भएको र उनी पनि एक्लै भएकाले हामीले अति गोप्यरुपमा केही वर्षदेखि हाम्रो सम्बन्धलाई सहजरुपमा अघि बढाउँदै आएका छौं । उनी मेरो घर बिगार्न नहुने पक्षमा छिन् । किनभने हामी दुवैको स्वार्थ केवल सम्पर्क मात्र हुने गरेको छ । आजभोलि म श्रीमतीसँग महिनाको एकपटक र मेरो यौन साथीसँग साताको एकपटक यौनसम्पर्क राख्छु ।

सबै कुरा ठीक भए पनि एउटा कुरा गलत भइरहेको छ । त्यो के भने श्रीमतीसँग सम्पर्क राख्दा मेरो यौनअवघि लामो हुन्छ, श्रीमती सन्तुष्ट हुन्छिन् । जब मेरी साथीसँग सम्पर्क राख्छु, त्यो बेला उनी सन्तुष्ट हुनुअघि नै मेरो शीघ्र स्खलन हुन्छ ।

मेरो यौन जीवनलाई सरल बनाउने मेरी साथीप्रति म अनुग्रहित छु । उनलाई पनि मेरी श्रीमती झैं सन्तुष्टि दिन चाहन्छु । उनका लागि मैले केही औषधिको प्रयोग गरें । श्रीमतीको हकमा ती औषधीले राम्रै काम गरे पनि उनको हकमा भने औषधीले पनि काम गर्दैन । पहिले एउटा समस्या थियो, अहिले दोहोरो समस्या थपिएको छ । म के गरौं  ?

प्यारो मान्छे ,

प्यारेजी, तपाईंको कुरा इन्ट्रेस्टिङ् छ । एक प्रकारले हेर्दा तपाईंले श्रीमतीलाई यौनमा धोका दिएको जस्तो लाग्छ । तर उनको इच्छाअनुसार प्रेमपूर्वक नै तपाईंले भनेजस्तै तपाईंको जीवन चलेको हो भने यसलाई अन्यथा भनिहाल्न मिल्दैन । तर हेक्का राख्नुपर्ने कुरा के हो भने दुवै डुंगामा एकसाथ सवार गर्दा भविष्यमा केही समस्या आउँछ कि भन्नेमा सचेत हुनुपर्छ । तपाईंको एकल महिलासँगको सम्बन्ध केवल दुवैको यौन इच्छा पूरा गर्नेसम्म मात्र सीमित हुनुपर्छ । एकल महिलालाई पनि यौनको उत्तिकै आवश्यकता हुन्छ, जति तपाईंलाई हुन्छ । अझ ४० वर्षसम्म त यो शरीरका लागि अनिवार्य आवश्यकता बन्न पुग्छ । तर यौनको साथी अन्य कुरामा पनि नजिक हुने भएकाले दुबै बौद्धिक, समाजको समस्या बुझ्ने र एकअर्कालाई हानी नपुर्याउने किसिमले अघि बढ्नुपर्छ । तपाईंकि यौनसाथी यस कुरामा सचेत हुनुहुन्छ भने धेरै राम्रो हो ।

अचेल म श्रीमतीसँग महिनाको एकपटक र मेरी यौन साथीसँग साताको एकपटक यौनसम्पर्क राख्छु । श्रीमतीसँग यौनअवधि लामो हुन्छ, साथीसँग सम्पर्क राख्दा शीघ्र स्खलन हुन्छ

अब जाउँ, तपाईंको समस्यामा । धेरै मानिस यौनको कुरा गर्नासाथ सीधै यौन सम्पर्क हो भन्ने बुझ्ने गर्छन् । तर यो सही होइन । यौनका कुरा गर्दा यसका चरणहरुका बारेमा जानकारी राख्नुपर्ने हुन्छ । यौनसम्पर्क भनेको माया व्यक्त गर्ने, प्रतिबद्धता व्यक्त गर्ने माध्यम वा भनौं एकअर्कालाई केयरिङ गरिरहेको अभिव्यक्ति पनि हो । यौनका रहस्यमय पक्षका बारेमा थुप्रै अध्ययन अनुुसन्धान पनि भएका छन् । यौनपूर्वका तयारीहरु या भनौं पूर्वाभ्यासहरु विना सीधै यौन सम्पर्कमा पुग्ने मानिस कोही पनि खुसी हुँदैनन् । यस तथ्यलाई मैले पहिला पनि उल्लेख गरेकी थिएँ ।

यौन सम्पर्कका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको व्यक्ति यसका लागि तयार भएको अवस्था हो कि होइन ? हो भने त्यस जोडीको यौन सम्पर्कलाई समाजले स्वीकृति दिन्छ कि दिँदैन ? राज्यको कानूनले अनुमति दिन्छ कि दिँदैन ? यस्ता थुप्रै प्रश्नहरुको जवाफ खोज्नुपर्ने हुन्छ ।

त्यसपछिको दोस्रो चरणमा यदि यी सबै परीक्षामा उत्तीर्ण भैसकेको हो भने यौन सम्पर्कका लागि तयार भएका जोडीले यौनमय परिवेश निर्माण गर्न सकेका छन् कि छैनन् भन्ने थाहा पाउनुपर्ने हुन्छ । संसारमा मान्छेहरुले विभिन्न किसिमले यौन आनन्द लिने गरेका हुन्छन । तीमध्ये यौन सम्पर्कका लागि तयारी भएको त्यस जोडीले कुन विधि र प्रक्रियाबाट बढी सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने ठानेका हुन्, यी सबै पक्षको लेखाजोखा गरेपछि कुनै पनि जोडीले सन्तुष्टि प्राप्त गर्न थाल्छ ।

जस्तो कि यौनसँग सम्वन्धित विषयवस्तुका बारेमा छलफल तथा कुराकानीहरु गर्ने, यौनका लागि आत्मियता कायम गर्ने, आपसमा माया र भावना साटासाट गर्ने, आपसमा शारीरिक घर्षणहरु, चुम्बन, मसाजलगायतका गतिबिधि गर्ने अर्को चरणका महत्वपूर्ण पक्ष हुन् । अन्त्यमा यौन सम्पर्क गर्दै यसको चरमोत्कर्षमा पुग्ने विधि सही हो ।

तर धेरै मानिसहरु यी सबै प्रक्रियाहरु पार गर्दैनन् र चरम सन्तुष्टि पनि प्राप्त गर्न सक्दैनन् । यी सम्पूर्ण कुराहरुको अभावमा मानिसहरुमा केही न केही त्रास, डर वा शंका उपशंकाहरु हुन्छन् र यिनले गर्दा यौन सम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ । यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोबिज्ञानसँग पनि सम्वन्धित छन् ।

यौन सम्पर्कको क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुवैजनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ । सामान्यरुपमा भन्दा दुवैलाई यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास समस्या पनि आउँदैन । तर शीघ्र स्खलनको समस्या दुईजना पार्टनरबीचमा फरकफरक हो भने यसमा विशेषगरी माया गर्ने, त्यसलाई व्यक्त गर्ने र भावना साटासाट गर्ने बानीको कमी हो कि भन्ने बुझिन्छ । अर्को व्यवहारजन्य र मनोबैज्ञानिक कारणमा चाहिँ यौनको बारेमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र विभिन्न किसिमका डर त्रासजन्य कुराहरु जिम्मेवार रहने गरेका छन् ।

अस्वीकृत यौन सम्वन्ध, परस्त्रीगमन, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने बिभिन्न किसिमका डर त्रासका कारणले यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ । यस्तो बेलामा शीघ्र स्खलन हुनसक्छ ।
यौनका विषय अनि शीघ्र स्खलनका बारेमा थुप्रै अध्ययनहरु भएका छन् । स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययनहरु भएका छन् । अध्ययनहरुले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नु अघिको समयावधि औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ । केहीमा ७ देखि १३ मिनेटसम्म लम्बिने गरेको छ । तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिला यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्र स्खलनको अवस्था भनेर परिभाषित गरिएको छ ।

अर्को कुरा, टेस्टोस्टेरोन हर्मोन बढी भएमा पनि यस्तो स्थिति आउने तथ्यहरुले देखाएका छन् । मधुमेहका रोगीहरुमध्ये केहीमा यौनांग उत्तेजित कम मात्रामा हुने कारणले गर्दा पनि शीघ्र स्खलन हुने गरेको अध्ययनहरुबाट पत्ता लागेको छ । हाइपरथाइरोइडिज्म र शीघ्र स्खलनको पनि सम्वन्ध छ । हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने गरेको अध्ययनहरुले देखाएका छन् । यसकालागि भने डाक्टरसँग सम्पर्क गर्नुपर्ने हुन्छ । डर, चिन्ता तथा ग्लानी भएको खण्डमा मनोविद् या मनोचिकित्सक समक्ष गएर आवश्यक परामर्श लिनु उपयुक्त हुन्छ ।

तपाईंको श्रीमतीको हकमा लामो समय यौन सम्पर्क गर्न सक्नु र यौनसाथीको हकमा छिटो स्खलन हुनुले तपाईंको मनमा यो गलत काम हो भन्ने भाव परेको हुनसक्छ । यसलाई हटाउन पनि तपाईंले मनोविज्ञसँग सम्पर्क गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment