Comments Add Comment

दश महिनामा ९ खर्ब ८४ अर्बको सामान आयात, निर्यात ६६ अर्बको मात्रै

९ खर्ब १९ अर्बको ब्यापार घाटा


२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ को दश महिना (वैशाख)सम्ममा कुल वस्तु व्यापार घाटा ९ खर्ब १९ अर्ब १८ करोड बराबर पुगेको छ । २२.९ प्रतिशतले विस्तार भएर ब्यापार घाटा १० महिनामै ९ खर्ब नाघेको हो ।

समीक्षा अवधिमा वस्तु आयात २१.९ प्रतिशतले बढेर ९ खर्ब ८५ अर्ब ८३ करोडको समान भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.९ प्रतिशतले बढेको थियो ।

यो अविधमा  कुल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष जम्मा ६६ अर्ब ६५ करोड रुपैयाँको वस्तु नेपालबाट विदेशमा निकासी भएका छन् ।  अघिल्लो वर्षको सोही अवधिमा निर्यात भने ९.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा यो वर्ष भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा अलैंची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवा, लगायतका वस्तुको निर्यात बढेको छ भने जीआई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भने भारतबाट भएको आयात २३.४ प्रतिशत, चीनबाट भएको आयात २२.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एम.एस.विलेट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment