Comments Add Comment

छापामा आजः खाद्यान्न लुकाए अब १० वर्ष कैद, २०८५ सालसम्म प्रधानन्यायाधीश ‘प्याक’

सस्तोमा जग्गा नबेचेको भन्दै दाङमा महिला कुटिइन्


२९ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् ।

बजारमा गुणस्तरहीन वस्तुहरुको बिक्री–वितरण बढेकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । राजधानीका २५ डेरी उद्योगका ४२ ब्रान्डका दूधमध्ये ४० वटामा मानव स्वास्थ्यलाई हानिकारक सोडियम बाइकारबोनेट फेला परेको पत्रपत्रिकाहरुले लेखेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच सिंगापुरमा हुन लागेको शिखरवार्तालाई पनि आजका पत्रपत्रिकाहरुले चासोका साथ समेटेका छन् । ट्रम्प र किमबीच लामो गलफत्तीपछि आज सिंगापुरमा वार्ता हुँदैछ ।

यसका अतिरिक्त फिरौती माग गर्दै अपहरण गरिएको बालकको हत्या भएको, छाउगोठमा सर्पले डसेर किशोरीको ज्यान गएको, माओवादी मजदुरमा ऋणको पिरलो थपिएको, सस्तोमा जग्गा नबेचेको भन्दै महिला कुटिएको लगायत समाचारले पनि आजको पत्रपत्रिकामा स्थान पाएको छ ।

राजदूत नियुक्तिका लागि नयाँ मापदण्डको गृहकार्य

सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्दै राजदूत नियुक्तिका लागि नयाँ मापदण्डको गृहकार्य थालेको नयाँ पत्रिकामा समाचार छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । त्यतिबेला बहालवाला निर्वाचित जनप्रतिनिधिलाई मात्र समेटिएकोमा अब अवकाश पाइसकेका कर्मचारी तथा उच्चपदस्थ अधिकारीसमेत समेटिने गरी आचारसंहिता तयार भइरहेको समाचारमा उल्लेख छ ।

चिनियाँ ठेकेदार बेपत्ता, त्रिभुवन विमानस्थल विस्तार अलपत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी बेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको चीनको सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कविहीन छ ।

कारोबार दैनिकका अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई १८ महिनाभित्र ३ सय मिटर धावनमार्ग निर्माणको जिम्मा दिएको थियो ।

गुप्तचरको सेटै परिवर्तन

राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखाबाट खटिने पूरै सेट विभाग तानिएको छ ।

नेपाल समाचारपत्रका अनुसार सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन ।
विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले विमानस्थलको निगरानी उपशाखामा खटिएका टोली विभागमा बोलाएको पुष्टि गरेको भन्दै नेपाल समाचारपत्रले खबर लेखेको छ ।

त्यहाँ खटिएका अनुसन्धान टोलीले सन्तोषजनक काम नगरेकाले विभागमा तानिएको विभाग स्रोतले बतायो ।

२०८५ सालसम्म प्रधानन्यायाधीश ‘प्याक’

सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ ।

न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्चमा अहिले १९ जना न्यायाधीश कार्यरत छन् भने वरिष्ठताका आधारमा २०८५ सालसम्मका लागि प्रधानन्यायाधीशमा नियुक्त हुन योग्य देखिएका छन् ।
समाचारपत्र लेख्छ– सर्वोच्चमा ३ वर्ष सेवा अवधि पूरा गरेका न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरा छन् ।

खाद्यान्न लुकाउनेलाई १० वर्ष कैद

खाद्यान्न लुकाएर भोकमरीको अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो खानेकुरा राखेर अरुलाई भोकमरीको अवस्थामा पुर्याएमा १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने ेव्यवस्था गरिएको नागरिक दैनिकको समाचारमा उल्लेख छ ।

त्यसैगरी आपतका बेला चाहिने खाद्यवस्तु भण्डारण गर्न लैजाँदै गर्दा कसैले बाटोमै लुटेमा पनि तीन महिनासम्म कैद, २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । मौलिक हक कार्यान्वयनका लागि संसदमा पेस हुने क्रममा रहेको खाद्यसम्बन्धी विधेयकमा कसैलाई पनि भोकमरीमा पर्न नदिने उल्लेख छ ।

नागरिकमै बजारमा मानव स्वास्थ्यमाथि गम्भीर असर गर्ने अखाद्यवस्तुको विक्रीवितरण हुने गरेको खबर पनि छ ।

समाचार अनुसार, तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ गुणस्तरहीन भेटिएको छ । यसरी बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको छ ।

‘माओवादी मजदुर’मा ऋणको पिरलो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माउ पार्टी एकतापछि भातृ संगठन एकताको कार्यदल बनाइसकेको छ । तर तत्कालीन माओवादीको मजदुर संगठनभित्र भने सरकारी कोषको ऋण पिरलो बनेको छ ।

युवा स्वरोजगार कोषमार्फत आठ वर्षअघि लिएको ऋण तिर्न नसक्दा तत्कालीन माओवादीको भाृतसंगठन नेपाल ट्रेड युनियन महासंघ आन्तरिक विवादमा फसेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

०६८ सालमा महासंघले मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका नाममा ५ करोड रुपैयाँ ऋण लिएको थियो ।

पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायत स्वरोजगारमूलक काम गर्ने उद्देश्यले उक्त सहकारीको नाममा मजदुर संगठनले युवा स्वरोजगार कोषबाट राजनीतिक पहुँचका आधारमा ऋण लिएको थियो ।

राजनीतिक पहुँचका आधारमा ठूलो रकम ऋण लिएको भन्दै त्यतिबेलै आलोचना खेपेको मजदुर संगठनले साँवा व्याज नै नतिर्दा अहिले समस्या आएको समाचारमा उल्लेख छ ।

चौरमा नगरपालिका

नगरपालिका भन्ने बित्तिकै हामी यसको कार्यालय सुविधासम्पन्न भवनमा छ भन्ने धारणा बनाउँछौं । तर यस्तो धारणा अब बदल्नु पर्ने भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका कार्यालय यतिबेला चौरबाट सञ्चालित छ ।

नगरपालिका कार्यालय शुरुमा भाडाको घरमा सञ्चालित थियो । कर्जन्ना नगरपालिकाविरुद्ध स्थानीय बागबहादुर दुनुवार र ओमप्रकाश महतो अदालत पुगे । उच्च अदालत राजविराजले राजपत्रमा उल्लेखित केन्द्रबाहेक अन्यत्र कहीँ कतै कामकाज नगराउन आदेश दिएपछि अहिले नगरपालिकाको कामकाज खुलाचौरमा भइरहेको अन्नपूर्णमा समाचार छ ।

तीन महिनासम्म पन्छी पाल्न नगरपालिकाको रोक

ललितपुरको गोदावरी नगरपालिका गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ ।

गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा वर्डफ्लूको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो ।

राजधानी दैनिक लेख्छ– स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म तीन महिनालाई कुखुरालगायत अन्य पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो । स्थानीय प्रशासनले ती ठाउँलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट

सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिलामाथि कुटपिट भएको खबरलाई आज नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचार अनुसार भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९, ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।

लाखौं पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाव दिलमायाले अस्वीकार गरेपछि रेखागुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिट गरेको समाचारमा उल्लेख छ ।

हेर्नुहोस्, आजका पत्रपत्रिका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment