Comments Add Comment

प्रदेश २ मा २९ अर्ब ७८ करोडको बजेट, प्रत्येक निर्वाचन क्षेत्रमा ७५ लाख (पूर्णपाठ)

१ असार, जनकपुरधाम । प्रदेश २ ले सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको बजेटमा पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र चालु तर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा १० अर्ब ४८ करोड, ९७ लाख ३८ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानवापत ७ अर्ब ७१ करोड ६१ लाख र सशर्त अनुदानबाट ९ अर्ब १८ करोड ११ लाख र विशेष अनुदानबाट १ अर्ब उल्लेख गरिएको छ । यसरी अपुग भएको १ अर्ब आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख गरिएको छ ।

प्रदेश २ सरकारले एउटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ७५ लाख रुपैयाँ पर्ने गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५८ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा प्रदेशसभा सांसदले सिधै खर्च गर्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँका दरले २६ करोड ७५ लाख विनियोजन गरिएको छ । त्यस्तै प्रदेशसभाको निर्वाचित सदस्यको संयोजकत्वमा त्यस क्षेत्रका अन्य सांसद र स्थानीय तहका प्रमुखसमेतको समन्वयमा योजना छनोट गरी खर्च गर्न प्रति निर्वाचन क्षेत्र ५० लाखको दरले ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश २ सरकारले गाउँपालिकालाई ५० लाख, नगरपालिकालाई १ करोड, उपमहानगरपालिकालाई २ करोड र महानगरपालिकालाई ३ करोड रुपैयाँ सशर्त अनुदान दिन १ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश २ का तीन ठूला अस्पताल सगरमाथा अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल र जनकपुर अञ्चल अस्पताललाई सुविधासम्पन्न बनाउन ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । सप्तरीको रुपनी प्रहरी अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

औलो रोगबाट बच्न झुल वितरण गर्नका लागि ५ करोड छुट्याइएको छ । ८ वटै जिल्लामा दलित छात्रवास निर्माणका लागि ८ करोड छुट्याइएको छ । प्रदेशका ८ जिल्लामा नै कोल्ड स्टोर (शीत भण्डार) निर्माणका लागि १६ करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारले किसानलाई विभिन्न अनुदान दिनका लागि १ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । किसानलाई मेसिनरी औजार, कृषि सामग्री, उन्नत विउविजन, गौशालाहरुको निर्माण, चुरे क्षेत्रको किसानका लागि इनार निर्माणका लागि उक्त रकम खर्च गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले सडक निर्माणमा १ अर्ब २६ करोड, ‘हर खेतमे पानी हर हाथमे काम’ योजनाका लागि ५२ करोड, मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी पढाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै मुख्यमन्त्री राहत र पुनःस्थापन कोषमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

निशुल्क दलित शिक्षा र छात्राबास निर्माणको लागि ८ जिल्लामा ८ करोड, ‘खेलेगा मधेस, खिलेगा मधेस’ नारा दिइ युवा खेलकुद विकासमा ९ करोड ७४ लाख र युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment