Comments Add Comment

आप्रवासी बच्चालाई परिवारबाट अलग्याउने ‘ट्रम्प नीति’को मेलानियाले गरिन् विरोध

लाउरा बुस (बायाँ) र मेलानिया ट्रम्प

४ असार, काठमाडौं । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले विवादास्पद अध्यागमन नीतिबारे आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन् । उनले अवैधरुपमा अमेरिका प्रवेश गरेका परिवारलाई आफ्नो बच्चाबाट अलग गराउने नीतिको विरोध गरिन् ।

‘मेलानिया साना बच्चाहरुको आफ्नो परिवारसँग विछोड भएको हेर्न चाहन्नन्, त्यसैले उनले यस अध्यागमन नीतिमा सुधार चाहेकी छिन्,’ उनकी प्रवक्ताले भनिन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै लागु गरेको ‘शून्य सहनशीलता’ अध्यागमन नीतिबारे विवाद बढ्दै जाँदा प्रथम महिलाको यस्तो प्रतिक्रिया आएको हो ।

त्यस्तै पूर्वप्रथम महिला लाउरा बुसले पनि अध्यागमन नीति अनैतिक भएको बताएकी छिन् ।

आप्रवासन नीतिमाथि ‘शून्य सहनशीलता’ नीति लागु भएसँगै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेमाथि कारवाही सुरु भएको छ । यसबीच ६ साताको अवधीमा मात्रै अमेरिकामा दुईहजार भन्दा धेरै पारिवारिक वियोग भएको छ ।

अवैधरुपमा अमेरिका प्रवेश गरेर आश्रय खोज्ने योजना बनाउने वयस्कहरुलाई हिरासतमा राखेर फौजदारी मुद्धा लगाइन्छ । उनीहरुसँग भएका बच्चालाई भने मुद्धा लगाउन नमिल्ने भएकाले आमाबुबाबाट अलग गरेर छुट्टै शिविरमा राखिएका छन् ।

अमेरिकी सरकारको यस नीतिको मानव अधिकारवादी समूहहरुले आलोचना गरेका छन् ।

मेलानियाले बच्चाहरुलाई आफ्नो बुबाआमाबाट अलग गरेको देख्न नसक्ने बताउँदै रिपब्लिकन र डेमोक्रयाट दुवै पक्ष मिलेर यस समस्याको समाधान गर्न अध्यागमन नीतिमा सुधार गर्नुपर्ने सुझाव दिएकी छिन् ।

विज्ञप्तिमा उनले भनेकी छन्, ‘अमेरिका त्यस्तो देश हुनुपर्छ, जसले सबै कानूनहरु पालना गर्छ र शासन गर्दा कहिलेकाहीँ भावनात्मक कुरालाई पनि ध्यान दिन्छ ।’

त्यस्तै पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसकी पत्नी लाउरा बुसले नीतिको सार्वजनिक रुपमा विरोध गरेकी छन् । उनले वासिङ्टन पोस्टमा लेखेकी छन्, ‘शुन्य सहनशीलता नीति क्रुर छ । यो अनैतिक छ र यसले मेरो चित्त दुखाएको छ ।’

‘हाम्रो सरकार बच्चाहरुलाई गोदामजस्तो शिविरमा कोचेर राख्ने वा उनीहरुलाई मरुभूमीमा पालको शहरमा राख्ने योजनामा लाग्नुहुँदैन,’ उनले लेखेकी छिन्, ‘यी तस्वीरहरुले जापान-अमेरिका युद्ध ताकाको नजरबन्द शिविरको झल्को दिएको छ ।’

यस्ता छन् ‘सुपर डिटेन्सन सेन्टर’

सुरक्षा पोस्टहरु, माथि राखिएका ठूला झ्याल र विभिन्न सन्देश लेखिएका छेकबारहरु नहुने हो भने यो आइतबारको दिन वालमार्ट सुपरमार्केट जस्तो देखिन्छ ।

तर, यो ब्राउन्स भिल्ले टेक्सासस्थित कासा पाड्रे डिटेन्सन सेन्टर हो र यी मानिसहरु सपिङ गर्न आएका होइनन् । उनीहरु त ‘शून्य सहनशीलता’ अध्यागमन नीतिको प्रभावको बारेमा बुझ्न आएका अमेरिकी नीति निर्माताहरु हुन् ।

शिविरको निरीक्षण गरेपछि ओरेगनका डेमोक्रेटिक सिनेटर जेफ मर्कलले भने, ‘उनीहरुले यसलाई ‘शून्य सहनशीलता’ नाम दिएका छन् तर, यसको उपयुक्त नाम शुन्य मानवतावाद हुनुपर्ने थियो ।’

‘हामीले एउटा ठूलो गोदाम देख्यौं र यो पहिले वालमार्टको सुपर स्टोर थियो र अहिले सुपर डिटेन्सन सेन्टर भएको छ । जहाँ १५ सय जति बच्चाहरु राखिएका छन्’ उनले भने ।

‘शिविरको पर्खालहरु अग्ला छन्, भित्र लामा कोरिडोरहरु छन् जसमा धेरै बेडरुमहरु छन् र त्यहाँ केही साझा ठाँउ पनि छ’ उनले भने ।

दोष कसको ?

राष्ट्रपति ट्रम्पले डेमोक्र्याटहरुले बनाएको एक कानून नयाँ नीतिको लागि जिम्मेवार रहेको बताएका छन् । तर, उनले कुन कानूनको कुरा गरेका हुन् भन्ने बारेमा प्रष्ट भएको छैन् ।

शनिबार गरेको एक टि्वटमा उनले डेमोक्रयाटहरुलाई रिपब्लिनसँग नयाँ कानून बनाउन रिपब्लिकनहरुलाई सहयोग गर्न आग्रह पनि गरे ।
तर, आलोचकहरुले बच्चाहरुलाई आफ्नो बुबाआमाबाट छुट्याउने नीति अमेरिकी महान्यायाधिवक्ता जेफसेसन्सले अघिल्लो महिना घोषणा गरेको र त्यसलाई रोक्न सदनको कुनै कारबाही आवश्यक नपर्ने बताएका छन् ।

विश्लेषकहरुका अनुसार नीतिको सबैभन्दा महत्वपूर्ण परिवर्तन अवैध रुपमा सीमा पार गर्न खोज्ने आमाबुबाहरुलाई फोजदारी मुद्दा लगाउने न्याय विभागको निर्णय हो । बच्चाहरुलाई मुद्धा नलगाइने भएकाले उनीहरुलाई संगै हिरासतमा राखिँदैन ।

अमेरिकी सीमा अधिकारीहरुका अनुसार ‘शून्य सहनशीलता’ नीति कार्यान्वयनमा आएको दुई सातामै ६ सय ५८ बच्चाहरुलाई आमाबुबाबाट छुट्याइएको छ ।

धेरैजसो केसहरुमा आमाबुबा हिरासतबाट रिहा भएपछि उनीहरुको पुनर्मिलन भएको छ । तर केहि रिपोर्टहरुका अनुसार बच्चाहरुलाई केही हप्ता वा महिनासम्म पनि आमाबुबाबाट अलग राखिएको छ ।

यस नयाँ कडा नीतिले आप्रवासीहरुलाई अवैध रुपमा अमेरिका आउनबाट कत्तिको रोक्छ भन्ने चाहिँ प्रष्ट भएको छैन ।

हिंसा र गरिबीको कारण होन्डुरस, एल साल्भाडोर लगायतका धेरै देशहरुबाट भागेर अवैध रुपमा अमेरिका प्रवेश गरी शरण लिन खोज्ने आप्रवासीहरुको सङ्ख्या अझै पनि उच्च रहेको छ ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment