Comments Add Comment

हृयारी केन : अस्वीकारले बनेका एक फुटबलर

को सही, को गलत देखिने छ !

बाल्यकालमा त असफलता पनि रमाइलो कुरा भइदिन्छ । म त्यो दिन अहिले पनि सम्झिन्छु । चीङफोर्डमा हाम्रो घरको ठीक पछाडि पार्क थियो, म बुवा र दाइसँग बारम्बार फुटबल खेल्नका लागि त्यहाँ जान्थेँ ।

त्यहाँ व्यवस्थित मैदान त थिएन । तर घाँसे मैदानलाई फुटबल मैदान र गोलपोस्टको रुपमा दुई रूख थिए । त्यसमा हामी खुसी थियौं ।

म आर्सनलको युथ टिमबाट खेल्दै थिएँ त्यसबेला । प्रतिस्पर्धामा रहेकाको तुलनामा म अलि पछि थिएँ । तर पनि त्यो ठूलो अवसर थियो । म आठ वर्षको थिएँ । एक दिन म बुवासँगै पार्क जाँदै थिएँ । बुवाले भन्नुभो, ‘मैले तिमीलाई केही भन्नु छ ।’

मैले भने, ‘हजुर, के भन्नु छ र ?’

मलाई राम्रोसँग सम्झना छ । त्यसपछि उहाँले हातले मेरो कुम मुसार्दै भन्नुभयो, ‘अँ, हृयारी… आर्सनलले तिमीलाई निकाल्यो ।’

त्यसबेला ठ्याक्कै मैले के महशुस गरेको थिएँ, सम्झना छैन । साचो भन्नुपर्दा, मलाई त्यसको अर्थ नै थाहा थिएन वा बुझिन । त्यो बुझ्न म निकै सानो थिएँ । तर बुवाको प्रतिक्रिया के थियो, त्यो सम्झना छ । त्यसले मलाई पनि बुझ्ने बनायो ।

उहाँले मेरो आलोचना गर्नुभएन । आर्सनलको पनि आलोचना गर्नुभएन । उहाँलाई यसले खास असर गरे जस्तो पनि देखिँदैनथ्यो । उहाँले यति मात्रै भन्नुभो, ‘पिर नगर । हामीले कडा मेहनत गर्ने छौँ । र अघि बढ्ने छौं । अर्को क्लब भेट्ने छौं ।’

अहिले पछि फर्केर हेर्दा, म त्यसबेला निराश हुनुपथ्र्यो जस्तो लाग्छ । धेरै यस्ता बुवाहरू जो आफ्नो छोरा व्यवसायिक फुटबलर बनोस् भन्ने चाहन्छन् उनीहरूले त्यस्तो अवस्थामा फरक तरिकाले व्यवहार गर्ने थिए । तर मेरो बुवा, चाहे जेसुकै होस् उहाँले कहिल्यै ममाथि दबाब दिनुभएन । उहाँ जहिले सकारात्मक । उहाँले जहिले भन्ने कुरा, ‘ठीक छ, हामी अघि बढौं यहीसँगै ।’

हामीले त्यही गर्‍यौं । आर्सनलपछि केही समय म त्यसै बसेँ । त्यसपछि स्थानीय क्लबमै फर्किएँ । त्यहिक्रममा वाट्फोर्डको स्काउटबाट मलाई ट्रायलको प्रस्ताव आयो ।

टोटनहृयामको युथ एकेडेमीमा जोडिनुमा निकै रमाइलो घटना छ ।

मैले वाटफोर्डबाट टोटनहृयामविरुद्ध खेलेपछि टोटनहृयामको युथ एकेडेमीमा जोडिने मौका पाएको हुँ । टोटनहृयामले मलाई साथ दियो । यो रमाइलो र अचम्म लाग्न सक्छ, त्यसबेला मात्रै ८ वर्षको थिएँ । तर हरेकपटक उनीहरूका लागि खेल्दा म सोच्ने गर्थें, ‘को सही र को गलत छ देखिने छ ।’

अहिले पछि फर्केर हेर्दा, त्यो मेरो जीवनमा घटेको सायदै सबैभन्दा उत्कृष्ट कुरो थियो । किनकी त्यसले मलाई त्यो गति दियो जुन त्यसअघि कहिले थिएन । अहिले मैले प्रिमियर लिगमा एक सय गोलको आँकडा पूरा गरेको छु र मलाई साँच्चिकै खुसी लागेको छ ।

जब मलाई टोटनहृयामले दुई वर्षका लागि लोनमा पठाएको थियो, त्यसबेला मैले जिन्दगीमा प्रिमियर लिगमा एक गोल मात्रै पनि गर्न पाउँछु कि पाउँदिन जस्तो लाग्थ्यो । तर मैले त्यो समयमा धेरै कुरा सिकेँ ।

सन् २०१२ मा मिलवाल जाँदाको सम्झना अझै ताजा छ, हामी रेलिगेसनको खतरामा थियौं । समर्थकले एउटा खराब निर्णय गरे । मैदानमा विभिन्न बस्तु फ्याँक्न थाले । पदाधिकारीले पाँच मिनेटका लागि खेल रोक्नु पर्‍यो । म १८ वर्षको थिएँ । चारैतिर हेरेँ । ओहो । यस्तो … ‘मेरो मतलब यो कस्तो पागलपन ।’

सिजन अघि बढ्दै गर्दा पनि हामी रेलिगेसनको खतरामा थियौं । ड्रेसिङ रुममा केही साथी खेलाडी भन्थे, ‘साथी, हामी तल गयौं भने मेरो पारिश्रमिक आधाले काटिने छ ।’ वा ‘यदि हामी तल गयौं भने म सम्झौताविहीन हुनेछु’ यो कुराले मलाई समात्यो ।

मैले खेललाई निकै फरक तरिकाले हेर्न थालेँ त्यहाँदेखि । साँच्चिकै कसैले खेलका लागि मात्रै खेलेका छैनन् । यो उनीहरूको परिवारको जीविकाका लागि थियो । यसले समर्पित हुन सिकायो । यस्तो त फुटबलमा हुन्छ । सबै कुरा सधैं कहाँ बच्चा जस्तै हुन्छ र ?

यो मेरा लागि सिकाइको मन्त्र नै बन्यो । मलाई लाग्दैन कि यो यसको संयोग बन्यो, मैले त्यहाँ निकै राम्रो प्रदर्शन गरेँ । महत्वपूर्ण कुरा हामी रेलिगेशनमा परेनौँ । यसले मलाई मिलवालका समर्थकसँग जहिले उत्कृष्ट सम्बन्ध दियो । मलाई उनीहरूको माया लाग्छ …उनीहरूमा फुटबलप्रतिको पागलपन देखिँदा पनि ।

मैले टोटनहृयामका लागि राम्रै गरिरहेको थिएँ । तर उनीहरूले मलाई लोनमा पठाए । त्यो कठीन समयको सुरूवात थियो । सबैभन्दा कमजोर महशुस भएको भनेको लेस्टर सिटीमा हुँदा हो । मैले आफूलाई टिममा पाउँदै पाइन । उनीहरू त्यसबेला च्याम्पियनसिपमै थिए । त्यसबेला मैले आˆनो ˆल्याटमा बसेर सोच्ने गर्थें, यदि म च्याम्पियनसिपमा लेस्टरबाट पनि खेल्न पाउँदिन भने कसरी पि्रमियर लिग क्लब टोटनहृयाममा स्थान बनाउँला ।

त्यो मेरो खेल जीवनमा पहिलो समय थियो कि मैले आफूलाई बाहिरिँदै गरेको महसुस गरेँ । द्विविधा निकै कठिन चिज हो । त्यो राति परिवार भेला भयौँ र कडा निर्णय लियौँ । मैले मेरो बुवालाई ‘म छोड्न चाहन्छु’ भनेँ, त्यसबेला म निकै कमजोर जस्तो भएको थिएँ । मलाई आफैमाथि गम्भीर दुविधा थियो । बुवाले भन्नुभयो, ‘हेर, मेहनत गर्दै गर । गर्दै जाऊ । यसमै घुल । अनि सबै कुरा ठीक हुनेछ ।’

त्यसको केही हप्तापछि, त्यसबेला पनि म फ्ल्याट मै थिएँ । त्यसबेला म एनएफएल जान साँच्चिकै तयार थिएँ । यदि अभ्यासमा नभएको भए, कि म्याडेन खेलिरहेको हुने थिएँ कि त न्यु इंग्ल्याण्ड प्याटि्रओट्सको भिडियो युट्युबमा हेरिरहेको हुने थिएँ ।

एक दिन टम ब्राडीमाथि बनेको डकुमेन्ट्री हेरिरहेको थिएँ । यो एनएफएलमा उनी पूर्वका ६ क्वाटर ब्याकका र उनको ड्राˆटका बारेमा थियो । टम ब्राडीले ड्राफ्ट क्लासमा १ सय ९९ औँ स्थान ल्याए ।

कल्पना गर्नुस् । यसले मेरो दिमाग हल्लायो, सकारात्मक तरिकाले । यो डकुमेन्ट्रीले मलाई निकै प्रभाव पार्‍यो । सबैले टममाथि शंका गर्न थाले । प्रशिक्षक जहिले पनि उनलाई रिप्लेस गर्ने ध्यानमा हुन्थे । डकुमेन्ट्रीमा एनएफएल ड्राˆट अघि स्काउटले उनको तौल लिँदै गरेको तस्बिर पनि देखाइएको छ । त्यसमा उनी सामान्य अरू जस्तै देखिएका छन् । यस्तै एक प्रशिक्षकले उनको खिल्ली उडाएको पनि देखियो ।

उनले मलाई आफ्नै सम्झना दिलाए । मानिसहरूले जहिले मेरा बारेमा यस्तै धारणा बनाएका थिए । ‘अँ, तिमीलाई थाहा छ, उ स्ट्राइकर जस्तो नै देखिँदैन ।’ यसले साँच्चिकै मलाई उत्प्रेरणा दियो । ब्राडी आफूमाथि निकै विश्वास गर्थे । उनले मेहनत गर्न छोडेनन् । त्यसले उनलाई उत्कृष्ट बनायो । यसले मलाई आफूसँग जोड्यो । लेस्टरमा सोफामा बस्दा यसले निकै प्रभाव पार्‍यो मलाई ।

त्यसपछि मैले एक्कासी निर्णय गरेँ, ‘म मेहनत गर्ने छु’ । सम्भव भएसम्मको मेहनत गर्छु, आउँदो अवसरलाई जसरी पनि समात्छु भन्ने सोचेँ । केही खेलपछि हामी मिलवालसँग खेल्दै थियाँै, मेरो पुरानो टिम । त्यो खेलका बेला उनी मेरो पछाडि थिए । उनले हरेक पटक मलाई साथ दिए ।

अर्को सिजन म टोटनहृयाम फर्किएँ । प्रशिक्षक, आद्रे विलास बोसलाई भेटेँ । उनी मलाई फेरि लोनमा पठाउन चाहन्थे । केही राम्रा क्लब पनि इच्छुक थिए । तर त्यो मेरो सपना थिएन । मेरो सपना पि्रमियर लिग खेल्नु होइन । पि्रमियर लिग टोटनहृयामबाट खेल्नु थियो ।

मैले आफ्नो कुरा उनीसँग राम्रोसँग भने, ‘म जान चाहन्न ।’ तर मैले यो शब्द अहिले जसरी होइन निकै फरक तरिकाले भनेको थिएँ ।

उनले मलाई हेरे मात्रै, केही दुविधाको हेराइ थियो त्यो । यसलाई वास्ता नै नगरी मैले भनेँ, ‘म यो टिमसँगै हुनेछु, मैले प्रमाणित गर्ने छु । हरेक शुक्रबार तपाईं मलाई बेन्चमा राख्न सक्नुहुन्छ । तर म यो टिम छोडेर जान चाहन्न ।’

त्यसपछि उनले मलाई क्लबमै रहन दिए । मैले फर्स्ट टिमसँग ट्रेनिङ गरेँ । यो मेरो निर्णयको टर्निङप्वाइन्ट बन्यो । मलाई जहिले आफूमा क्षमता छ जस्तो लाग्थ्यो । तर आˆनै लागि उभिने क्षमताको खाँचो थियो । यसपटक मैले त्यसलाई गुमाइन ।

यो मेरो बाल्यकालको सपना नजिकबाट देख्ने माध्यम बन्यो । त्यो मेरो सामुन्ने थियो । तर पहुँच बाहिर । म त्यो कसैले मेरो हातमा राखिदियोस् भन्ने पर्खाइमा थिएँ । तर जीवनमा कुनै पनि चिज कसैले दिँदैन । आफै लिनु पर्ने रहेछ ।

अभ्यासमा मैले निकै राम्रो गरिरहेको थिएँ । तर खेलमा स्थान अझै बनाउन सकेको थिइनँ । तर प्रशिक्षक विन्टरमा गए । टिमको जिम्मेवारी टिम शेरवुडले सम्हाले । उनले मलाई मेरो अवसर दिए ।

मानिसले भन्ने गरेको जस्तै मैले इतिहास बनाएँ, सुरूका तीन खेलमा तीन गोल गरेँ । त्यो साँच्चिकै उत्कृष्ट अनुभव थियो । विशेष गरी हृवाइट हार्ट लेनमा गोल गर्नु । मैले पार गरेको समयका कारणले पहिलो गोलले मलाई म को हुँ भन्ने देखायो ।

अर्को सिजन माउरिसियो पोकेटिनो आए । त्यसपछि सबै परिवर्तन भयो । मेरा लागि मात्रै होइन क्लबका लागि पनि । मेरो करिअरमा पोकेटिनोको जस्तो प्रभाव अरू कसैको छैन । किनकी उनले क्लबमा प्रशिक्षकीय सिद्धान्तको राम्रो उदाहरण मात्रै ल्याएनन् हामी सबैलाई निकै नजिक पनि ल्याए ।

हामी सबै एक भयौँ । उनको आफ्नै राम्रो करिअर थियो । तर उनले यसबारेमा कहिले कुरा गरेनन् । प्रशिक्षिकका रुपमा उनी जहिले पनि खेलाडीलाई सहयोग गर्न लागिरहे । चाहे त्यो उत्कृष्ट खेलाडी होस् वा कमजोर ।

तर उनलाई मेहनत भने चाहिन्छ । मेहनत नगर्नेलाई उनी केही दिँदैनन् । तर मेहनत गरेमा उनी आफ्नो सबै समय दिन तयार हुन्छन् । फुटबल जीवनमा मेरो मनमोहक अनुभव त्यो बेला आयो जब मैले केही सिजनअघि हृयाट्रिक गरेँ ।

पोकेटिनोले खेलपछि मलाई आफ्नो अफिसमा बोलाए । हामी त्यो बेला नजिक थियौँ । तर धेरै नजिक थिएनौँ । उनी के चाहन्छन् मलाई थाहा थिएन ।

बिस्तारै ढोका खोलेँ । उनी आफ्नो डेस्कमा रेड वाइनको ग्लाससहित बसेका थिए । अनुहारमा फराकिलो मुस्कान थियो ।

उनले हात उठाए अनि भने, ‘आउ, एउटा फोटो खिचौं ।’

उनी मेरो नजिक आए । हामीले फोटो खिच्यौं । त्यो समय निकै उत्कृष्ट थियो । त्यो बेला मलाई पहिलोपटक लाग्यो, आह । यो मान्छे साँच्चै विशेष छ ।

उनी उत्कृष्ट मानिस हुन् । उनलाई म प्रशिक्षक र बोस दुवै रुपमा सम्मान गर्छु । फुटबलभन्दा बाहिर उनी मेरा साथी हुन् । उनी हाम्रो टिम बलियो र नजिक हुनुको कारण हुन् । मलाई लाग्छ अहिले यो कुरा फुटबलमा छुट्दै गएको छ । तर उनले यसलाई बचाएका मात्रै छैनन् बलियो बनाएका छन् ।

मेरा लागि ‘अस्वीकार’ जीवनमा घटेको सबैभन्दा राम्रो कुरा बन्यो । सन् २०१५ मा नर्थ लण्डन डर्बी (आर्सनलसँगको खेल) का लागि जब मैले जुत्ताको तुना बान्दै थिएँ, मैले पुराना दिन सुम्झिएँ ।

म ११ वर्षको हु्ँदा आर्सनलको युवा टिमविरुद्ध खेलिरहेको थिएँ । मैले त्यो खेलमा गोल गरेको कुरा हरेक खेलअघि सम्झिन्छु । त्यसले मलाई उर्जा दिन्छ । आर्सनलबाट निकालिएको म अहिले आर्सनलविरुद्ध नै खेल्दै थिएँ । मैले आर्सनलका डिफेन्डरले लगाएको जुत्ता हेरेँ । मैदानभित्र पस्नुअघि मैले खेलमा को सही र को गलत देखाउने सोचेको थिएँ ।

मैले दुई गोल गरेँ । त्यसमा ८६ औं मिनेटमा गरेको विजयी गोल मेरै थियो । त्यो हेडरमार्फत गरेको गोल थियो । सायद मैले हेडमार्फत गरेको उत्कृष्ट गोल हुनुपर्छ ।

जहिले खुट्टाले गोल गरेको कल्पना गर्ने र त्यसै गर्ने गरेको मैले त्यो खेलमा कल्पना बाहिरको तरिकाले गोल गरेँ । जब बलले जाली चुम्यो यसरी दौडिएँ सायद खेल जीवनमा त्यसरी कहिल्यै दौडेको छैन । खेलपछि मैदानमा हिँडेको, समर्थकतर्फ फर्केर ताली बजाएको अझै सम्झना छ । मलाई त्यो बेला लागेको थियो, देख्यौ मैले भनेकै थिएँ नि ।

यो आर्सनलसँग मात्रै सम्बन्धित थिएन । त्योभन्दा गहिरो थियो । यो मलाई नै केही प्रमाणित गर्ने माध्यम थियो । मेरो परिवारका लागि दिएको खुसी, जसले मलाई जहिल्यै विश्वास गरे । चाहे त्यो आर्सनलले अस्वीकार गर्दा होस् वा म आफैले विश्वास गुमाउँदा किन नहोस् । वा मिलवाल, नर्विच वा लेस्टरमा हुँदा होस् ।

(हृयारी केन अहिले विश्वकपमा इंग्ल्याण्ड टिमको कप्तानी गरिरहेका छन् । उनले फुटबलमा आˆनो सुरुवाती दिन र सफलतालाई लिएर लेखेको यो लेख प्लेयर्स टि्रब्युनबाट अनुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment