१० असार काठमाडौं । इंग्ल्याण्डका एक फुटबल समर्थकलाई विश्वकपको समयमा यहुदी विरोधी गीत गाउँदै नाजी शैलीमा सलाम गरेको आरोपमा सबै खालको फुटबलबाट पाँच वर्षको लागि प्रतिबन्ध लगाइएको छ ।
डर्बीका ५७ वर्षका माइकल हर्बटलाई लेस्टर म्याजिस्ट्रेट कोर्टले पाँच वर्षको प्रतिबन्ध सुनाएको हो ।
इंग्ल्याडका फुटबल समर्थहरुबाट अनलाइनमा भाइरल भएको एक भिडियोमा उनले रुसको भोल्गोग्राड शहरको एक बारमा नाजी सलामी गरेको देखिएको थियो ।
उक्त भिडियो गत सोमबार इंग्ल्याण्डको ट्युनिसियासँगको खेलको दौरान खिचिएको बताइएको छ ।
भिडियो सार्वजनिक सञ्जालमा धेरै फैलिएको थियो । जसमा हर्बटसँगै अन्य दुई समर्थकहरुले हिटलरको नाजी सैनिकलेझैं सलामी गर्दै यहुदी विरोधी गीत गाएका दृष्य कैद भएको थियो ।
अन्य, दुई जना पनि लिड्स मेजिस्ट्रेट कोर्टमा उपस्थित भएका थिए । तर, उनीहरुको मुद्दाको सुनुवाई मंगलबारसम्मको लागि स्थगित गरिएको छ ।
तीनै जनालाई ‘फुटबल स्पेक्टेटर्स एक्ट १९८९’ को दफा २१ ‘बी’ अनुसार प्रहरीले मुद्दा दर्ता गरेको हो ।
त्यस्तै मस्कोको रेलमा भएको अर्को छुट्टै घटनामा संलग्न भएको आरोपमा २५ वर्षका पउल जोनसोनलाई पनि २१ ‘बी’ अनुसार नै तीन वर्षको प्रतिबन्ध सुनाइएको छ ।
इंग्ल्याण्डमा फुटबल समर्थकहरुले ‘फुटबल स्पेक्टेटर्स एक्ट १९८९’ को उंल्लघन गरेको पुष्टी भएमा तीनदेखि १० वर्ष सम्मको प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ ।
यस ऐन अनुसार हदैसम्मको कारबाहीमा ६ महिना कैद सजाय र पाँच हजार पाउण्ड जरिवाना वा दुवै पनि हुन सक्छ ।
प्रतिक्रिया 4